पेखरा/ देशका केही सहकारीहरु संकटमा परेका छन् । कतिपय सहकारीहरुले सदस्यको निक्षेप भुक्तानी गर्न सकेका छैनन् । केही सहकारीका कार्यालयमा ताला लागेको छ । ठूला भनिएका तथा राष्ट्रव्यापी सञ्जाल निर्माण गरेकामध्ये थप केही सहकारीहरु समस्यामा रहेका हल्लाहरु चलिरहेका छन् । सहकारीबाट ठगिएको उजुरीसहित पोखरा महानगपालिका घेराउसम्मका गतिविधि भइरहेका छन् ।
सहकार्यको भावना भुलेका संचालक तथा आफूलाई सहकारीको सदस्य हैन ‘ग्राहक’ ठानेका कारण यो अवस्था सिर्जना भएको सहकारी अभियन्ताहरुले नै स्वीकारेका छन् ।
६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरा महानगरपालिकाको सहकारी शाखाले आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागीहरुले सो निश्कर्ष निकालेका हुन् । ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशालामा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सहकारीमा छाडातन्त्र मौलाएको बताए । उनले अहिले सहकारीमा समस्या देखिनुमा खराब नियत राख्नेहरुले सहकारी संचालन गर्नु नै समस्याको जड भएको जिकिर पनि गरे ।
मेयर आचार्यबाट उद्घाटन गरिएको कार्यशालाले ११ बुँदे निश्कर्ष निकाल्ने क्रममा सहकारीमा तरलता अभाव भएको स्वीकारेको छ । तरलता अभावको समस्या हल गर्न ऋण असुलीलाई प्रभावकारी बनाउनुपर्ने र यसको लागि एकाघर परिवारमा भएको खराब कर्जा असुली गर्नुपर्ने निचोड निकालेको छ ।
सहकारीलाई उत्पादनसँग जोडेर एक सहकारी एक उत्पादन कार्यक्रमलाई सार्थक बनाउनुपर्ने,सञ्चालक र कर्मचारीको छुट्टाछुट्टै भूमिकाको पहिचान, मूल्याङ्कन र स्वमूल्याङ्कन गरी कमजोर पक्षलाई योजनावद्ध रुपमा सवल र सक्षम बनाउनुपर्ने तथा सहकारीको सघन अनुगमन हुनुपर्नेलाई जोड पनि दिएको छ ।
यसअघि कार्यशालाा सहकारी समितिका अध्यक्ष रविरमण तिवारी र नेफ्स्कूनका निवर्तमान सञ्चालक भिम गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए भने पोखरा महानगरपालिका सहकारी शाखाका शाखा प्रमुख तथा दर्ता अधिकारी भरतराज पौडेलको संचालन रहेको कार्यक्रममा सहकारी शाखा अधिकृत ऋषिराम शर्माको व्यवस्थापन र सदस्य नारायणप्रसद आचार्यको स्वागत रहेको थियो ।





