पोखरा/ नेकपा एमालेको दुई महिने मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत मुस्ताङमा शनिबार अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना हुन पुगेको छ । यतिसम्म कि एमाले मुस्ताङकै पदाधिकारीले ‘ओलीले अभिव्यक्ति नसच्याए ग्रासरुट कार्यक्रम नै बहिष्कार गर्ने चेतावनी’ दिएका छन ।
हिमालपारिको जिल्ला मुस्ताङमा शनिबारदेखि ग्रासरुट अभियान सुरु भएको छ । गण्डकीका मुख्यमन्त्री तथा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले कार्यक्रमको औपचारिक कार्यक्रमको उद्धाटन गरे । तर, त्यहीँको एमाले पंक्तिले भने नेतृत्वको अभिव्यक्तिलाई लिएर आलोचना गर्न पुग्यो ।
आफ्नै पार्टीका अध्यक्षको आलोचना गर्नुमा स्वयं केपी शर्मा ओली जिम्मेवार छन । मुस्ताङमा बौद्ध कलेज खोल्ने विषयलाई लिएर एमाले अध्यक्ष ओलीले समयसमयमा सरकारको कडा आलोचना गर्दै आएका थिए ।
“मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनमाथिको गद्दारी हो । ०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो । आफ्नै मुलुकको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो। स्वाधीनतालाई अस्वीकार गरेको हो । विश्वविद्यालय बनाउन खोज्या हो र त्यहाँ ? विश्वविद्यालयका नाममा अर्थाेकै गर्न खोजेको हो । विदेशीको खेल मैदान बनाउन खोजेको । त्यसको युरेनियम, त्यसमा ध्यान दिएको । त्यहाँबाट पहिले ०३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो । त्यही कुरा मार्फाको छेउबाट अब लिएर जाने– लोमान्थाङभन्दा माथि । जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय ! भनेको त्यो खास उदेश्यका ‘पेड’ मान्छेहरु, खास उद्धेश्यका मान्छेहरु मात्रै बस्छन् त्यहाँ । यो एउटा बहुतै खतरनाक कुरा हो । यस्ता अनेक कुराहरु छन्, यी हाम्रा कमन कुराहरु हुन । राष्ट्रिय हितका– पक्षका कुराहरु हामीले उठाउनुपर्छ र त्यसका सन्दर्भमा लड्नुपर्छ ।”
यो अभिव्यक्ति एमाले अध्यक्ष ओलीले मुस्ताङमा खोल्ने भनिएको बौद्ध कलेजको बारेमा दिएका हुन ।
उनको यही अभिव्यक्तिले मिसन ग्रासरुटमा उनको चर्को आलोचना भयो । ओलीकोे अभिव्यक्तिलाई यसअगाडि नै गण्डकीका पूर्व सांसद तथा एमालेबाट मुस्ताङ (क) मा प्रदेशसभाका उमेदवार इन्द्रधारा ढाडु विष्टले खण्डन गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका विष्टले भनेका थिए, “मेरो अनुरोध अध्यक्ष कमरेड लगायत सबैमा । यो हाम्रो मुस्ताङको आवश्यकता, इतिहासले सुझाएको, हामी सबैले चाहिएको र अहिलेको यो समय हामीले यो परियोजनालाई सफल बनाउन सके त्यो अनुसारको विद्वान व्यक्तित्वहरु समेत हाम्रै क्ष्ोत्रकै व्यक्तित्वहरु तयार रहेको हुँदा सके सहयोग, नसके आँच नपु¥याउन र यो विषयलाई राजनीतिक नबनाउन सबैमा अनुरोध गर्दछु ।”
अध्यक्षलाई नै ध्यानाकर्षण गराउँदै उनले थप लेखेका छन, “साथै अध्यक्ष कमरेड, तपाइको राष्ट्रियता भावनलाई सलाम गर्दै अस्ति तपाइको अभिव्यक्तिले हामीलाई असहज महसुस भइरहेको हुँदा विशेषगरि हाम्रो गौरवशाली पार्टी नेकपा एमाले मुस्ताङको भविष्यमाथि समेत चुनौती थप्ने र प्रश्न उठ्ने भएको हुँदा यसबारे तपाइको ध्यानाकर्षण गर्नए बाध्य भएको छु ।”
विष्टकै शैलीमा शनिबार लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पनि पार्टी अध्यक्षले अभिव्यक्ति नसच्याए ग्रासरुट कार्यक्रम नै बहिष्कार गर्ने चेतावनी दिएका हुन । लोप्साङ एमाले गण्डकीका सदस्य पनि हुन ।
केपी शर्मा ओलीले पनि, हिउँले मान्छे नै बस्न सक्दैनन, मान्छे नै नबस्ने ठाउँमा किन विश्वविद्यालय कलेज चाहियो, यसमा तर्क चाहिन्छ भनेर बोल्नुभयो ।
“म के तर्क दिन्छु भने, युनिभर्सिटी कलेज भनेको काठमाण्डौ पोखरा, जहाँ मान्छेको भीड छ त्यहीँमात्र खोल्नुपर्छ भन्ने छैन नि त । अमेरिकामा बस्ती पनि नभएको ठाउँमा सहरभन्दा धेरै टाढा युनिभर्सिटीहरु छन, त्यहाँ संसारका विद्यार्थीहरु पढ्छन । त्यो मोडालिटीमा पनि त हामी जान सक्छौँ नि त ।” उनले भने ।
संक्षिप्तमा उनको भनाई :
हाम्रो पार्टीका अध्यक्षले त्यस्तै हाउभाउमा बोल्नुभएको थियो । सामाजिक सञ्जालमा ठुलो तरंग नै आयो । मुस्ताङ भनेको बुद्धिस्ट बस्ने ठाउँ हो । त्यहाँ गुम्बाहरु छ, विद्यार्थी पनि छन । माध्यमिक तहको शिक्षा त्यहीँ हासिल गर्छन । थप शिक्षाको लागि भारत र काठमाण्डौ जानुपर्ने अवस्था छ । हामीले यहाँ दुख गरेर विद्यार्थीलाई पढाउने, अनि उनीहरुले उच्च शिक्षाको लागि भारत, काठमाण्डौ र पोखरा जाँदाखेरि त्यो ठाउँको भविष्य हुने भयो । थोरै विद्यार्थी मात्र फर्किन्छन । धेरैजसो उतै पलायन हुन्छन, उतै काम गर्छन ।
हाम्रो सोच कस्तो हो भने, हाम्रो उत्पादन हाम्रै ठाउँमा प्रयोग गरौँ भन्ने हो । शिक्षित मान्छेहरु यही ठाउँमा किन प्रयोग नगर्ने ? यहाँ कलेज खोलेर यही ठाउँमा पढाउन सक्यो भने त उनीहरु मुस्ताङकै भविष्यका लागि काम गर्छन नि ।
अहिले विश्वव्यापी रुपमा बुद्धिष्टहरुलाई मानिसहरुले धेरै विश्वास गर्छन । यो उहाँले (केपी शर्मा ओली) भनेझैँ निषेधित क्षेत्रमा पर्दैन । जोमसोम देखि सबैभन्दा नजिकको ठाउँ हो, यो । यहाँ कलेज खोल्न लागिएको हो, विश्वविद्यालय होइन ।
यहाँ शरणार्थीका बच्चाहरु पढाइन्छ भनिएको छ, त्यहाँ पढ्दैनन । शरणार्थी क्याम्प एउटा मात्रै छ । क्याम्पमा बुढाबुढी मात्रै छन, योङहरु छैनन, पलायन भइसके । बालबच्चाहरु भारत र देहरादुनमा पढ्छन ।
यहाँ पढ्ने भनेको विशुद्ध मुस्ताङहरुीमात्रै हो । वारागुङ र उपल्लो क्षेत्रमा गरेर १०÷१२ वटा गुम्बाहरु छ । यी गुम्बामा १००÷१२० जना विद्यार्थीहरु छन । माध्यमिक शिक्षा लिएपछि उनीहरु पछि कि त भारत, कि त काठमाण्डौ जानुपर्छ । त्यसकै लागि भनेर कलेज खोल्ने भनिएको हो ।
यहाँ एउटा बौद्ध कलेज बनाउँदा यहीँकै मान्छेले रोजगार पाउन सक्छ, हाम्रा विद्यार्थी पनि बाहिर जानुपर्दैन । आफ्नै ठाउँमा पढ्ने, बस्ने वातवरण बन्न सक्छ । अहिले बाहिर पढ्न जाँदा गाउँ नै बिर्सिने स्थिती आएको छ ।
सच्चिएन भनेर ग्रासरुटमा गएर काम छैन । ग्रासरुटमा जाने भनेको जनताको समिक्षा लिएर जाने हो, जनताको चाहना, मनमा लागेको कुरा बुझ्ने हो, हामीले बुझाउने हो ।
अब आम जनतामा बुद्धिष्ट धर्ममाथि आक्रमण हो कि, सुनियोजित तरिकाले मुस्ताङमा विकास गर्न नदिने मनसाय हो कि भन्ने प्रश्न पनि आउँछन नि त ।
पार्टीबाट राम्रो सुझाव आएन भने यो कार्यक्रममा म बस्दिन भनेर भनेको हुँ । ढोरपाटनसंगको फोनसम्पर्कमा उनले केपी शर्मा ओलीले आफ्नो अभिव्यक्ति अनविज्ञताका कारण दिएको प्रष्टिकरण दिएका छन ।
कार्यक्रममा नै अध्यक्षको चर्को आलोचना भएपछि मुख्यमन्त्री अधिकारीले केपी शर्मा ओलीसँग फोन संवाद गरेका थिए । अध्यक्ष ओलीसँग मुख्यमन्त्री अधिकारीले गरेको संवाद लाउड स्पिकर लगाएर सबैले सुनेका थिए ।
“यो विषयमा म अनविज्ञ थिएँ, स्थानीय र गाउँपालिका मिलेर कार्यक्रम अगाडि बढाइएको हो भनेदेखि म पनि त्यही अनुसारको लबिङ गर्छु ।” केपी शर्मा ओलीको भनाई उद्धृत गर्दै विष्टले भने ।
शनिबार नै मुख्यमन्त्री अधिकारीलाई कलेज खोल्ने भनिएको ठाउँमा स्थानीय नेताहरुले लगेका छन । “जुन ठाउँमा कलेज बनाउने हो, त्यो ठाउँ जोमसोमदेखि कति टाढा रहेछ भन्ने देखाउन मुख्यमन्त्रीलाई पनि त्यहाँ लगिएको थियो । लालपूर्जा नभएको जग्गा पनि होइन ।” उनले भने ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकमा रहेको विश्व विद्यालयका लागि छुट्याइएको जग्गाको मुख्यमन्त्रीसहितको टोलीले त्यहाँ पुगेर अवलोकन गरेको हो ।
बौद्ध कलेज स्थापना गर्ने भनिएको जग्गा करिब ७ घरधुरीको निजी जग्गा हो । उनीहरुले कलेज खोल्न मुस्ताङ शाक्या बौद्ध संघलाई दान दिएका थिए ।





