मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

तनहुँ-१ मा नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा

तनहुँ-१ मा नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७९, सोमबार

तनहुँ / रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको तनहुँ-१ मा लामो समयपछि नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने भएको छ  । सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रकालागि उनीहरू तीनै जना नयाँ अनुहार हुन् ।

कांग्रेसले विद्यार्थी र तरुण संगठनमा लामो समय काम गरेका नेता भट्टराईलाई अघि सार्दा एमालेले पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उभ्याएको छ । तर, यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएपछि जिल्लामा बलियो सांगठनिक जग बनाएका कांग्रेस र एमालेलाई अर्थशास्त्री वाग्ले चुनौती बनेका छन् । कांग्रेसमा आवद्ध रहेका वाग्लेले कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवारी दिएपछि तनहुँ-१ को उपनिर्वाचन थप रोचक बनेको हो ।

कांग्रेसबाट ०४८ सालपछि निरन्तर चुनाव लड्दै आएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि कांग्रेसले यसपटक भट्टराईलाई अघि सारेको हो । नेविसंघको केन्द्रीय अध्यक्ष, तरुण दलका महासचिव र पार्टीको केन्द्रीय सदस्यसमेत भइसकेका भट्टराई पहिलो पटक संसदीय चुनाव लड्दैछन् ।

तनहुँ कांग्रेसले बहुदल स्थापनापछि नै एकैपटक राष्ट्रिय राजनीतिमा बलियो पकड बनाएको थियो । त्यसबेलादेखि नै पहिलो पुस्ताका नेताहरू रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी र रामचन्द्र पोखरेल उम्मेदवार बन्ने प्रतिस्पर्धामा हुन्थे । उनीहरूपछि दोस्रो पुस्तामा ध्रुव वाग्ले, गोविन्द्र भट्टराई, शंकर भण्डारी र प्रदिप पौडेलहरूबीच पनि उस्तै प्रतिस्पर्धा चल्दै आएको छ ।

राज्य पुनःसंरचना हुनुअघि तनहुँमा तीन क्षेत्र थिए, ती क्षेत्रमा पौडेल, जोशी र कैनी चुनाव लड्थे । पुनःसंरचनापछि मर्ज भएर दुईमात्रै निर्वाचन क्षेत्र बन्दा उम्मेदवार बन्न पौडेल र जोशीबीचमै टकराव भयो, ०७४ को निर्वाचनमा पौडेल पार्टीको आधिकारिक उम्मेदवार बन्दा बागी बनेका जोशी कारबाहीमा परे । जिल्लामा कांग्रेसभित्रै संघर्ष गरिरहेका जोशीमाथिको कारबाही कांग्रेसले आइतबारमात्रै फुकुवा गर्‍यो ।

कैनी अस्वस्थताका कारण अहिले सक्रिय राजनीतिमा छैनन् । उनीपछि तनहुँ-२ मा शंकर भण्डारी चुनाव लड्दै आएका छन् । तनहुँमा मौका नपाएपछि काठमाडौं-५ बाट उम्मेदवार बनेका अर्का पौडेल यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पालो पर्खिएर बसेका वाग्ले, पोखरेलहरूमध्येबाट यसपटक भट्टराईले टिकटमा बाजी मारेका हुन् ।

पौडेलले निरन्तर अवसर लिँदा सभापति शेरबहादुर देउवाको निकट भएर काम गरेका भट्टराई यसपटक तनहुँ-१ मा पौडेल विरासतको उत्तराधिकारी बन्ने जोडबलमा छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार भएका कारण भट्टराईले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत समर्थन छ ।

एमाले पनि यसपटक तनहुँमा विगतदेखिको कांग्रेसको गड भत्काउने रणनीतिमा छ । तनहुँमै जन्मिएर नेपाल प्रहरीको महानिरीक्षकसम्म बनेका खनाललाई उम्मेदवार बनाएको एमाले कांग्रेसका पहिलो पुस्ताका नेताहरूको बहिर्गमनको मौका छोपेर तनहुँमा पकड बनाउन चाहान्छ । प्रहरी सेवाबाट निवृत्त भएपछि एमालेमा लागेका खनाल यसअघि काठमाडौं-६ बाट उम्मेदवार थिए । पाँच महिना अघिको चुनावमा मतदाताबाट अस्वीकृत खनाल फेरि चुनावी मैदानमा उत्रिएका हुन्।

मंसिर ४ को निर्वाचनको मुखमा एमाले प्रवेश गरेका खनालले काठमाडौं-६ मा ८ हजार १९ मत पाएका थिए । त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २२१ मत पाएर विजयी भएका थिए । खनाल जन्मथलो तनहुँलाई आफ्नो राजनीतिक कार्यथलो बनाउने उद्देश्यसहित मैदानमा उत्रिएका छन् ।

त्यस्तै, गत निर्वाचनमा उत्साहजनक मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्ले पनि तनहुँ-१ मा कांग्रेस र एमालेको सांगठनिक दबदबा तोडेर संसद् यात्रा तय गर्ने दाउमा छन् पारिवारिकरुपमा कांग्रेसमा आवद्ध वाग्ले दशकयता कांग्रेस नेताहरूको सन्निकटमा थिए । कांग्रेसकै नेतृत्वको सरकार भएका बेला योजना आयोगको उपाध्यक्ष बनेका वाग्ले दर्जनौँ कांग्रेस नेताहरूको अघोषित अर्थ सल्लाहकार थिए । यसबीचका सबैजसो निर्वाचनमा कांग्रेसको घोषणा पत्र लेख्ने समितिमा उनी अटाएका थिए ।

पछिल्लो पटक सभापति शेरबहादुर देउवाले नै उनलाई महाधिवेशन प्रतिनिधि मनोनित गरे । तर, उनी त्यो पदमा निरन्तर रहेनन् । १४ औं महाधिवेशनपछि भने नेता शेखर कोइराला र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग निकट रहेर सक्रिय थिए । गत निर्वाचनमा कांग्रेस उम्मेदवारका पक्षमा मत माग्दै देश दौडाहा गरेका उनी त्यही बेला टिकटको आकांक्षी थिए । तर कांग्रेस सभापति देउवाले टिकट नदिएको भन्दै उनको गुनासो थियो ।

यहीक्रममा उनले गत बिहीबारमात्रै कांग्रेससँगको आवद्धता त्यागेर रास्वपामा प्रवेश गरेका हुन् । गत निर्वाचनमा अप्रत्यासितरुपमा प्रतिनिधिसभामा २० सिट जितेको रास्वपाले लगत्तै वाग्लेलाई तनहुँ-१ मा उम्मेदवार बनाउने निर्णय लिएको थियो ।

वाग्ले कांग्रेसमा देउवा प्रवृत्तिलाई मुल मुद्दा बनाएर कांग्रेसकै मतदाताको मत खोसेर नतिजा आफूतिर पार्ने कोसिसमा छन् । उनले कांग्रेस परित्याग गर्दै कांग्रेसमा देउवा-आरजु गिरोहका कारण रहिरहन नसकेको भनेका छन् ।

वाग्लेको उम्मेदवारीपछि तनहुँको उपनिर्वाचन थप गर्माएको छ । तर, गत निर्वाचनको गणितलाई आधार मान्ने हो भने वाग्लेका लागि यो प्रतिस्पर्धा त्यति सुखद देखिदैन । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो भएको थियो ।

कांग्रेसका पौडेलले एमालेका उम्मेदवार एकबहादुर रानामगरलाई ५ हजार ३८० मतान्तरले जितेका थिए । पौडेलले २५ हजार ३६१ मत पाउँदा एमालेका रानामगरले १९ हजार ९८१ मत पाएका थिए । कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए ।

रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । यसपटक जोशीले उम्मेदवारी दिएनन् । तर उनले कसलाई समर्थन गर्ने भन्ने निश्चित छैन । जोशी उम्मेदवार नबनेका कारण उनको समर्थन अर्थपूर्ण हुने देखिन्छ । निर्वाचन आयोगकाअनुसार यसपटक तनहुँ-१ मा एक लाख २३ हजार ३०५ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->