पोखरा/ अघिल्लो आइतबार अर्थात १९ गते पोखरा ३० पावरहाउसबाट दुई बालक सहित चार जना लागुऔषधसँगै पक्राउ परे । तनहुँबाट पोखरा आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा पर्सा पटेवा सुगौली गाउँपालिका ४ का ३७ वर्षीय शिवजनम माझी मुसहर, पर्वत कुश्मा ४ खुर्कोट घर भइ पोखरा २७ खोलाकोडिल बस्ने २२ वर्षीय हाँडी भनिने सन्दीप परियार र १८ वर्षका दुई बालक पक्राउ परे । उनीहरुको साथबाट फेनारगन २ सय एम्पुल, सोही मात्रामा डाइजापाम र नुर्फिन गरी कुल ६ सय एम्पुल र २ सय ४० पिस नाईट्रोभ्याट ट्याब्लेट बरामद ग¥यो ।
यस्तै चैत ६ गते पोखरा १३ का ३० वर्षीय कृष्ण हमालको साथबाट फेनारगन २ सय ७ एम्पुल, सोही मात्रामा डाइजापाम र नुर्फिन गरी कुल ६ सय २१ एम्पुल लागुऔषध बरामद भयो । चैत १६ गते पोखर ८ बुद्धचोकबाट २८ वर्षीय छावा उर्फ रोशन अधिकारी ४० एम्पुल डाइजापाम, ३५ एम्पुल फेनारगन र ३९ एम्पुल नुर्फिन गरी कुल ११४ एम्पुल लागुऔषधसहित पक्राउ परे । यसरी नै हरेक महिनाजसो कास्कीमा लागुऔषधसहित मानिस पक्राउ परिरहेका छन् । कास्की प्रहरीको तथ्यांक अनुसार पछिल्लो समय कृत्रिम लागुऔषध प्रयोगकर्ताहरु बढिरहेका छन् ।
लागुऔषध नियन्त्रण ऐन २०३३ को परिभाषामा प्राकृतिक वा कृत्रिम लागुऔषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरु तथा अन्य पदार्थ समेत सम्झनु पर्छ भनी उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांक अनुसार कृत्रिम लागुऔषधको प्रयोग बढिरहेको छ । कास्की जिल्लामा ५८ वटा लागू औषधका मुद्दा दर्ता हुँदा ९८ जना पुरुष र ६ जना महिला पक्राउ परेका छन् । जसमा बरामद भएको कृत्रिम लागुपदार्थको संख्या ५ हजार ५ सय २२ एम्पुल रहेको छ । बु्रफिन १ हजार ७ सय ७५, डाइजापाम एक हजार ९ सय ६२ र फेनारगन १ हजार ७ सय ८५ एम्पुल रहेको छ । यस्तै गाँजा ३९ किलो, नाइट्रोभ्याट ट्याब्लेट एक हजार २ सय १५, ब्राउन सुगर ५१.७३ ग्राम र चरेस ३ किलो ३ सय ग्राम रहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार यो एक वर्षमा लागुऔषध प्रयोग तथा बिक्री वितरणमा सबैभन्दा बढी कृत्रिम लागुऔषध रहेको छ ।
उनले लागू औषद्य दुव्र्यसनमा फस्नाको कारण ‘पुस’ र ‘पुल’ भएकोे बताए । उनका अनुसार साथीको गलत संगत, परिवारको साथ र सहयोग नहुनु र असफलताका कारण धेरै व्यक्ति दुव्र्यसनको सिकार भइरहेका छन् । ‘खासमा दुव्र्यसन रोक्न परिवारको ठूलो हात हुन्छ । यदि परिवारमा सबै कुरा ठीक छ अनि छोराछोरीको समस्या आमाबुबाले बुझेका छन् भने लागुऔषधमा फस्दैनन्,’ उनले भने,‘परिवारले छोराछोरीको वेवास्ता गरेमा उनीहरु कुलतमा फस्ने डर हुन्छ ।’ पछिल्लो समय होटल तथा रेष्टुरेण्टमा हुक्का तान्ने प्रचलन बढिरहेको छ । हुक्का पनि दुव्र्यसनमा फस्नुको कारणमध्ये एक हुने उनको भनाइ छ । ‘हामीले अहिले हुक्का सहजै खान दिन्छौँ । धुवाँ त हो नि त्यो भनेर परिवारले नै छाडिदिन्छौँ तर त्यो गलत हो ।
हुक्काले पनि विस्तारै लत बसाल्दै जान्छ,’ उनले भने । लागुऔषधसम्बन्धी सचेतना दिने गरेका उनले १५ वर्षदेखि २४ वर्षसम्मका मानिस यसको सिकार भइरहेको सुनाए । उनका अनुसार २४ वर्षसम्मका ५२ प्रतिशत, २५ देखि ३५ वर्षसम्मका ४२ प्रतिशत, कक्षा १२ पढ्ने ३१ प्रतिशत र जागिर खाने व्यक्ति ३० प्रतिशत दुव्र्यसनीको सिकार भइरहेका छन् । यसको न्यूनीकरण गर्न परिवारले नै मुख्य भूमिका खेल्नुपर्ने उनको भनाइ रहेको छ ।





