पोखरा/ पुष १० गते एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाट रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान सहित गृहको जिम्मेवारी लिएर सहभागी भए । एमाले नेतृत्वको तत्कालीन गठबन्धनको सरकार निर्माणमा रास्वपा पनि एक महत्वपूर्ण शक्ति थियो ।
प्रधानमन्त्री बनिसकेपछि प्रचण्डले विश्वासको मत लिए । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको गृहकार्य अगाडि बढ्यो । मन्त्रिपरिषद विस्तारको क्रममा त्यही रास्वपाबाट मन्त्रीका आकांक्षी थिए, डा. ढाकाकुमार श्रेष्ठ ।
गृह पाइसकेपछि रास्वपाले स्वास्थ्य मन् त्रालयमा पनि दाबी गरेको थियो । सांसदत्रय डा. तोसिमा कार्की, डा. चन्दा कार्की भण्डारी र डा. ढाकाकुमार श्रेष्ठले भूगोलदेखि समावेशितासम्मको पृष्ठभूमि भन्दै मन्त्रीको लागि आ–आफ्नो दाबी बढाइरहेका थिए । मन्त्रीको लागि लबिइङकै क्रममा डा. ढाकाकुमार श्रेष्ठको संलग्नता रहेको कास्कीको एक सहकारी आर्थिक हिनामिनामा मुछिन पुग्यो ।
सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि मात्रै घटना बाहिरिएको थियो । बचतकर्ताले पोखरा महानगरपालिकाको सहकारी महाशाखामा उजुरी दिएपछि घटना बाहिरिँदा सांसद श्रेष्ठ भने काठमाण्डौमा नै स्वास्थ्यमन्त्री बन्नको लागि लबिइङ गरिरहेका थिए ।
घटना बाहिरिएपछि रातारात पोखरा आएर उनले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा आफूलाई फसाउन खोजिएको सन्देश दिएर घटना सामसुम पार्न नखोजेका पनि होइनन । तर, पत्रकार सम्मेलनमा नै उनले सहकारीमा समस्या रहेको स्विकार गरे ।
सांसद हुनुअघिसम्म खासै चर्चामा नरहेका श्रेष्ठले केही वर्ष पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका थिए । निजी क्लिनिक पनि चलाउँथे । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि भने उनी त्यसको गण्डकी प्रदेश सभापति बने । जिल्लामा संगठन पनि बनाए । रास्वपाको सबैभन्दा बढी संगठन गण्डकीमा नै बनेको जस लिँदै उनी आदिवासी जनजाती क्लस्टरबाट सांसद बन्न पुगे ।
चुनाव हुनुभन्दा एक महिना अघिमात्रै सहकारी छाडेका श्रेष्ठमाथि पनि आर्थिक हिसाबकिताब नबुझाएको आरोप लागेको थियो ।
सहकारी प्रकरणमा मुछिएपछि विवादित बनेका सांसद श्रेष्ठ त्यतिबेला मन्त्री बन्न पाएनन । स्वास्थ्य राज्यमन्त्री पाएको रास्वपाले सरकारमा डा. तोसिमा कार्कीलाई पठायो ।
तर, नागरिकता विवादका कारण रास्वपाका सभापति रवि लामिछानेकै सांसद पद खारेज भयो । उपप्रधान र गृहमन्त्री पनि स्वतः गयो । पार्टी सभापतिकै सांसद पद सर्वोच्च अदालतले नागरिकता विवादका कारण खारेज गरिदिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय ग¥यो । यता, राष्ट्रपति चुनावसम्म आइपुग्दा एमाले सत्ताबाट प्रतिपक्षमा पुग्यो भने कांग्रेससहितको नयाँ गठबन्धन बन्यो । नयाँ गठबन्धन बनेपछि पनि रास्वपा त्यतैतिर लाग्यो । प्रधानमन्त्री प्रचण्डलाई दोश्रोपटक विश्वासको मत दियो ।
उपनिर्वाचनको परिणामपछि प्रचण्ड सरकारमा पुनः सहभागी हुने छलफल भइरहेकै बेला उनै श्रेष्ठले पुनः मन्त्री पदको लागि लबिइङ गर्दै थिए । सहकारी प्रकरण मत्थर भइसकेका कारण आफू स्वास्थ्यमन्त्री बन्नको लागि उनी पार्टीदेखि बाहिरी व्यक्तिसँग समेत छलफलमा थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँगको कुराकानी पनि स्वास्थ्यमन्त्री बन्ने भनेर नै सांसद श्रेष्ठले रकम डिल गरेका थिए ।
तर, त्यही रेकर्ड बाहिरिँदा रास्वपाले उनलाई एक हप्ताका लागि साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्न पुगेको छ । समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेका श्रेष्ठलाई निलम्बन गरेपछि उनको सांसद पद पनि निलम्बन हुन सक्छ । रास्वपाले यस घटनाको लागि छानविन समिति पनि गठन गर्ने बताएको छ । विवादित व्यवसायीसँग साढे २ करोड रकम माग्दा उनको छवि त विवादित बन्यो नै, मन्त्रीमोहको च्याप्टर पनि क्लोज हुन पुग्यो ।
सार्वजनिक भएको उक्त अडिओमा मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग भनेका छन ।
“त्यहाँ २÷३ जना हुनुहुन्छ, पार्टीलाई, रवि (सभापति रवि लामिछाने) लाई शुरूदेखि नै सहयोग गर्ने मान्छे, त्यही टीमबाट मलाई कुरा आएको हो, अब आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि । साढे २ (करोड) भन्या छन्, आज मैले एक (करोड) दिएँ भने मान्छन् । अरू पछि चेक दियो भने हुन्छ ।” श्रेष्ठले भनेका छन ।
प्रचण्ड नेतृत्वको स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन । उनले तत्काल एक करोड दिए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन ।
प्रसाईले श्रेष्ठलाई भनेका छन्, “तपाईं अगाडि बढ्नुस । तर, दुई करोड दिएपछि तोसिमा कार्कीले लडाइँ त गर्दिनन नि ? तोसिमाले पैसाका बारेमा कुरा पनि गर्न सक्दिनन । उनले आफूलाई गोविन्द केसीको मानिस भनेकी छन । उनले कहीँ कतै कुरै गर्न मिल्दैन ।”





