म्याग्दी /चारैतिर घना जंगल । जंगलको बीचभागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्म पुग्नका लागि ढुङ्गा विछ्याइएको २ सय ६० मिटर लामो पदमार्ग ।
उत्तरतर्फ चाँदीझैँ टल्कने सेता हिमाल । चैत–वैशाखमा राताम्यै फुलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी । जंगलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रका दर्जर्नौ ग्रामीण वस्ती । बेलढुंगाको शिरमा चढेपछि आँखै अगाडी देखिने दृश्य हो,यो ।
म्याग्दीको बेनी नगरपालिका ३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका ३ ओखलेको शिरमा छ बेलढुंगा । समुद्री सतहदेखि दुई हजार ६सय १४ मिटर उचाइमा रहेको बेलढुंगामा वसन्त ऋतुको सुरुवातसँगै आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।
गत वर्ष करिव ७ हजार जना आन्तरिक पर्यटक बेलढुंगामा पुगेकोमा यस वर्षको चैत २६ गतेसम्म १२ हजार वढी आन्तरिक पर्यटकहरु आएका स्थानीय गणेश श्रीषले बताए ।
बेलढुंगामा कति पर्यटक आए भन्ने तथ्यांक राख्ने आधिकारिक निकाय भने यहाँ छैन । स्थानीयले गाउँको होमस्टेमा बास बस्ने र गाउँका होटल तथा पसलहरुमा चिया नास्ता गर्नेहरुको संख्याको आधारमा कुन वर्ष कति पर्यटकहरु आए भन्ने संख्या अनुमान गर्नुपरेको उनको भनाइ छ ।
पदमार्ग र साइकल लेन बनेपछि हाइकिङका लागि बेलढुंगा उत्कृष्ट गन्तव्य वनेको स्थानीय रत्न जिसीले बताउनुभयो । टाढाटाढाबाट बास बस्ने गरी आएका पर्यटकहरुका लागि नजिककै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) बनेपछि खाना र बासको समस्या नहुँदा हाइकिङका लागि दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।
बेलढुंगाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृङ्खला, म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साबिकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढी गाउँहरु, वनजङ्गल, जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका ३ का वडाअध्यक्ष पदम पुनले बताए ।
बेलढुंगामा पर्यटकीय पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका वडा नं ३ र बागलुङको काँठेखोला गाउँपालिका ३ ओखलेको गरी करिव ४० लाख बढि खर्च भएको वडाअध्यक्ष पुनले जानकारी दिनुभयो ।
त्यसैगरी सडक निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको उनले बताए । अहिले गुलजार बनेको बेलढुंगा एक दशक अघिसम्म गुमनाम थियो । सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट सकड मार्गको पहुँच,पदमार्ग निर्माण,साइकल लेन,होमस्टे,पार्किङलगायतका पूर्वाधारहरु बनेपछि यहाँ अहिले दैनिक दुई सय वढी आन्तरिक पर्यटकहरु आउने गरेका वडाअध्यक्ष पुनले बताए ।
बेलढुंगामा आउने पर्यटकहरुको संख्या यति नै भयो भनेर आधिकारिक रुपमा भन्न सकिने अवस्था नभए पनि यातायात र पदमार्गमार्फत यहाँ आएका पर्यटकहरुलाई हेरेर पर्यटक वढेका वा घटेका अनुमान लगाउने गरिएको उनले जानकारी दिए ।
अध्यक्ष पुनले निकट समयमा नै यहाँ आएका पर्यटकहरुको आधिकारिक तथ्यांक राख्न एक जना कर्मचारीको व्यवस्था गर्न लागिएको जानकारी दिए ।
बेलढुङ्मा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै जान थालेपछि बेनी नगरपालिका–३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका ३ ओखलेबीच विकासका पूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको स्थानीय गणेश शीषले जानकारी दिए ।
उनका अनुसार बाह्रै महिना बेलढुंगा चढ्ने पर्यटकको भीड उस्तै हुन थालेको छ । सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो। सडक सञ्जालले जोडिएपछि धेरैको रोजाइमा पर्न थालेको हो ।
‘पहिला घाँस दाउरा गर्ने,भेडा बाख्रा चराउने र निगालो खोज्नेहरु यहाँ आउँथे,हेर्दा हेर्दै सहरबजारबाट घुम्न र रमाउन यहाँ आउन थाले,’ शीषले भने ‘गाउँका मान्छेहरु रमाउन सहर झर्छन,सहरका मान्छे गाउँ हुँदै जंगलतिर उक्लन्छन् ।’
हिउँदमा हिउँ खेल्न र गर्मीमा शितलको खोजीगर्दै यहाँ आउनेहरुले चहलपहल बढाएको उहाँको भनाइ छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्यावलोकन गर्नेहरूको कमी भने भएन । बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहज रूपमा यहाँ पुग्ने गरेका स्थानीयले बताएका छन् ।
सामाजिक सञ्जालमा यहाँका तस्वीर–भिडियो देखेर घुम्न आएको तोराखेतकी सरस्वती सापकोटाले बताइन् । बेलढुंगा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुंगा घुम्न आउनुभएका बेनीका दुर्गाराम सुवेदीले बताए । धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले यो ठाउँ वन्यजन्तु हेर्नेहरुको पनि गन्तव्य भएको बताए ।
बेलढुंगाको शिरसम्म पदमार्ग
दुईवर्ष अघिसम्म बेलढुंगाको फेदमा रहेको वेसी चौतारीदेखि बेलढुंगाको शिरमा पुग्न निकै जोखिम थियो। अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुंगाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो ।

तर अहिले सुविधायुक्त सिंढी (पदमार्ग) बनेपछि निकै सहज भएको बेलढुंगामा हरेक वर्ष पुग्ने गर्नुभएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपकोषाध्यक्ष शिव बानियाँले बताए ।
म्याग्दीको सीमानातर्फ स्वर्गाश्रमदेखि बेसी चौतारीसम्म वेनी नगरपालिका–३ को करिब ४ लाख र त्यहाँदेखि बेलढुंगासम्म दुवै वडाको २÷२ लाख रुपैयाँको गरी करिब ८ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ ।
ढुंगा बिच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्न सकिन्छ ।





