मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गाइडदेखि पोटरलाई १० लाखको बीमा पर्यटकले नै गरिदिनुपर्ने

गाइडदेखि पोटरलाई १० लाखको बीमा पर्यटकले नै गरिदिनुपर्ने


  • Dhorpatan News
  • बैशाख ४ २०८०, सोमबार

पोखरा/ पदयात्राका लागि जाने पर्यटकले नै गाइड (पथप्रदर्शक) देखि पोटर (कामदार) सम्मलाई १० लाख रुपैयाँ बराबरको बीमा गरिदिनुपर्ने भएको छ । गण्डकी प्रदेश पर्यटन ऐन, २०७९ लाई टेकेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश पर्यटन नियमावली जारी गरेको छ ।

गएको चैत ३० गते राजपत्रमा प्रकाशित नियमावली अनुसार गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा ट्राभल वा ट्रेकिङका लागि जाँदा पर्यटकले व्यक्तिगत दुर्घटना बीमाबापत्को शुल्क व्योहोर्नुपर्ने व्यवस्था थपिएको हो । जसअनुसार पदयात्रा सुरु भएर समाप्त नहुँदासम्म पर्यटकले आफ्नो साथमा जाने पथप्रदर्शकदेखि साथमा जाने अन्य सहयोगीहरुको बिमा गरिदिनुपर्ने हुन्छ ।

नियम १३ को उपनियम १ अनुुसार, ‘पर्यटकले ट्राभल वा ट्रेकिङको लागि प्रस्थान गर्नुअघि आफ्नो साथमा जाने कामदारको नाइके तथा कामदारलाई ट्राभल वा ट्रेकिङ एजेन्सीको अभियान समाप्त गरी नफर्केसम्मको लागि नेपालभित्र संस्थापित बीमा कम्पनीबाट दश लाख रुपैयाँमा नघट्ने गरी दुर्घटना बीमा गराउनुपर्नेछ ।’

केही दिनअघिमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटकका लागि लिइँदै आएको टिम्स कार्डको मूल्य बढाउने खालको पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७९ स्विकृत गरेको थियो ।
संघले बनाएको उक्त मापदण्ड अनुसार टिम्स कार्ड नबोकी र गाइड नलिई पदयात्रामा निस्किने पर्यटकलाई जरिवाना तिराउने उल्लेख छ । ट्रेकिङ कम्पनीमार्फत टिम्स कार्ड लिनुपर्ने व्यवस्था मापदण्डमा छ ।

गण्डकीले जारी गरेको नियमावलीले पर्यटकले नै बीमा गरिदिनुपर्ने व्यवस्था थपेको छ । ट्राभल वा ट्रेकिङमा जाँदा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी बीमाको व्यवस्था राखिएको मन्त्रालयका अधिकारीहरु बताउँछन । उपनियम २ ले त्यसरी ट्राभल वा ट्रेकिङमा जाँदा बीमा गरिएको व्यक्तिको दुर्घटनामा परि अङ्गभङ्ग वा मृत्य भएमा इच्छाएको व्यक्ति र सो व्यक्ति पनि नभए हकवालालाई बीमा रकम दिनुपर्ने उल्लेख गरेको छ । मृतकले इच्छाएको व्यक्तिलाई बीमाबापतको उक्त रकम उपलब्ध गराउने काम पर्यटक र ट्राभल वा ट्रेकिङको लागि इजाजतपत्र प्राप्त भएको व्यक्तिको हुने उल्लेख गरिएको छ ।

इच्छाइएको व्यक्ति नाबालक भएको खण्डमा बालिक नभएसम्मको उसको पालनपोषणको व्यवस्था इजाजत प्राप्त व्यक्तिले रकम उपलब्ध गराएपछि कार्यालयले गर्नेछ । पर्यटकले नै दुर्घटना बीमा अन्तर्गत नै कामदारको नाइके वा कामदार दुर्घटनामा परि अङ्गभङ्ग नभएतापनि चोटपटक लागेर औषधोपचारको लागि पाँच लाखको बीमा गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।‘कामदारको नाइके वा कामदार दुर्घटनामा परि अङ्गभङ्ग बाहेक अन्य चोटपटक लाग्दा गर्नुपर्ने औषधोपचारको लागि सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति वा पर्यटकले नेपाल राज्यमा संस्थापित बीमा कम्पनीबाट कम्तीमा पाँच लाख रुपैयाँको बीमा गराउनुपर्नेछ ।’ नियमावलीमा उल्लेख छ ।

मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले भने हरेक एउटै पर्यटकले मात्रै १० लाख बराबरको बीमा गर्ने नभई वार्षिक रुपमा लाग्ने प्रिमियमको केही हिस्सामात्रै तिरे पुग्ने बताउँछन । ‘कम्पनीले नै प्याकेज तोक्दा त्यसमा बीमा पनि जोडिएको हुन्छ, हरेक पटक जाँदा १० लाखको बीमा भन्ने हुँदैन । पर्यटकले आफ्नो यात्रा कति दिर्न गर्छ, सोही अनुसार लाग्ने प्रिमियम तिर्ने हो,’उनले भने ।
पर्यटन ऐनको दफा ३ अनुसार ‘ट्राभल तथा ट्रेकिङ एजेन्सी’ ले अनिवार्य रुपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।नियमावलीको अनुसूची २ अनुसार इजाजतपत्र पाउने ट्राभल तथा ट्रेकिङ एजेन्सीले सरकारले तोकिदिएको क्षेत्रमा मात्र पर्यटकलाई लैजान पाउँछन । पर्यटकबाट लिने शुल्कको विवरण पनि उनीहरुले मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ ।
पथप्रदर्शकले मद्यपान गर्न नपाउने

पथप्रदर्शकको काम गर्नेलाई मदिरा सेवन गर्न नपाइने व्यवस्था ऐनले गरेको छ । ऐनको दफा १४ देखि १९ सम्म पथप्रदर्शकको व्यवस्था छ । ती दफाहरूका अनुसार इजाजत पत्र लिनुपर्ने, वर्गीकरण हुने, इजाजतपत्रको समय पाँचवर्षको हुनेदेखि नवीकरण, प्रतिलिपीसम्मको व्यवस्था छ ।

दफा १८ मा पथप्रदर्शकको आचारसंहिता उल्लेख छ । उक्त आचारसंहिता अनुसार पथप्रदर्शकले आफूलाई पथप्रदर्शक बनाउन पर्यटकलाई बाध्य पार्न हुँदैन । आफ्नो इजाजतपत्र अरुलाई दिन पनि हुँदैन र मादक पदार्थ सेवन गर्न हुँदैन । अन्यथा ऐनले इजाजतपत्र खारेज गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->