बागलुङ/ सामुदायिक विद्यालयका समस्याहरु सुधारको लागि विज्ञहरुले बडिगाड गाँउपालिकालाई १४ बुँदे सुझाव दिएका छन । पालिकाले आयोजना गरेको शैक्षिक क्षेत्रमा विद्यमान समस्या एवं चुनौतीको समाधानसहित शैक्षिक सुदृढीकरणका लागि वृहत शैक्षिक सम्मेलनमा ती सुझाव दिइएको हो ।
प्रधानाध्यापकलाई कम्तिमा तीन वर्षे करार नियुक्ति गरी लक्ष्य स्पष्ट तोकेर सम्झौता गर्ने र प्रधानाध्यापकको भत्ता बढाउने, प्रधानाध्यापकले विद्यालय सुधारको स्पष्ट कार्ययोजना निर्माण गर्नुपर्ने साथै प्रधानाध्यापकले कक्षा शिक्षक तथा विषय शिक्षकसँग सिकाइ सम्झौता गरी न्यूनतम सिकाइ उपलब्धी हासिल नगरे के गर्ने ? त्यो स्पष्ट तोक्न विज्ञहरुले सुझाएका छन् ।
त्यस्तै शिक्षक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने, विद्यालयमा राजनीति पूर्ण रुपमा बन्द गर्नु पर्ने, गीत, संगीत, नृत्य, खेलकुदलगायतका अतिरिक्त प्रशिक्षकको व्यवस्थापन गर्नुपर्ने,कमजोर अवस्थाका सबै विद्यार्थीको पहिचान गरी उपचारात्मक कक्षाको सुरुवात गर्नुपर्ने, एक विद्यार्थी एक सीप, एक विद्यालय एक उत्पादन कार्यक्रमको थालनी गर्नुपर्ने, गणित र विज्ञान जस्ता विषय अंग्रेजी माध्यममा पनि पठनपाठन गराउन शिक्षकहरुलाई सुझाव दिएका छन् । गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले शैक्षिक सुधारको लागि कठोर कदम चाल्ने बताइन् ।
पालिकाले सुझाव कार्यान्वयनको लागि कार्यपालिका बैठकमा छलफल गर्ने प्रतिवद्धता जनाएको छ । सम्मेलनमा विषय विज्ञको रुपमा बृहत राष्ट्रिय शिक्षा महाअभियानका अभिषेक घिमिरेले शिक्षाले संस्कार, सीप र प्रविधिलाई आत्मसाथ गर्नुपर्ने भन्दै प्रधानाध्यापक र शिक्षक सवैभन्दा बढी जिम्मेवार बन्नुपर्ने बताएका थिए ।
कार्यक्रममा स्मार्ट सिटी विज्ञ विज्ञान घिमिरेले २१ औं सताब्दीको पुस्ता प्रविधिमैत्री भएकोले समाजले स्वीकार्नुपर्ने बताए । साथै सम्मेलनमा बागमति नगरपालिकाका शिक्षा अधिकृत मिनप्रसाद उपाध्यायले नगरबाट सम्पादित असल अभ्यास जानकारी गराएका थिए ।
उठेका विषयको जवाफ र धन्यवाद दिँदै बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन बनले बडिगाडको शिक्षा सुधारको लागि विद्यालय समायोजन प्रक्रियालाई सघाउन आग्रह गरे ।





