मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

भेडीगोठ जस्तो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

भेडीगोठ जस्तो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चमेनागृह छैन, बस्न पनि पाउँदैनन विमान कुर्ने यात्रु, एटिएमको अभाव


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८०, शुक्रबार

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षको ढोका बाहिरबाट बन्द छ । तर, भित्र भने यात्रुहरु खचाखच छन । पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएतापनि अन्तर्राष्ट्रिय आगमन कक्ष यात्रुहरुले भरिभराउ थियो । सयौँ यात्रुहरु आन्तरिकतर्फको प्रस्थान कक्षमा खचाखच थिए । विमानस्थलको भवन परिसरमा पनि मान्छेको संख्या उत्तिकै थियो । कोही झोक्राइरहेका, कोही गफिइरहेका, निदाइरहेकाहरु र काउण्टरमा उभिएर आफ्नो उडानका बारेमा बुझ्दै गरेका यात्रुहरुले विमानस्थलको टर्मिनल भवन भरिभराउ थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको बिहिबारको दृश्य हो, यो ।
काखमा दुधे बालक लिएकादेखि, बिरामी, ह्विलचेयरमा बसिरहेका वृद्धवृद्धाहरु सबै टर्मिनल कक्षभित्रै थिए ।
आन्तरिक उडानका यात्रुहरुलाई निषेध गरिने अन्तर्राष्ट्रिय आगमन कक्षसमेत खुलेको थियो । निला रंगका प्लाष्टिकका कुर्चीमा विदेशी देखि स्वदेशी यात्रुहरु बसिरहेका थिए । बस्न नपाउने जति कोही उभिएका थिए, कोही बाहिर निस्केर टहलिरहेका थिए ।

आगमन कक्षबाहिर पनि बस्ने ठाउँ नहुँदा कोही भुइँमा नै बसेर थकान मारिरहेका थिए । कोही तस्वीर खिचाउँदै थिए ।
अन्तर्राष्ट्रिय आगमन कक्षकै ढोका बाहिर दुइजना व्यक्ति भने स्टिलका कुर्ची फिटिङ गर्दै थिए । विमानस्थल प्रशासनले ८० यात्रु बस्न मिल्नेगरि यी कुर्ची खरिद गरेको थियो । त्यसकै फिटिङमा व्यस्त थिए, दुई व्यक्ति ।

मान्छेको भीडले अस्तव्यस्त र भरिभराउ देखिएको विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको आगमन कक्षमा निलो कुर्चीमा सुस्ताइरहेका थिए, सुशिल श्रेष्ठ ।
अनुहारमा नैराश्यता देखिन्थ्यो । तर, उनले आक्रोश पोखे, ‘यो त अन्तर्राष्ट्रिय विमानस्थल होइन, भेडीगोठ हो ।’

काखमा दुई महिनाको बच्चा लिइरहेका उनी रिसाउनुको कारण पनि छ । पोखराबाट काठमाडौंका लागि उनले आफू र श्रीमतीको लागि मंगलबार नै टिकट लिएका थिए । टिकट लिएपछि उनी विमान उड्ने समयभन्दा केही अगावै विमानस्थलमा आइपुगे । तर, त्या ेदिन उडान नहुने भनियो ।
बुधबार उनी झन दुइपटक विमान पुगे, अघिल्लै दिनको नियति दोहोरियो ।

बिहीबार भने उनले काठमाडौंको टिकट नै क्यान्सिल गरिदिए । आमाको मुख हेर्ने दिन पनि भएको हुँदा उनले सिधै भैरहवा जाने टिकट लिए । भैरहवा जानको लागि भनेर विमान कुरेर बसिरहेका श्रेष्ठले समयमा उडान नहुँदा दिनमा मात्रै सातहजार खर्च बढेको सुनाए ।
बिहीबार पनि उनले बोर्डिङ लिएर बसेका छन, तर विमान आउने नआउनेमा उनी नै निश्चित छैनन् ।
यसको दोष उनले यहाँको व्यवस्थापनलाई दिन्छन ।

‘अन्तर्राष्ट्रिय विमानस्थल भनेपछि आन्तरिक भन्दा पनि खराब छ । यहाँ कुनै सिस्टम नै छैन । कुन जहाज आयो, कुन जाँदैछ, जाने आउने समय, कुन एयरलाइन्सको काउण्टर कुन हो, कुन जहाज कतिबेला उडछ, भन्ने केही सिस्टम नै छैन,’ उनी थप्छन, ‘यहाँ त उनीहरुले हचुवाको भरमा काम गरेका छन, यात्रुलाई नै सबै जिम्मेवारी दिएका छन । मान्छेहरु आउने, फर्किने भइरहेको छ । विदेशी पर्यटकले के सोच्लान कुन्नि ।’

विमानस्थल प्रशासनले भिजिविलिटी नपुगेका कारण उडान प्रभावित भएको बताएको छ । तर, उनी यसलाई मान्न तयार छैनन ।
आफू नै बसिरहेको कुर्चीमाथि पनि उनले प्रश्न उठाए, ‘अन्तर्राष्ट्रिय विमानस्थल भनेको छ, ४५० को कुर्सीमा बस्नुपरेको छ । यसले त विमानस्थलकै साख गिराउँछ ।’
अमेरिकी नागरिक फ्रेडको १०ः३० बजेको सौर्य एयरलान्सको टिकट थियो । त्यसका लागि उनी १० बजे नै विमानस्थल पुगे । तर, उडान भएकै थिएन । २ बजेपनि उनी विमास्थलमा नै भेटिए ।

‘उडानमा यतिलामो पर्खाइ मेरो पहिलो अनुभव हो,’ उनले संक्षिप्तमा भने ।
सोही फ्लाइटमा थाई नागरिक जग्बी मसुराले पनि काठमाडौका लागि टिकट लिएका थिए । नेपाल घुम्न आएका उनले अन्तर्राष्ट्रिय विमानस्थलमा आधारभूत सेवा पनि उपलब्ध नभएको गुनासो गरे ।

पछिल्लो हप्तादेखि पोखराबाट राजधानी र राजधानीबाहिरका उडानहरु नियमित हुन सकेका छैनन । विमानस्थल प्रशासनले यसलाई भिजिविलिटी नपुगेका कारण उडान प्रभावित भएको जनाएको छ ।

तर, अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित हुँदा यात्रुको सहजताको लागि कुर्चीको समेत व्यवस्था छैन । बिहान ७ बजेदेखि आएर झन्डै ७÷८ घण्टा विमान कुर्ने यात्रुहरु भोकै बस्नुपर्ने बाध्यता छ । विमानस्थलले एउटा चमेनागृह (क्यान्टिन) को समेत व्यवस्थापन गर्न सकेको छैन । उद्घाटनको चार महिना नपुग्दै विमानस्थलको शौचालय दुर्गन्धित बन्न पुगेको छ, नियमित सरसफाई छैन । विमानस्थलमा आउने यात्रुहरुको सुविधाको लागि एउटा पनि बैंकको एटिएम काउण्टरको सुविधा त्यहाँ छैन । ट्याक्सी चालकको शुल्क मनपरि छ । दुइपाङ्ग्रेले एक घण्टाको पार्किङको शुल्कको ३० रुपैयाँ बुझाउपर्छ भने थप ५ मिनेट बढि राखेमा दुई घण्टाको पार्किङ शुल्क बुझाउनुपर्छ ।विमानस्थलमा पुग्ने जो कोहीले पनि देख्न सक्ने दृश्य हो, यो ।

अर्कातर्फ नियमित उडान नहुँदा पनि यात्रुहरु आगमन कक्षमा खचाखच भरिँदा विमानस्थलको सुरक्षामा पर्नसक्ने खतरालाई पनि विमानस्थल प्रशासनले नजरअन्दाज गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर दबाब दिने नागरिक समुहका अगुवा आनन्दराज मुल्मी यसलाई नागरिक उड्डयन प्राधिकरण (क्यान) को अकर्मण्यता भन्छन ।

पोखरा विमानस्थल कार्यालयका प्रमुख विक्रमराज गौतमले भने यात्रुहरुको व्यवस्थापनको सन्दर्भमा काम भइरहेको उल्लेख गरे । ‘मैले प्लान गरेको ओभरअल एक हजार जति यात्रुको सिट व्यवस्थापन गरेको हो,’उनले भने ।

तर, बिहीबार १५ वटा फ्लाइट क्यान्सिल भएको र यात्रुहरु एकैपटक जम्मा भएका कारण भिड देखिएको उनको भनाइ छ । ‘आज के भयो भने १५ वटा उडान प्रभावित भए, मौसम खुल्छ वा खुल्दैन त्यो पनि निश्चित भएन । त्यसपछि यात्रुहरुलाई भित्र पठाउने कि नपठाउने भन्ने भयो,’ उनले भने ।
यही अवस्था आउन सक्छ भनेर नै २० वटा फोर सिटर (एउटामा चारजना यात्रु बस्न मिल्ने) मगाएको उनले बताए ।

‘कस्तो भयो भने हामीले राख्ने क्षेत्रभित्र राख्न पाएको भए, त्यस्तो अवस्था हुँदैनथ्यो । प्रहरीले चाहिँ उडान भएन भने यात्रुहरुलाई भित्र पठाउँदा झनै भीड हुन्छ कि भनेँ’,उनले भने,‘पछि मैले यात्रुहरुलाई भित्र जान दिएँ । १५ वटा उडान वेटिङमा थिए, यो भनेको झन्डै एकहजार जना यात्रुको संख्या हो, भोलिदेखि त्यस्तो हुँदैन ।’
उनले यात्रुकै सुविधाको लागि प्लाष्टिकको कुर्सी राखिएको बताए ।

क्यान्टिन अभावका कारण यात्रुहरुले भोकै उडान गर्नुपर्ने बाध्यताका बारेमा भने उनले चिनियाँहरुले नबनाएको भन्ने जवाफ दिए ।
क्यानले यसका लागि टेण्डर खुलाएर आवेदक पनि छनोट गरिसकेको उनको भनाइ छ । कञ्चनपुरको होटेल ओपेरा प्रालिलाई विमानस्थलले छनोट गरेको छ । सम्झौता भने भएको छैन ।

एटिमएमको बारेमा पनि टेण्डर आह्वान भएको र छनोटको प्रक्रियामा गएको उनले जानकारी दिए । विमानस्थलको टर्मिनल अगाडि ट्याक्सी र बाइक पार्किङमा राखिएको देखिन्छ ।
त्यसबापत विमानस्थलले क्षेत्रीय विमानस्थलको तुलनामा तीनगुणा शुल्क बढाएको छ । पार्किङको शुल्क उठाउनको लागि विमानस्थलले स्क्वाएयर एड्भाइजर प्रालिलाई ठेक्का दिएको छ ।पार्किङको विषयमा नागरिकले नै चर्को विरोध गरेतापनि विमानस्थल प्रशासनले भने त्यसलाई नसुनी अर्को कम्पनीलाई ठेक्का दिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->