मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जातीय विभेद गर्ने जनप्रतिनिधि धरौटीमा रिहा

जातीय विभेद गर्ने जनप्रतिनिधि धरौटीमा रिहा


  • विजय नेपाली
  • बैशाख १४ २०८०, बिहिबार

पोखरा/ जातीय विभेदको आरोपमा पक्राउ परेका कास्कीको माछापुच्छे्र गाउँपालिका वडा ५ रिभानका जनप्रतिनिधिको परिवार धरौटीमा छुटेका छन् । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भई कारवाहीमा परेका वडा सदस्य रामजी लामिछाने र उनका परिवार सुजन लामिछाने, सीता लामिछानेसहित सन्तोष परियार धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

जिल्ला अदालत कास्कीले रामजीलाई एक लाख रुपैयाँ, सीतालाई ६० हजार, सुजनलाई ५० हजार र सन्तोषलाई ४५ हजार रुपैयाँ धरौटी राखी तारेखमा छाडिएको हो । गत फागुन २५ गते पोखराबाट भाइको छोराको ब्रतबन्धनमा गएका नारायण परियारमाथि विभेद भएको थियो ।

डाँडागाउँ हुम्दिमा सन्तोष परियारको घरमा भएको भतेरमा तीनवटा भान्छा थिए । बाहुनको भान्छा खाली देखेपछि नारायणलगायत अन्य चारजना त्यहाँ खाना खान पुगेका थिए । सोही क्रममा लामिछाने परिवारले खाना फालिदिएका थिए ।

‘भाइले बोलाएपछि हामी ब्रतबन्धमा पुगेका थियौ । त्यहाँ पुगेपछि हाम्रो परम्परा अनुसार टीका लगाउने र दक्षिणा टिपाउने काम पनि ग¥यौँ त्यसपछि खाना खान लाग्यौँ,’ पीडितले भने,‘खाना खान जाँदा माथिल्लो गह्रामा खाली थियो हामी त्यहाँ गएर खाना माग्यौँ । हामीले खाना मागेका मात्रै थियौँ, छोएका थिएनौं ।’ उनीहरुलाई बाहुनका लागि छुट्याएको गह्रामै जान निषेध गरिएको थियो ।

दलितकै घरमा भएको धार्मिक काममा समेत जातीय विभेद भएको उनले बताए । ‘हामीलाई अपमान गर्दै त्यहाँबाट तल झर्न भनियो । अनि मैले किन भनेर सोध्दा यहाँ होइन तपाईंहरुको तल हो भन्दै पठाइयो ,’ उनले भने, ‘एउटा दिदी आएर यो बाहुनका लागि हो । तपाईँ मेरो भाइ हो, तल गइदिनुस यहाँ छोइन्छ भन्नुभयो । पछि एकजनाले खाना छोएको भन्दै पूरै खानाको भाँडासहित फालिदिनुभयो ।’

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->