पोखरा/ पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म सडक आसपासका शहर र गाउँहरु घाम लागेका दिन धुलोले ढाकिन्छन् । पानी परेका दिन हिलो छ्यापिन्छन् । घाम लागेका बेला सडकबाट उँडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ । सडकको वारीबाट पारीका बजार हेर्न आँखा तन्काउनुपर्छ ।
हिलो र धुलोले सडकमा पैदलयात्रा गर्न त के, उभिन सक्ने स्थिति पनि छैन । नेपालकै चल्तीको राजमार्गमा सवारीको भिडले उडाउँने धुलोबाट राजमार्ग आसपासका बासिन्दा निसास्सिएका छन् । पानी परेका दिन सवारीले छ्यापेको हिलोले राजमार्ग वरीपरीका घरहरु कुरुप बनाइदिएका छन् ।
‘बजार गएर फर्कदा धुलो र हिलोले मान्छे चिन्न पनि मुस्किल पर्छ,’ दमौलीका मिरा श्रेष्ठ भन्छिन्, ‘बाटो फराकिलो बनाउन सबै सडक एकैपटक खनियो, हामीलाई धुलो र हिलो खानुपरेको छ ।’
राजमार्ग आसपासका बासिन्दालाई दैनिक काममा निस्कँदा पनि राजमार्गको धुलो र हिलोले हैरान बनाएको छ । तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रत्न माविका शिक्षक पशुपति अर्यालले मोटरसाइकल लिएर स्कुल आउजाउ गर्न समस्या परेको बताए ।
‘पानी परेका बेला स्कुल जाँदा पोशाकभरी हिलो छ्यापिन्छ, घाम लागेका दिन धुलाम्मे होइन्छ,’ उनले भने, कहिलेकाँही त स्कुल गएर फेर्नका लागि घरबाट अतिरिक्त कपडा लिएर जानुपर्छ, कहिले हिलो पखालेको चिसै कपडा लगाएर पढाउनुपर्छ ।’ विद्यालयमा अध्यन गर्न आउने विद्यार्थीले पनि यस्तो हैरानी भोग्नुपरेको उनले बताए ।
राजमार्गबाट मुग्लिन–पोखरा यात्रा गर्ने यात्रुले पनि उस्तै सास्ती खेप्नुपर्छ । मुग्लिनमा लगाएको मास्क पोखरा पुग्दा टाँसिएको धुलोले मास्कको रङ फेरिसकेको हुन्छ । घाम चर्किएको दिन उडेका धुलोले यात्रुलाई बिरामी पार्न सक्छ ।
पानी परेका दिन पनि यात्रुले हिलोको सास्ती खेप्नुपर्छ । सडक फराकिलो पार्दा बनेका खाल्डाखुल्डीमा सवारी फस्छन् । कहिले पहिरो झरेर जाम हुन्छ । सवारीका पाङ्ग्रा डुब्ने खाल्डाखुल्डीले यात्रालाई युद्ध होमिन गए जस्तो डरलाग्दो बनाइदिन्छ ।
पोखराका प्रकाश आचार्य एक महिनाअघि निजी सवारी लिएर काठमाडौं जाँदा धुलोले ढाकिए । फर्किदा पानी प¥यो, हिलोमा डुबे जस्तो भए । पोखराबाट मुग्लिन जाँदा ३ घण्टामा पुगेका उनी फर्किदा मुग्लिनबाट पोखरा आउन ४ घण्टा बढी लागेको बताए ।
‘काठमाडौं जाँदा धुलो उँडेर आकाशै धुलाम्मे थियो, आँखा हेर्न पनि मुस्किल,’ उनले भने, फर्किदा मुग्लिन कटेपछि ४ ठाउँमा जाम भयो, सडक बनाउँदा परेका गहिरा खाल्डाखुल्डी र हिलोले तनाब दियो ।’
पृथ्वी राजमार्ग काठमाडौंबाट पोखरा जोड्ने मात्र होइन, आसपासका अन्य जिल्ला र गाउँहरुलाई सडक संजालमा जोड्ने मुख्य राजमार्ग हो । यही राजमार्गमा जोडिएर गण्डकी र धौलागिरीका जिल्लाहरुले सडक सञ्जालमा पहुँच पाएका छन् । राजधानी मात्र होइन, अन्य जिल्ला र बजार जान पनि गण्डकी र धौलागिरीका बासिन्दा यही राजमार्ग प्रयोग गर्न बाध्य छन् ।
२०२१ सालतिर दुई लेनमा निर्माण थालिएको पृथ्वी राजमार्ग २०३० सालमा निर्माण सम्पन्न भएको थियो । त्यसयता यस राजमार्ग सामान्य मर्मतका भरमा अहिलेसम्म टिक्यो । सरकारले २ बर्षअघि मात्र यस सडक चार लेनको बनाउन एसियाली बिकास बैंक (एडिबी)सँग ऋण लिएर ठेक्का लगाएको थियो ।
नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक संजालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै ब्यस्त सडकमा गनिन्छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार यस राजमार्गबाट हाल दैनिक ८ हजार बढी सवारी गुड्छन् । राजमार्ग आसपासका गाउँ र शहरका बासिन्दा राजमार्गमार्फत छोटो यात्रा गर्ने यात्रु र सवारीको त हिसाबै छैन ।
राजमार्ग आसपासका बासिन्दा र यात्रुलाई सास्ती दिने गरी मुग्लिन–पोखरा खण्ड एकैपटक भत्काइएका छन् । राजमार्ग छेउछाउका डाँडा खारेर राजमार्ग फराकिलो बनाइँदैछ । आवश्यकता अनुसार राजमार्गको डिलमा पर्खाल उभ्याएर ढुङ्गा, माटो भरिँदैछ । जसले गर्दा सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्न पुगेको छ ।
निर्देशनले समाधान हुँदैन समस्या
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सडक विभागका महामनिर्देशक लगायतका टोली चैतमा सडक आयोजनाको अनुगमनमा निस्किए । यसअघि भौतिक पूर्वाधार मन्त्री रहँदा पनि श्रेष्ठ सडक आयोजनाको निरिक्षण गर्दै समयमै सक्न ‘निर्देशन’ जारी गरेका थिए ।
सडक आयोजना तोकिएकै समयमा पुरा गर्न समस्याको समाधान गर्ने भनेर फर्किएका उनीहरुले अहिलेसम्म कुनै समस्याको समाधान दिएका छैनन् । दुबै खण्ड सडक विस्तारको ठेक्का लिएका चिनिया कम्पनीले मन्त्रीहरुको लस्करले दिएको निर्देशनपछि पनि कामको गति बढाएका छैनन् । जसले गर्दा राजमार्ग आसपासका बासिन्दा र यात्रुलाई अझै केही बर्ष थप सास्ती बेहोर्नुपर्ने निश्चित देखिएको छ ।
मुग्लिनदेखि पोखरासम्म ८० किलोमिटर सडकलाई दुई खण्डमा विभक्त गरेर सरकारले ठेक्का दिएको छ । ठेक्का संझौता भएको झण्डै १ बर्षसम्म निर्माण कम्पनीले कामै शुरु गरेन ।
मुग्लिन पोखरा सडक आयोजना पूर्वी खण्डमा मुग्लिनदेखि जामुनेसम्म ४१ किलोमिटर सडकको ठेक्का चिनिया कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको छ । कम्पनीले उक्त खण्डमा ६ अर्ब २१ करोड रुपैया (मादी पुल बाहेक) ठेक्का पाएको छ ।
उक्त खण्डको मादी पुल बनाउन भने १ अर्ब २० करोडमा छुट्टै ठेक्का लगाएको मुग्लिन पोखरा सडक आयोजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले बताए । उनका अनुसार पुर्वी खण्डमा मात्र १८ वटा पुल निर्माण गर्नुपर्छ ।
सडक आयोजनाको ठेक्का संझौतामा उल्लेखित समयसिमा अनुसार पूर्वी खण्डमा मात्र हालसम्म ६० प्रतिशत काम सकिनुपर्ने सुवेदीले बताए । ठेकेदार कम्पनीको ढिलासुस्तीले हालसम्म बल्ल २५ प्रतिशत काम भएको उनले बताए ।
उनका अनुसार ठेकेदार कम्पनीले संझौता भएको लामो समयसम्म निर्माण थालेनन् । राजमार्गमा रहेका बिजुली पोल सार्न संझौता अनुसार कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई दिनुपर्ने रकम अहिलेसम्म दिएका छैनन् । जसले गर्दा सडक विस्तारमा ढिलाई भइरहेको सुवेदीले बताए ।
‘हामीले ठेकेदार कम्पनीलाई २ महिना अघि नै प्राधिकरणलाई संझौता अनुसार १८ करोड दिनु भनेर पत्र पठायौं, अहिलेसम्म दिएको छैन,’ उनले भने, ‘प्राधिकरणले पोल सार्ने काम त गरिरहेको छ नै, तर ठेकेदार कम्पनीले संझौता अनुसार काम गर्न आनाकानी गरिराखेको छ ।’
सडक विस्तार गर्न आवश्यक जग्गा नेपाल सरकारले उपलब्ध गराउनुपर्ने संझौतामा उल्लेख छ । यसको अर्थ राजमार्ग विस्तार हुने ठाउँमा पर्ने व्यक्तिको घर जग्गा सरकारले अधिग्रहण गरिदिनुपर्छ । घर भत्काउन दिनुपर्ने मुआब्जाको रकम पनि सरकारले पर्याप्त विनियोजन नगरेको सुवेदीले बताए ।
‘हाम्रो पूर्वी खण्डमा मात्र ५०५ वटा घर भत्काउनुपर्छ, अहिलेसम्म ३७५ घर भत्काइसकियो,’ उनले भने, ‘यो बर्ष मुआब्जाका लागि १० करोड विनियोजन भएको थियो, अझै ८ करोड आवश्यक पर्छ ।’
पूर्वी खण्डको ठेक्का पाएको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले २९७७ माघ १७ गते संझौता गरेर २०७८ बैशाख २ गतेदेखि काम थालेका थिए । उक्त खण्डको ठेक्का संझौता २०८१ बैशाखमा सकिन्छ । अहिलेकै गतिमा काम गर्दा अबको एक बर्षमा सडक आयोजनाको बाँकी काम पुरा गर्न नसकिने आयोजनाका पूर्वी खण्ड प्रमुख सुवेदीले बताए ।
राजमार्गको पश्चिम खण्ड जामुनेदेखि पोखरासम्मको सडक आयोजना भने पूर्वी खण्ड भन्दा सुस्त छ । ठेकेदार कम्पनीले संझौता भएको करिब ८ महिनापछि काम थाले पनि अझै गति लिन नसकेको पश्चिम खण्ड प्रमुख अमित श्रेष्ठले बताए । पूर्वी खण्ड भन्दा ६ महिना बढी समय रहेको पश्चिम खण्डमा हालसम्म जम्मा ६ प्रतिशत काम भएको छ । जबकी, ठेक्का संझौताको समयसिमा अनुसार हालसम्म १७ प्रतिशत काम सकिनुपर्ने श्रेष्ठले बताए ।
पश्चिम खण्डको ३८ किमी सडक विस्तारको ठेक्का पनि चिनिया कम्पनी एनहुई केयुयन हाइवे एण्ड ब्रिजले पाएको छ । कम्पनीसँग २०७८ जेठ ३ गते पश्चिम खण्ड विस्तार गर्न ७ अर्ब ४० करोड रुपैया (सेती पुलबाहेक) ठेक्का संझौता भएको थियो । सेती नदीमा हाल भएको पुल भन्दा माथि र तल २÷२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयामा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको श्रेष्ठले बताए । यी दुबै पुल आकर्षक सिग्नेचर पुल बन्ने उनले बताए ।
सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् ।
पूर्वी खण्डमा जस्तै पश्चिम खण्डमा पनि राजमार्ग विस्तार गर्न सडक पोल समयमा सार्न नसक्नु मुख्य कारण रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा खण्डमा छिटो काम गर्न दबाब परे पनि पोल र खानेपानीको पाइपका कारण काम थाल्न नसकेको श्रेष्ठले बताए ।
पश्चिम खण्डमा अहिले विजुलीका पोल सार्ने काम थालिएको छ । तर खानेपानी आयोजनाको पाइपलाइन सार्ने काम शुरु नै नभएको उनले बताए । पोखरा खण्डको खानेपानीको पाइप सार्ने जिम्ममा नेपाल खानेपानी संस्थानले लिएको छ । संस्थानले अहिलेसम्म पोखरा खण्डको पाइपलाइन सार्न टेण्डरसमेत आह्वान गरेको छैन ।
मुग्लिन–पोखरा सडक पश्चिम खण्ड प्रमुख श्रेष्ठका अनुसार उक्त खण्डमा पोखरासहित २७ वटा खानेपानी आयोजनाका पाइपलाइन पर्छन् । जसमा पोखरा खण्डकोल पाइपलाइन सार्न संस्थानले अझै १, २ महिनामा टेण्डर निकाल्ने जानकारी दिएको श्रेष्ठले बताए । यस्तै, अन्य २ वटा खानेपानी आयोजनाको पाइपलाइन सडक आयोजनाले नै टेण्डरमार्फत सार्ने योजना बनाएको छ भने २४ वटा खानेपानी आयोजना उपभोक्ता समितिमार्फत व्यवस्थापन गर्ने निर्णय गरेको छ । १ करोड भन्दा साना आयोजना उपभोक्ता समितिमार्फत गर्न सकिने भएकाले छिटो छरितो काम गर्न उक्त निर्णय गरेको श्रेष्ठले बताए ।
पश्चिम खण्डको सडक विस्तार ढिलाई हुनुमा पनि ठेकेदार कम्पनीले संझौता भएको ७, ८ महिनासम्म काम नथाल्नु मुख्य कारण रहेको उनले बताए । संझौता पश्चात नेपाल सरकारले परिवर्तन गरेको बिमा नीतिको कम्पनी विरोधमा उत्रिएको उनले बताए ।
‘ठेक्का संझौता भएपछि परिवर्तन भएको बिमा नीतिले ठेकेदार कम्पनीले बिमाबापत दोब्बर रकम तिर्नुपर्ने अवस्था आयो, यसको विपक्षमा कम्पनी लाग्दा ढिलाई भयो,’ उनले भने ।
कम्पनीले कोभिड–१९ लाई कारण देखाएर झण्डै ४ महिना काम गरेनन् । यसले पनि काम ढिलो हुन पुगेको उनले बताए ।
यता, नेपाल विद्युत प्राधिकरणका तनहुँ प्रमुख मेखराज जोशीले ठेकेदार कम्पनीले रकम प्रदान नगरेपनि पोल सार्ने काम भइरहेको बताए । उनका अनुसार मुग्लिनदेखि पोखरासम्म सडक विस्तार गर्दा २ हजार २०० पोल स्थानान्तरण गर्नुपर्छ । यसका लागि ९६ करोड खर्च हुने प्राधिकरणको स्टिमेट रहेको उनले बताए ।
‘सडक आयोजना र प्राधिकरणको संयुक्त लगानीमा विजुलीको पोल सार्ने संझौता छ, हामीले हाम्रो तर्फबाट पोल सारिरहेका छौं,’ उनले भने, ‘शुरुमा केही ढिलाई भयो, अहिले ठेकेदार कम्पनीले पैसा दिएन भनेर रोकेका छैनौं ।’
राजमार्ग फराकिलो बनाउने ठाउँमा पोल सार्न प्राधिकरणले चार वटा ठेक्का निकालेर संझौता गरिसकेको उनले बताए ।





