
पोखरा/ गौरी बसौलाको हत्याको आरोपमा उनकै श्रीमान पुर्पक्षका लागि कारागार चलान हुँदा वडासदस्यसहित तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय मातहातमा रहेको इलाका प्रहरी कार्यालय हंसपुर शिशुवाका प्रमुख डीएसपी प्रकाश दाहालको नेतृत्वले गरेको सुस्म अनुसन्धानबाट श्रीमान डोलराज बसौलाविरुद्ध बलियो प्रमाण पेश गरेपछि कास्की जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । यस्तै रुपा गाउँपालिका ५ का वडा सदस्य रामकृष्ण बसौला, सत्यनारायण घिमिरे र रामप्रसाद सुवेदी धरौटीमा छुटेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गौरीको परिवारले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दै जादाँ घटनाले नयाँ मोड लिएको थियो । ८ महिना लगाएर गरेको अनुसन्धानले घटनामा श्रीमानको संलग्नता देखिएको छ । यद्यपी श्रीमानले भने अझै हत्या गरेको स्वीकार गरेका छैनन् ।
पारिवारिक र आर्थिक कारणले हत्या भएको प्रमाण भेटिएको हो । सबै तरिकाले अनुसन्धान गर्दै जाँदा श्रीमान २० वर्ष वैदेशिक रोजगारमा कमाएको रकमको टुंगो नलागेको र विभिन्न व्यक्ति तथा वित्तीय संस्थाबाट ठूलो रकम ऋण निकालेको भेटिएपछि उनीहरुबीचको सम्बन्धमा फाटो आएको थियो । प्रारम्भिक अनुसन्धानले नै श्रीमानमाथि शंका गरिएपनि बलियो प्रमाण नपाउँदा छाडिएको थियो । प्रहरीले घटनालाई सानो बनाइ अनुसन्धान गर्दै जाँदा श्रीमानविरुद्ध प्रमाण बलियो हुन थालेको हो ।
‘हामीले अनुसन्धान गर्दै जादाँ समय लाग्यो । तर, सुरुमा शंका गरेका व्यक्तिनै यसमा संलग्न भएका प्रमाणहरु भेटिँदै जान थाल्यो । हामीले प्रतिवेदन जस्ताको तस्तै अदालतमा पेश गरेका छौं र अदालतले पनि उक्त प्रमाणलाई आधार मानेर पुर्पक्षका लागि पठाएको छ,’ स्रोतले बतायो । । गौरी हराएको दिनदेखि शव भेटिएको दिनसम्म श्रीमान पटक–पटक घटनास्थल पुगेका थिए । घटनास्थल डोलराजको पुरानो घर हो । सोही घरको छेउमा अर्को घर पनि थियो । जहाँ डोलराज आमासँगै बस्ने गर्दथे । उनी हराएको दिनदेखि डोलराज वेंसी झरेका थिए । त्यसको एकदुई दिनमा आमालाई समेत लेखनाथ खुदीमा ल्याएका थिए ।
प्रहरीका अनुसार डोलराजसहित अन्य तीन जनालाई घटनाबारेमा थाहा थियो । डोलराजलाई उनका आफन्तले साथ दिनका लागि प्रमाण नष्ट गर्ने काम समेत गरेका थिए । प्रमाण नष्टसँगै उनीहरुलेनै प्रहरीलाई शवको बारेमा जानकारी दिएका थिए । शव भेटिएको दिन वडा सदस्य रामकृष्णले ताला फुटाएको बताए पनि ताला खोलिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
‘सुरुदेखि नै हामीले शंकाको दायरामा राखेका थियौ । किनभने घटनास्थलमा ताला फुटाइएको भनिएको थियो । ताला फुटेको थिएन । ताला उप्किएको थियो । मान्छे झुन्डिएको भनियो तर त्यहाँ झुन्डिएको पनि थिएन । धेरै कुरा थियो,’ स्रोतले बतायो ।, ‘२६ गते हराएको छ । ८ गते शव फेला पर्यो । १ गतेदेखी नै गन्ध आएको थियो र त्यो गन्ध आएको कुरा चाहिँ प्रतिवादीहरुलाई थाहा थियो । डोलराजलाई पनि मज्जाले थाहा थियो । घटना घटेको ठाउँमा पनि धेरैपटक हेर्न जानुभएको छ । मान्छे हराएदेखि लास फेला नपरुन्जेल भिजिट पनि गरिरहनुभएको छ ।’ उक्त घटनालाई लुकाउन आत्महत्या देखाउने प्रयास गरिए पनि विफल भएका छन् । गौरी साउन २६ गते बेलुका घाँस काट्न हिँडेकी थिइन् ।
सोही दिनदेखी उनी सम्पर्कविहीन भएकी थिइन् । उनको शव भेटिएको स्थानमा तीन घरमात्रै छन् । ३ मध्ये २ घरमा परिवार बस्दै आएका थिए । जसमध्ये एक परिवार गौरीकै श्रीमानको हो । अर्को घरमा बुद्धिमान परियारको परिवार बस्छन् । गौरीको परिवारले त्यही घरको मुनि बाख्रा पालेका थिए ।
कोहीपनि नबस्ने पुरानो घरमा कुहिएर किरा परेको अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो । बाहिरबाट ताल्चा लगाएको घरको आँटीमा उनको शव भेटिएको थियो । घटनास्थलमा नाम्लो,आँसी, गिलासमा पानी भेटिएको थियो । आटीमा रहेको काठमा सल बाधिएको थियो । गौरी वर्षौंदेखि खुदीमै बस्दै आएकी थिइन् । खुदीबाट पुरानो घर करिब १० किलोमिटरभन्दा बढीको दूरीमा छ ।





