पोखरा/ गण्डकीको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले सपथ लिएका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुधबार उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । आइतबारको मन्त्रिपरिषद बैठकले देवकोटालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
देवकोटा नेपाली कांग्रेसको कोटामा आयोगको उपाध्यक्ष बनेका हुन् । यसअघि माओवादीको सिफारिसमा सदस्य बनेका डा. सुवास अधिकारी सदस्यको रुपमा दोहोरिने निश्चितजस्तै छ भने अर्का सदस्य को हुने भन्ने निक्र्योल भएको छैन ।
उपाध्यक्ष देवकोटाले प्रदेशको पूर्वाधार र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । गोरखाको पालुङटार नगरपालिका ३ का स्थायी बासिन्दा देवकोटाले यहाँको भूगोल र आवश्यकता बुझेको पनि बताए ।
दक्षिण कोरियाबाट २०६७ सालमा पिएचडी गरेका देवकोटाले कोरियामा नै विपद् व्यवस्थापनका क्षेत्रमा २ वर्ष काम गरेका छन् ।
आयोगले वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन, (४) प्रदेशको समग्र स्रोतको प्रक्षेपण गरी प्राथमिकताका आधारमा क्षेत्रगत सन्तुलन मिलाई विषयगत मन्त्रालयलाई बजेटको स्रोत सीमाको आँकलन गर्ने, प्रदेशको विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको कार्यान्वयन, प्रतिफल तथा प्रभावको विश्वसनीय र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गर्ने तथा त्यसलाई प्रदेश सरकारका विभिन्न निकायहरूमा लागू गरी संस्थागत गराउने लगायतका क्षेत्रमा काम गर्छ ।





