पोखरा/ पोखरामा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै अखिल क्रान्तिकारीका विद्यार्थी संगठनले कृषि अनुसन्धान निर्देशनालय लुम्लेको गाडी नियन्त्रण लिएका छन् । निर्देशनालयका निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले गण्डकी बीएबी ७४३८ नम्बरको स्कोरपियो विवाहमा प्रयोग गरेपछि विद्यार्थीहरुले चाबी थुतेर प्रहरीलाई बुझाएका हुन् । निर्देशक उपाध्याय पोखरा २५ हेम्जामा आयोजितएक विवाहमा समारोहमा सो गाडी लिएर पुगेका थिए । उनीसँगै कर्मचारी श्यामप्रसाद पौडेलसमेत विवाहमा सहभागी भएका थिए ।
अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सुमन सुवेदीले सरकारी गाडीको दुरुपयोग गरेका कारण नियन्त्रणमा लिएर प्रहरीलाई चाबी बुझाएको जिकिर गरे । क्रान्तिकारीका केन्द्रीय सदस्य सुजन सापकोटाले भ्रष्ट आचरण जति सबै भ्रष्टचार भएको बताए । विवाहकै लागि सरकारी गाडी प्रयोग गर्न नहुने उनको भनाइ थियो ।
उता निर्देशक उपाध्यायले भने बाटो परेका कारण विवाहमा पसेको बताए । तर, सोही कार्यालयका एक कर्मचारीले भने उनीहरु विवाहकै लागि आएको बताए । निर्देशक उपाध्यायले भने गल्ती स्वीकार गर्दै एक पटकलाई छाडिदिन आग्रह गरेका थिए । तर, विद्यार्थी संगठनले भने ट्राफिक नियमअनुसार कारवाहि गर्नका लागि प्रहरीलाई बुझाएको हो ।





