मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

तनहुँको एउटै क्षेत्र दुई अर्थमन्त्री

तनहुँको एउटै क्षेत्र दुई अर्थमन्त्री

मन्त्रिपरिषद पूर्ण, बनेनन राज्यमन्त्री


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८०, शनिबार

पोखरा, ३० बैशाख– सम्भावित अनेकौं आकांक्षीको नामबिच खासै चर्चा नगरिएका जीतप्रकाश आले गण्डकीको अर्थमन्त्री बनेका छन । सांसद भएका कारण मन्त्रीका लागि सम्भावना हुनुबाहेक गुटगत रुपमा वा चर्चाका रुपमा पनि उनको नाम खासै दोहोरिएको थिएन ।
तर, प्रदेश प्रमुखको निवासमा शुक्रबार अपरान्ह चारबजे नयाँ मन्त्रीहरुले सपथ लिँदा उक्त लहरमा जीतप्रकाश पनि थिए । कार्यविभाजन हुँदाचाहिँ उनी मन्त्रीबाट अर्थमन्त्री बने ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ । आउँदो वर्ष २०८०÷०८१ को बजेट अब उनै आले नेतृत्वको आर्थिक मामिला मन्त्रालयले तयार गर्नेछ । चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याएपछि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारको बदनामी नै हुन पुग्यो । मुख्यमन्त्री र अर्थमन्त्री फरक दल भएका कारण बजेटमाथि सुरुवाती छलफल नै हुन सकेन ।
विवाद साम्य नहुने देखिएपछि प्रदेशको बजेटको विषयलाई अन्तिममा खुमलटार र बालुवाटारले हस्तक्षेप गरी सल्टाउनु परेको थियो । अर्थ मन्त्री र मुख्यमन्त्री फरक दलको हुँदा र स्वार्थ नमिल्दा सरकारको बदनामी देखेरै यसपटक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थमन्त्रीको रुपमा कांग्रेसबाटै आलेलाई नियुक्त गरेका छन ।
उसो त, जीतप्रकाश आले सहजै मन्त्री भने बनेका होइनन, मुख्यमन्त्री पाण्डेले पनि अनेकौँ आकांक्षीको दबाब तथा केन्द्रिय गठबन्धनका कारण मन्त्रिपरिषद दुई सातासम्म विस्तार गर्न सकेनन । पछिल्लो समय चाहिँ नेकपा एकीकृत समाजवादीलाई गण्डकी सरकारमा सामेल गराउने वा नगराउने भन्ने विषयले मन्त्रिपरिषद विस्तारमा विलम्व हुन पुगेको थियो । गण्डकीमा नेकपा एसका राजीव गुरुङ (दीपक मनाङे) मात्रै सांसद छन । मनाङे पनि आफू निर्विरोध भइसकेपछि मन्त्री बन्नको लागि भनेर नै गठबन्धनमा सहभागी दल नेकपा एसमा प्रवेश गरेका हुन् ।
नेकपा एसमा गएपछि मन्त्री बन्नकै लागि उनले केन्द्रिय नेताहरुबाट दबाब पनि नदिएका होइनन । तर, कर्णाली सरकारमा पनि नपरेको नेकपा एस गण्डकीमा पनि सामेल हुन सकेन । गठबन्धनकै कारण नेकपा एसबाट मन्त्री बनाउनुपरेको खण्डमा बरु गैर सांसदलाई ६ महिना मन्त्री बनाउनुपर्ने तर मनाङेलाई कुनै पनि हालतमा मन्त्री बनाउन नहुने मत गठबन्धनमा आबद्ध दलहरुभित्रै थियो । कांग्रेसकै सांसदहरुले मनाङेलाई मन्त्री बनाउनुको सट्टा गैरसांसदलाई नै मन्त्री बनाउने सुझाव मुख्यमन्त्रीलाई दिएका थिए ।मनाङेलाई फेरि मन्त्री बनाउँदा सरकारको आलोचना हुने र मनाङे नभएको खण्डमा आफू मन्त्री बन्न सकिन्छ कि भन्ने आशमा कांग्रेसका सांसदहरु थिए ।
भयो पनि त्यस्तै, मनाङे मन्त्रीको सूचीमा थिएनन । कांग्रेसबाट यस अगाडि नै सरस्वती अर्याल तिवारी मन्त्री बनिसकेकी थिइन । भूगोलका हिसाबले नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापा मन्त्री बन्ने निश्चित जस्तै थियो ।मनाङे मन्त्रिपरिषदमा सामेल नहुने निश्चित भएपछि कांग्रेसबाट अर्को मन्त्री को बन्ला भन्ने कौतुहलता कायमै थियो । मुख्यमन्त्री पाण्डेले पनि प्रदेश प्रमुखकोमा नाम उल्लेख नगरि सपथको लागि समय मागिएको पत्र पठाएका थिए ।त्यसको अर्थ, थपिने मन्त्रीको नाम मुख्यमन्त्रीको कोटको खल्तीमा थियो । त्यही नाम सपथमा र कार्यविभाजनमा आर्थिक मामिला मन्त्री भनेर उच्चारण हुँदा उनै आलेको नाम थियो ।
आले अर्थमन्त्री हुँदा स्वयं कांग्रेसकै सांसदहरु समेत आश्चर्यमा परेका थिए ।‘जीतप्रकाश आलेको १ बजेपछि भाग्य खुल्यो । समाजवादीले नपाएपछि वरिष्ठताका आधारमा उनी मन्त्री बने । अर्थशास्त्रमा एमए गरेका कारण अर्थमन्त्री बने,’ गण्डकी कांग्रेसका एक पदाधिकारीले भने ।
तर, अर्थमन्त्री नै बनेको खण्डमा पनि लमजुङका टकराज गुरुङको नाम सबैभन्दा अगाडि थियो । मन्त्रीका लागि लबिइङ गर्न काठमाडौं पुगेर शीर्ष नेतालाई भेटेको टोलीले नै गुरुङ अर्थमन्त्री बन्नेमा ढुक्क बनेका थिए । अर्कातर्फ, गुरुङ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निकट थिए । समूह मिलाउँदा पनि गुरुङ मन्त्री बन्ने चर्चा निकै चल्यो ।
‘विभिन्न कारणहरु हुन्छन, सिनियर जुनियरको कुरा हुन्छ, कांग्रेसका सांसदहरु मध्येमा सिनियर नेतामै पर्छन, अर्को कुरा उनी तनहुँका जिल्ला सभापति पनि हुन, तनहुँकै नेताहरुको लबिइङले पनि काम गरे होला,’ ती पदाधिकारीले भने ।
आलेको राजनीतिक पृष्ठभूमि भने निकै लामो छ । उनका पिता पदमबहादुर आले २०१५ मा नेपाली कांग्रेसबाट क्षेत्र नं. १०२ को सांसद बनेका थिए । २०१५ सालको आम निर्वाचन हुनुभन्दा अगाडि बीपी कोइराला यस क्षेत्रमा संसदको टिकट वितरण गर्ने सिलसिलामा कास्कीको कन्दनीडाँडा आइुपगेका थिए ।
दुई रात बसेर कास्की, लमजुङ, तनहुँका सांसद उम्मेदवार छनोट भए । क्षेत्र नं. १०२ मा भने प्रजातन्त्र सेनानी रसमोहन भट्टराइले पनि दाबी गरे । तर, बीपी कोइरालाले जनजातिलाई पनि स्थान दिनुपर्छ भन्दै भट्टराइको सट्टा पदमबहादुरलाई टिकट दिए ।
२०१५ को उक्त निर्वाचनमा सुवर्णशमशेर पछि सबैभन्दा बढी मत ल्याएर पदमबहादुर आले विजयी भएका थिए ।
उनै आलेका छोरा जीतप्रकाश अहिले गण्डकीको अर्थमन्त्री बनेका छन । अर्थमन्त्री बन्नुमा उनलाई कुनै गुटमा खुलेर नलाग्नुले पनि फाइदा पु¥यायो । कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसमा लागेका आले पार्टी एक भएपछि भने रामचन्द्र पौडेल निकट मानिन्थे तर अहिले भने उनी तनहुँकै कांग्रेस नेता तथा सांसद शंकर भण्डारीको निकट छन । ‘अन्तिम अवस्थामा भने उनी पौडेलको पक्षमा खुल्थे अहिले शंकर भण्डारीको निकट छन्,’ उनी निकट एक कांग्रेस नेताले भने ।
लामो समय राजनीतिमा आबद्ध भएतापनि आलेले पहिलोपटक संसदीय निर्वाचनको टिकट पाएका हुन । निकटस्थका अनुसार गत मंसिरको चुनाव लड्न पनि आले इच्छुक थिएनन ।‘प्रदेश चुनाव लड्दै लड्दिन भनेका थिए, पार्टी सभापति शेरबहादुर देउवाले जबजस्र्ती टिकट दिएपछि चुनाव लडेका हुन्,’ उनले भने । चुनाव जितिसकेपछि वरिष्ठताको आधारमा, शंकर भण्डारी लगायतका नेताहरुको साथ तथा संसदीय दलमा स्वयं मुख्यमन्त्री पाण्डेलाई समर्थन गरेका कारण आले मन्त्री नियुक्त हुँदै गण्डकीको अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका छन ।

मन्त्रिपरिषद पूर्ण, बनेनन राज्यमन्त्री
शुक्रबार मन्त्रिपरिषद विस्तार हुने र त्यसलाई पूर्णता दिनेगरि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तयारी गरिरहँदा मन्त्रीका आकांक्षी सांसदहरु भने काठमाडौंमा नै थिए । शीर्ष नेतृत्वलाई भेट्ने र आफू मन्त्री बन्ने अभिलाषा लिएर कांग्रेसका सांसदहरु सामूहिक तथा व्यक्तिगत रुपमा काठमाडौं धाइरहेका थिए ।
खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालयको संख्या १२ बाट घटाएर ७ मा झारिदिएका थिए । मन्त्रालय तत्कालै बढाउँदा सरकारको आलोचना हुने बुझेर नै मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या नबढ्ने बताउँदै आएका थिए । तर, राज्यमन्त्री थप्ने विषयमा भने उनले प्रष्ट जवाफ दिएका थिएनन । मन्त्री बन्न नपाएर असन्तुष्ट बनेका तथा मन्त्रालयको कम संख्याका कारण मन्त्रिपरिषदमा अट्न नसक्ने सांसदलाई राज्यमन्त्री दिने तयारी पनि थियो ।
‘मलाई बिहान राज्यमन्त्री बस्नुप¥यो भन्दै फोन आएको थियो, तर मैले हुँदैन भनिदिएँ,’ मन्त्रीका आकांक्षी एक सांसदले भने ।
राज्यमन्त्री बस्न सांसदहरुले अस्विकार गरेपछि शुक्रबार गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको छ । शुक्रबार चारजना नयाँ मन्त्रीले सपथ लिए भने यसअगावै सपथ लिइसकेका मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ ।
शुक्रबार अपरान्ह ४ बजे प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले मगरलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका हुन् ।
जसमा जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आले मगरलाई आर्थिक मामिला मन्त्रालय र जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात्र व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि बैशाख १५ मा शपथ लिएका दुई मन्त्री सुशिला सिंखडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र सरस्वती अर्याललाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसमा मन्त्रीको आकांक्षी धेरैभएपछि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको थिएन । अन्तत दुई हप्तापछि मुख्यमन्त्री पाण्डेले मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->