मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जेब्राक्रसमै पैदलयात्रीलाई क्रेनको ठक्कर

जेब्राक्रसमै पैदलयात्रीलाई क्रेनको ठक्कर

घाइतेको निधन, प्रहरी र आफन्तबीच झडप


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८०, शनिबार

पोखरा, ३० बैशाख– पोखरा महानगरपालिका ५ मालेपाटन जेब्राक्रसबाट बाटो काट्ने क्रममा क्रेनले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो नेपाल विद्युत प्राधिकरण अगाडिको जेब्राक्रसबाट एकापट्टिको सडक पार गरिसकेको अवस्थामा क्रेनले ठक्कर दिँदा कास्की माछापुच्छे गाउँपालिका वडा ४ लाहाचोककी ३८ बर्षिय धना अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
मृत्युपछि आफ्न्तले करिब ३ घण्टा पृथ्वीचोकदेखि महेन्द्रपुल आउने सडक अवरोध गरेका छन् । आफन्त र सम्बन्धित सवारी धनीबीच एक होटलमा वार्ता बस्ने क्रममा प्रहरी र आफन्तबीच झडप समेत भएको थियो । होटलमा बैठकमा चलिरहेको अवस्थामा अधिकारीको मृत्यु भएपछि सवारी चालकसहित एकलाई बैठकमै पुगेर नियन्त्रणमा लिने प्रयास गर्दा झडपको भएको हो । झडपमा परी करिब आधा दर्जन स्थानीय घाइते भएका छन् ।

प्रहरीले लाठी प्रहार गरेपछि झडप भएको हो । झडपपश्चात दिनभरजसो उक्त सडक बन्द भएको थियो ।
अस्थाइ ट्राफिक प्रहरी पोष्टका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक प्रविन आचार्यका अनुसार बागलुङ वसपार्कदेखि जिरोकिलो मिटरतर्फ आउँदै गरेको क्रेनले ठक्कर दिएको हो । जेब्राक्रसबाट एकतर्फको सडक पार गरिसकेको अवस्थामा क्रेनले ठक्कर दिएको उनले सुनाए । उनका अनुसार क्रेनकै ठक्करबाट मृत्यु भएको यो जिल्लाकै पहिलो घटना समेत हो । ट्राफिक सप्ताह कार्यक्रम चल्दै गर्दा दुर्घटना हुनु दुःखद् कुरा रहेको उनले बताए ।

ट्राफिक प्रहरीले अझै सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी ज्ञान दिन नसकेको पनि उनले स्वीकारे । ‘यो राजमार्ग क्षेत्र हो । यहाँ धेरै दुर्घटना हुने गरेका छन् । सडक फराकिलो भएकालेपनि यहाँ सडक तीव्र गतिमा चलाउने गरिन्छ,’उनले भने,‘यो स्थानमा यहाँको वडासँग समन्वय गरेर हामीले दुर्घटना न्यूनीकरणसम्बन्धी धेरै कार्यक्रम पनि गरेका छौं तर पनि दुर्घटना भइरहेको छ ।’ दुर्घटनाको कारण सवारी चालकको लापरवाही रहेको उनको भनाइ छ ।

वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पनि उक्त स्थानमा दुर्घटना बढ्दो क्रममा रहेको बताए । उनले वडाकै पहलमा विभिन्न चरणमा दुर्घटना न्यूनीकरणसम्बन्धी काम गरिरहे पनि अझै रोकथाम गर्न नसकेको बताए ।‘यो राजममार्गमा हामीले विभिन्न चरणमा काम गरेपनि दुर्घटना भइरहेका छन् । दुर्घटना न्यूनीकरण गर्न सकिरहेका छैनन् ।

यो पोखराकै चुनौती हो,’ उनले भने,‘केही हप्ताअघि पनि महेन्द्रपुलमा पनि दुर्घटना भएको थियो । यो राजमार्गमा जेब्राक्रस राख्ने, हिलट्यांक राख्ने, लाइटहरु राख्ने काम पनि भइराखेको छ तर पनि रोकिएको छैन ।’ घटनापश्चात प्रहरीले ग १ क ५८०५ नम्बरको क्रेन र चालक अजय चौधरीलाई नियन्त्रणमा लिएको छ । जेब्राक्रस भनेको पैदल यात्रीलाई बाटो काट्ने ठाउँ हो । चालकहरुले जेब्राक्रसमा यात्री देखेपछि अनिवार्य रोक्नुपर्छ । जेब्राक्रसमा ठक्कर दिनु ज्यान मार्ने अपराध हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->