काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई आफूखुशी संघीयताविरोधी धारणा नराख्न चेतावनी दिएका छन् ।
केन्द्रिय कमिटीको बैठक चलिरहेका बेला नेताहरु गोकुल बाँस्कोटा, महेश बस्नेत, निरु पाल र ऐन महरले ‘प्रदेश संरचना खारेज’ को विषयलाई मास–मिडियामा जोडतोडले उठाएपछि ओलीले धेरै जान्ने नबन्न चेतावनी दिएका हुन्।
केन्द्रीय कमिटी बैठक चलिरहेको बेलामा संघीयताविरुद्ध मिडियाबाजी गरेर पार्टी शीर्ष नेतृत्वभन्दा ‘धेरै जान्ने’ नबन्न उनले नेताहरुलाई आग्रह गरे ।
‘मिडिया प्रचारमा रमाउँदै नहिँडौं । संघीयताविरोधी धारणा राख्नुपर्ने कुनै कारण छैन । समाचार बनाइदिन्छन्, भाइरल भइन्छ भन्दैमा जेपनि बोल्दै हिँड्ने ?’ अध्यक्ष ओलीले वैठकमा निर्देशनात्मक रुपमा भने ।
अध्यक्ष ओलीले पार्टीको निर्णयविपरित आफूखुशी बोल्दै नहिँड्नु भन्दै भने, ‘घोडाभन्दा बग्गी अघि भए घोडा दौडिन सक्दैन । त्यसैले घोडाअघि बग्गी पछाडि हुनुपर्छ ।’
अध्यक्ष ओलीले यसो भन्दै गर्दा आफुलाई अध्यक्षको मान्छे भन्दै संघियता खारेजीको विषय उठाउने नेताहरुको अनुहार हेर्नलायक भएको वैठकमा सहभागी नेताले वताए ।





