पोखरामा शनिबारको मौसम धमिलो थियो । शनिबार राति मुसलधारे असिनापानी प¥यो । तर, आइतबार पनि पोखराको मौसम खराब नै रह्यो । दुई पांग्रे सवारी चलाउँदा वा हिँड्दा धुवाँले आँखा पोल्छ । विगत केही महिनायता पोखराको मौसम यस्तै छ । आइतबार पोखराको वायु अस्वस्थ रह्यो । जुन दीर्घरोगीका लागि खतरा मानिन्छ । पछिल्लो समय पोखराको वायु प्रदुषण सर्वाधिकसम्म पुगेको छ ।
शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा आउजाउ गर्ने सार्वजानिक सवारीको यान्त्रिक परीक्षण गर्यो । डिजेलबाट चल्ने सार्वजानिक यातायत परीक्षणको क्रममा एक प्रतिशतमात्रै सवारी पास भए । अन्य सबै फेल । ट्राफिक सप्ताहको अवसरमा गरिएको सवारीको यान्त्रिक परीक्षणका दौरान सवारीमा व्यापक खराबी देखिएको हो ।
यातायात व्यवस्था कार्यालय पोखराका मेकानिकल इन्जिनियर नवीन पौडेलका अनुसार सवारीमा खराबी देखिँदा दुर्घटनाका साथै आम नागरिकको स्वास्थ्यमा समेत ठूलो असर परिरहेको छ । सवारी परीक्षण गरेका उनले आफूले चेकजाँच गर्दा एकादुईबाहेक सबैमा खराबी देखेको बताए । उनले गाडीको ओपासिटी परीक्षण गरेको सुनाए । ओपासिटी भनेको गाडीको धुँवामा हुने कालो मात्रा हो । गाडीको आयू,इन्धन वा अवस्थाले ओपासिटी निर्धारण हुन्छ । ‘धुँवा कति प्रदुषित भन्ने कुराको परीक्षण हुन्छ । ३० प्रतिशत भन्दामाथि गयो भने त्यो फेल हुन्छ, त्यो भन्दा तल भयो भने पास हुन्छ,’ उनले भने,‘सवारीले धेरै कालो धुँवा फाल्दा वायु प्रदुषणपनि व्यापक हुन्छ । सवारीको कन्डिसन पनि ठीक छैन र इन्जिनमा पनि खराबी भन्ने बुझ्नुपर्छ नियमित रुपमा जाँच गरे समस्या आउँदैन् ।’
अधिकतम ठूला गाडीमा तेल राम्रो नहाल्नु, समयमा सर्भिसिङ नगर्ने र एयरफिल्टर समयमा परिवर्तन नगर्दा खराबी देखिएको उनको भनाइ रहेको छ । थोरै सवारी जाँचकै क्रममा त्यतिधेरै सवारी बिग्रिएको देख्दा अचम्म लागेको उनले सुनाए । उनका अनुसार पोखरामा चल्ने अधिकांश सवारी जाँच गरेमा फेल हुन्छन् । पोखरामा डिजेल सवारी र पेट्रोल सवारी जाँच गर्ने मेसिनको अभाव रहेको छ । यातायात कार्यालयमा सेवाग्राहीले निवेदन दिएको खण्डमा मात्रै सवारी परीक्षण गर्दै आइरहेको छ । पोखरालाई स्वच्छ राख्दै यात्रुको सुरक्षा गर्ने हो भने सवारी जाँच गर्ने स्थान र मेसिन थप गर्नुपने अवस्था रहेको उनले बताए ।
पोखरामा वायु प्रदुषण बढ्नुमा सवारी साधनको पनि दोष रहेको उनको जिकिर छ । ‘प्रदुषणको कारण सवारीको धुँवा पनि हो ।कालो धुँवा फाल्दा नाइट्रस अक्साइड, कार्बनमोनो अक्साइड, हाइड्रोकार्वन जस्ता ग्यास निस्कन्छन्,’ उनले भने,‘ ‘यो मानव स्वास्थ्यसँग जोडिएको विषय पनि हो । मानिसको स्वास प्रस्वास, फोक्सो, मुटुमा समस्या आउँछ । त्यो मात्रै होइन सवारी दुर्घटना हुने सम्भावना प्रवल रहन्छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकले शनिबार २५ सवारीको यान्त्रिक परीक्षण गर्दा ३ वटामात्रै पास भएको सुनाए । उनले २२ सवारीसाधनमा खराबी देखिएको बताए । सडकमा सवारी चलिसकेपछि त्यसले पार्ने असर र दुर्घटना न्यूनीकरणलाई यो जाँच आवश्यक रहेको पाठकले बताए । ‘यान्त्रिक परीक्षण गर्दा सबैजसो साधनमा समस्या देखियो ।
सवारी धनीले समयमा सवारी मर्मत गर्नुपर्ने स्थिति देखियो । यसका लागि हामी उहाँहरुसँग समन्वय गर्नेछौँ,’उनले भने,‘सवारी खराबी भएमा दुर्घटना जोखिम बढ्ने देखिन्छ । जोखिम न्यूनीकरणका लागि सवारीको कन्डिसन राम्रो हुनुपर्दछ ।’
क्लिन इनर्जी नेपाल र त्रिभुवन विश्वविद्यालय सहकार्यमा पोखराको चार ठाउँमा टिएसआई नामक यन्त्र राखिएको छ । जसले हावामा धुलोको कणको मात्रा मापन गर्दछ । इन्डेक्सअनुसार ० देखि ५० सम्मलाई राम्रो, ५१ देखि १ सयसम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहलाई अस्वस्थ, १५१ देखि २ सयसम्म अस्वस्थ, २०१ देखि ३ सयसम्म धेरै अस्वस्थ र ३०१ देखि ५ सयसम्म खतरा मानिन्छ । पोखरामा दुई महिनाअघि वायु प्रद्ुषण मापन गर्दा ३५१ सम्म पुगेको थियो, जुन अति खतरा हो । पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, लेकसाइड, नयाँबजार र सराङकोटमा वायु प्रदुषण मापनयन्त्र राखिएको छ । जसले हरेक दिन वायु प्रदुषण मापन गर्ने गर्दछ । कुँवरका अनुसार बढी सवारी चाप भएको स्थानमा प्रदुषण बढी देखिएको छ ।
सवारीबाट निस्कने रसायन ग्यासले वातावरणमा प्रत्यक्ष असर गर्दा अम्लीय वर्षा समेत हुने गर्दछ । अम्लीय वर्षाको जटिल कारण वायु प्रदुषण हो । जसमध्ये सवारी साधनको प्रयोग गर्दा निस्किने रसायनहरु र हानिकारक ग्यासहरु निस्किन्छ । जुन ग्यास वायुमण्डलमा बालदमा भएका पानीका ससाना थोपाहरुसँग रासायनिक प्रतिक्रिया गरेर सल्फ्युरिक एसिड र नाइट्रीक एसिड बनाउने गर्दछ । उक्त बादलबाट वर्षिने पानी कमजोर अम्ल (एसिड) भएर धुलो वा धमिलो थोपाका रुपमा वर्षिन्छन् जसले मानव स्वस्थ्य र प्रकृतिलाई समेत असर गरिरहेको छ ।





