पोखरा/ राजाको हिउँदे दरबारको रुपमा परिचित पोखरा ६ लेकसाइडमा रहेको रत्नमन्दिर गणतन्त्र दिवसका दिने खोल्ने तयारी चलिरहेको छ । यतिबेला नेपाल ट्रष्टको कार्यालयले उक्त मन्दिर खुल्ला गर्ने निर्णय गरिएको छ । गणतन्त्र दिवसमा खुला गर्ने निर्णयसँगै दरबारको रंगरोगन व्यवस्थापन पक्षमा धमाधम काम गरिरहेको छ ।
नेपाली राजाको इतिहासँग जोडिएको रत्नमन्दिर खुलाउन विगतदेखि नै प्रयास भएपनि विफल हुँदै आइरहेको थियो । तर, आगामी गणतन्त्र दिवसका दिनदेखि उत्तमन्दिर खुल्ला गर्ने तयारी भएको नेपाल ट्रष्ट बोर्ड सदस्य यामजोङ शेर्पाले बताइन् ।
उनले गणतन्त्र दिवसका दिन मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्ने जानकारी दिइन् । ‘यहाँ बढी झकिझकाउ खतरा भन्ने केही पनि छैन् । यो एक इतिहास हो । यसलाई जस्तो छ त्यसतै देखाउने छौँ,’ उनले भनिन्, ‘व्यवस्थापनका पाटाहरु धेरै छन् । धेरै आकांक्षा कसैले पनि नराखौं । लामो समयसम्म बन्द भएको रत्नमन्दिर अब खुल्ने छ ।’
पटक पटक ढाटेजस्तो भएपनि अब भने पक्कै खुल्ला हुने उनले बताइन् । मन्दिर खुल्ला गर्न गहन निर्णयसँगै कार्याविधिको काम सम्पन्न भएको उनले सुनाइन् । सुरक्षाका विषयमा समेत सबै व्यवस्था मिलाउने उनको भनाइ छ । सर्वसाधरणलाई टिकट काटेर प्रवेश गराइने भए पनि गणतन्त्र दिवसका दिन निशुल्क प्रवेश दिइने उनले जानकारी दिइन् ।
मन्दिर परिसरमा १७४ रोपनी जग्गा रहेको छ । हालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको प्रयासमा दरबार खोल्न लागिएको उनको भनाइ छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले रत्नमन्दिर खुल्ने कुराले पर्यटनी व्यवसायी निकै खुसी भएको बताए । पोखरा पर्यटन परिषद्का महासचिव संजयकान्त सिग्देलले रत्नमन्दिर महेन्द्र राजाको प्रेमको प्रतिक रहेको बताए ।





