मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

‘रत्नमन्दिर’ अब जनताको

‘रत्नमन्दिर’ अब जनताको

ज्ञानेन्द्रले दरबार हत्याकाण्ड हुँदा तत्कालीन राजा ज्ञानेन्द्र रत्नमन्दिरमै थिए ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८०, सोमबार

पोखरा/ पोखराको शहीदचोकबाट अगाडि बढेर वडा प्रहरी कार्यालय बैदाम हुँदै लेकसाइड जाने क्रममा बाटोको छेउमा लामा पर्खाल दुई ठाउँमा देख्न सकिन्छ । सडकको बायाँतर्फ र तालको किनारभन्दा थोरै त्यो पर्खालको बीचमा के होला भन्ने जिज्ञासा र चासो प्रायः मान्छेमा देखिन्छ, चाहे ती नेपाली हुन वा विदेशी पर्यटक ।

बाराही घाटको डुँगा चढ्ने ठाउँ भन्दा थोरै माथि त्यो पर्खालमा नेपाली सेना हरबखत तैनाथ हुन्छ । राज्यको सघन सुरक्षा र अग्ला पर्खालले त्यहाँभित्रको रहस्य के रहेछ भन्ने कौतुहलता झनै बढाइदिन्छ । त्यही कौतुहलता, जिज्ञासा र वर्षौँदेखि नखोलिएका ढोका भित्र एउटा शासकीय व्यवस्थाको अन्त्य भएका रहस्यहरु लुकेका छन, भने देश लोकतान्त्रिक गणतान्त्रिक युगमा प्रवेश गरेको सन्देश पनि फिँजिएका छन ।शाहवंशको उत्थान पतनको साक्षी बनेको त्यो रहस्यको नाम हो, ‘रत्न मन्दिर ।’

शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाह आफू राजा हुुनुपूर्वको ३ दिन पहिलो पोखरामा थिए । पोखरामा तत्कालीन राजा महेन्द्रले आफ्नी श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा बनाएको रत्नमन्दिरमा ज्ञानेन्द्रले रात बिताउँदा त्योबेलाको समयले २०५८ जेठ १९ लाई स्मरण गराउँछ । जुन दिन, तत्कालीन राजा विरेन्द्रको ‘दरबार हत्याकाण्ड’ मा वंशनाश भयो । विरेन्द्रका जेठा छोरा दीपेन्द्रलाई अचेत अवस्थामै राजा घोषणा गरियो । तर, विरेन्द्रको वंश बचेन ।

त्यसको तीन दिनपछि ज्ञानेन्द्रले राज्यारोहण गरे र शाहवंशको अन्तिम राजाको रुपमा नाम लेखाए । राजा हुनुपूर्व रत्नमन्दिरमा रात कटाएका ज्ञानेन्द्र अन्तिममा भने नारायणहिटीबाट बाहिरिए ।दरबार हत्याकाण्ड र शाही शासनको अन्त्य हुँदै गर्दा पोखराको फेवाताल किनारको रत्नमन्दिर जहिले चर्चामा आइरहन्छ । शाही शासनको समाप्तिपछि राजपरिवारको जग्गा नेपाल ट्रष्टमा गयो । नारायणहिटी सर्वसाधारणको लागि खुला भयो ।

अहिले नारायणहिटी संग्रहालय बनेको छ ।तर, राजपरिवारले विहार गर्न आउने पोखराको रत्नमन्दिर भने अझै पनि रहस्यमै छ । यही रहस्यलाई खुलाउने र सर्वसाधारणको लागि खुला गर्ने मिति तोकेर नै यतिबेला रत्नमन्दिर सिँगारिँदैछ । यो सिँगारपटार चाहिँ राजाको लागि होइन, ‘प्रजाको लागि पहिलोपटक रत्नमन्दिरले नयाँ रंगरोगन पाउँदैछ ।

जेठ १५ गते रत्नमन्दिर सर्वसाधारणका लागि खुला गर्ने भनेर वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले घोषणा गरिसकेका छन । किराँती नेपाल ट्रष्टका अध्यक्ष समेत हुन ।
त्यही ट्रष्टमातहत रहेको रत्मन्दिर प्रवेश गर्ने गेटमा नै एउटा संरचना खडा हुँदैछ । यो संरचना पनि सर्वसाधारणका लागि नै हुनेछ । त्यसलाई टिकट काउण्टर बनाउने, टिकट लिने र प्रवेशद्वार बनाइनेछ । प्रवेशद्वार अगाडि बढेपछि आउटडोर वाटर फाउन्टेन देखिन्छ । राजाकै पालामा निर्मित यो फाउन्टेनलाई थप मर्मतको जरुरी भने छैन । सजिएका ढुंगाको बाटो हुँदै रत्न मन्दिरको प्रांगणमा पुगिन्छ ।

तत्कालका लागि रत्नमन्दिरको यही प्रांगण मात्रै सर्वसाधारणको पहुँचमा हुनेछ । यही मन्दिरमा पोखरा आउँदा राजाले रात बिताउँथे । रत्मन्दिरको अर्को रहस्य भनेको, ‘यहाँ राजा मात्रै बस्न पाउँथे ।’ राजाका भाई तथा राजपरिवारका अन्य सदस्यले चाहिँ हिमागृह प्रयोग गर्थे । तत्कालै हिमागृह भने सञ्चालनमा आउँदैन ।राजाले विश्राम घर बनाएको आडमा नै सुरक्षाका लागि आउने एडिसी देखि सुरक्षाकर्मी बस्ने छुट्टै क्वार्टर छन ।रत्नमन्दिरको मुख्य ढोकाको सिधै अगाडि छ, ‘हावा घर ।’

तालको किनारबाट पिल्लर उठाएर खडा गरिएको निकै आकर्षक देखिने यो भवनमा बसेर राजाले हावाको अनुभुति लिन्थे ।रत्नमन्दिर भित्रै अर्को गेट छ । त्यो गेटभित्र एउटा ‘प्रतीक्षालय’ छ । पोखरा आउँदा जनताको कुरा सुन्नको लागि भनेर यो प्रतीक्षालय बनाइएको थियो । जनताका कुरा लिएर मुखियाहरु त्यो प्रतीक्षालयमा आएर बस्थे । राजासँगको भेटमा उनीहरुले जनताका गुनासा राजालाई जाहेर गर्थे ।
तर, अहिले यी सब कुरा इतिहास बनिसकेका छन । रत्नमन्दिर भित्र के छ भन्ने पनि रहस्यमा नै छ । तर, तत्कालका लागि जनताका लागि रत्नमन्दिरको प्रांगण खुला गरिनेछ । त्यहाँको बगैँचा जनताले देख्न पाउँछन । त्यसका लागि पर्खिनुपर्नेछ, जेठ १५ । अर्थात, ‘गणतन्त्र दिवस ।’

तत्कालका लागि नेपाल ट्रस्टले सञ्चालन कार्यविधि तयार पारिसकेको छ । सर्वसाधारणले १०० रुपैयाँको टिकट काटेर जनताले हेर्न पाउने गरी खुला गर्न लागिएको छ ।नेपाल ट्रस्टको वेबसाइटअनुसार पोखरामा विभिन्न ६ कित्तामा १७४ रोपनी ४ आना २ पैसा जग्गा रत्नमन्दिर र हिमागृहले चर्चेको छ ।

पोखरा ६ मा कित्ता नं. ११२८ मा ५८ रोपनी १ आना ३ पैसा २ दाम, ११२९ मा २५ रोपनी ४ आना २ पैसा, ११३० मा २१ रोपनी ३ आना २ पैसा ३ दाम, ११३१ मा ७ रोपनी १ आना २ पैसा १ दाम, १२७० मा २ रोपनी ३ पैसा १ दाम, १०३८ मा १० रोपनी ४ आना १ पैसा १ दाम, १७६२ मा २४ रोपनी ७ अना २ दाम, १७६३ मा २४ आना १ पैसा २ दाम र ३० मा १ रोपनी १२ आना १ पैसा जग्गा रत्नमन्दिर र हिमागृहको नाममा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->