मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखराका १५ सहकारी संकटमा

पोखराका १५ सहकारी संकटमा

सूर्यदर्शन र इमेज सहकारीका संचालकहरुको सम्पत्ति रोक्का ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८०, बुधबार

पोखरा/ आइतबार जिल्ला प्रहरी कार्यालय कास्की अगाडि ठेलमठेल भीड थियो । भीडमा रहेकाहरुको आँखामा आक्रोश र पीडा देखिन्थ्यो । त्यसको कारण थियो–दुखजेलो गरेर कमाएको पैसा गुम्ने अवस्था । ढोरपाटन नगरपालिका प्रमुखसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका अध्यक्ष देवकुमार नेपाली सम्पर्कविहीन भएपछि बचतकर्ता प्रहरीको शरणमा पुगेका थिए । उनीहरुले पोखरामा मात्रै नभइ बागलुङको सहकारी कार्यालयमा समेत धर्नासहित नाराबाजी गरेका थिए । आफूले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने र संचालकमाथि कारबाही हुनुपर्ने उनीहरुको माग थियो । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि देवकुमार अहिले सम्पर्कविहीन छन् । उनमाथि सर्वसाधारणको करोडौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।

देवकुमार मात्र हैनन्, अहिले पोखरा र देशका विभिन्न क्षेत्रमा रहेका सहकारीहरुको बदमासी सतहमा आइरहेको छ ।
केही समय अघिसम्म यस्तै मागसहित सूर्यदर्शन बचत तथा ऋण सहकारीका बचतकर्ताहरु पोखरा महानगरको कार्यालय पुगेका थिए । सो सहकारी पनि अहिले संकटग्रस्तको सूचीमा छ । सहकारी संचालक समितिका अध्यक्ष जीबी राई सम्पर्कविहीन छन् ।

सूर्यदर्शन र इमेज देशव्यापी संजाल भएका सहकारीहरु हुन् । यी सहकारीको पोखरामा पनि कार्यालय संचालनमा थिए । बचत तथा ऋण सहकारीको कोटामा पर्ने दुवैले पोखराका सर्वसाधारणबाट करोडौं रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, एकाएक ती सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न सकेनन् । उनीहरुले प्रदान गर्ने चेकजस्तै भुक्तानी–पत्र धमाधम फिर्ता आउन थाले । आफ्नो रकम निकाल्न गएका बचतकर्ताहरुलाई खाली हात फिर्ता पठाउन थालियो ।

नाम चलेका र ठूलो मात्रामा निक्षेप संकलन गरेका यी मात्र हैनन्, पोखरामा रहेका अन्य सहकारीहरुमा पनि समस्या देखिएको छ ।सांसददेखि मेयरसम्मका व्यक्ति संलग्न भएकै सहकारी समेत डुबेका छन् । पोखरा महानगरपालिकामा मंगलबारसम्म १५ सहकारीविरुद्ध उजुरी परेको छ । संचालक समितिका सदस्यहरु फरार भएको, जम्मा गरेको रकम निकाल्न नपाएको भन्दै उजुरीहरु परेका छन् ।

पोखरा महानगरपालिकामा कुल ३६८ सहकारी कानूनी रुपमा दर्ता भएका छन् । जसमध्ये १५ सहकारी संकटग्रस्त छन् । १५ मध्ये इमेज र सूर्यदर्शन सहकारीसँग आबद्ध संचालक समिति तथा म्यानेजरको पोखरा महानगरपालिकाले सम्पत्ति नै रोक्का गरेको छ । यतिमात्रै होइन, उनीहरुलाई विदेश भ्रमणसमेत निषेध गरिएको छ । पोखरामा साथी किसान, राहत कृषि, बलिदानी बचत तथा ऋण, पाइला बहुउदेश्यीय, नयनतारा कृषि सहकारी, अरनिको बचत तथा ऋण, जगत कल्याण दुग्ध उत्पादक, डल्फीन बचत तथा ऋण, चौतारी बचत तथा ऋण, सामिप्यता बचत तथा ऋण, अम्बा उज्ज्वल बहुउदेश्यीय, राहत कृषि र स्मार्ट उत्पादन सहकारीविरुद्ध उजुरी परेको हो ।

च्याउसरी उम्रीएका सहकारी पछिल्लो समय ठगी गर्ने नयाँ धन्दाको रुपमा मौलाउन थालेको एक बचतकर्ताले बताएका छन् । उनले सहकारीको सिद्धान्त विपरीत जाँदा सहकारीहरु डुब्न थालेको बताए । पोखरा महानगरपालिकाले जारी गरेको सहकारी संचालन ऐनको दफा ३४ मा निजी स्वार्थ समावेश भएको निर्णय प्रक्रियामा संलग्न हुन नहुने भनिएको छ । तर, अधिकांश सहकारी स्वार्थमा लाग्ने गरेको उनी सुनाउछन् । पछिल्ला समय सहकारीले ठगी गरेको भन्दै प्रहरीकहाँ पुग्नेहरु बढेका छन् । सहकारीको मुद्दा सम्बन्धित स्थानीय तहले हेर्ने हुँदा स्थानीय तहमा पठाउने गरेको प्रहरीले बताएको छ ।सहकारीसम्बन्धी मुद्दा लिएर आउने गरेको तर प्रहरीले हेर्न नमिल्ने भनेपछि उनीहरु निराश हुँदै फर्कने गरेको पनि एक प्रहरी अधिकृतले बताए ।

पोखरा महानगरपालिकाले जारी गरेको सहकारी ऐनको परिच्छेद १७ को दफा ७८ को खण्ड १ ले सदस्य हित विपरीत कार्य भएमा, संस्थाले पुरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको अवस्था, बचत निर्धारित सर्त फिर्ता गर्न नसकेको वा गम्भीर आर्थिक कठिनाई भोगिरहेको अवस्थामा समस्याग्रस्त संस्था घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । तर सहकारी संचालकहरुले त्यसो गरेको अवस्था भने रहेको छैन् । रकम हिनामिना गर्ने अनि फरार हुने गरेको पाइन्छ ।

यस्तै कसूर, दण्ड जरिवाना तथा पुनरावेदनको सवालमा पच्छिेद १८ को दफा ८० को खण्ड घ मा भनिएको छ, ‘समितिको सदस्य, व्यवस्थापक वा कर्मचारीले संस्थाको सम्पत्ति, बचत वा शेयर रकम हिनामिना गरेमा’ खण्ड च मा ‘समितिका कुनै सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा संस्थाको शेयर वा बचत रकम आफु खुसी परिचालन गरी संस्थालाई हानी नोक्सानी पु¥याएमा’ दण्ड दिन सक्ने व्यवस्था गरेको छ ।

दफा ८१ अनुसार दश लाख रुपैयाँसम्म बिगो भए एक वर्ष कैद, १० देखि ५० लाख रुपैयाँसम्म बिगो भए दुई देखी तीन वर्ष कैद, ५० देखि एक करोड रुपैयाँसम्म बिगो भए तीन देखी चार वर्ष कैद, एक करोडदेखि दश करोड रुपैयाँसम्म भएमा चार वर्षदेखि ६ वर्ष कैद र एक अर्बभन्दा बढी बिगो भएमा आठ वर्षदेखि १० वर्षसम्म कैद कसुर हुने व्यस्था रहेको छ ।
पोखरा महानगरपालिका सहकारी महाशाखा प्रमुख भरतजार पौडेलले सूर्यदशन र इमेजका संचालक समिति २८ गतेपछि सम्पर्कमा नआउँदा समस्या जटिल भएको बताए । उनीहरु सम्पर्कमा नआउँदा थप जटिलता बढेकाले बैंक खाता र सम्पत्ति रोक्काका लागि पत्राचार गरिसकेको उनले सुनाए ।

‘केही सहरकारीलाई असार मसान्तसम्मको म्याद दिएका छौं । केही सहकारी संचालक समितिका व्यक्तिहरुको सम्पत्ति रोक्का गरेका छौं । इमेज र सुर्यदर्शन सहकारीका संचालक तथा व्यवस्थापकको कारबाहीका लागि विदेश भ्रमण रोक्का, बैंक खाता रोक्का र सम्पत्ति रोक्का गर्न पत्र गरेका छौं,’ उनले भने, ‘२८ गते छलफलमा बसे पनि त्यसपछि भने सम्पर्कमा नआउँदा समस्या बल्झियो र हामीले कारबाहीका लागि प्रक्रिया थालेका हौं ।’ मुख्य रुपमा समयमा बचत रकम पाइएन भन्ने गुनासो आएको उनको भनाइ रहेको छ । उनले आवेदन अनुसार पहिला सहकारी संचालक समितिसँग अवस्थाको बारेमा बुझ्ने गरेको सुनाए ।

‘पहिला सहकारी संचालक समितिलाई अवस्था के भएको हो बचतकर्ता र संचालक समिति बोलाएर छलफल गर्ने गरेका छौं,’ उनले थपे, ‘छलफल गरेपछि आवश्यक विवरण माग गर्ने, संस्थामा अनुगमन गर्ने र त्यो बमोजिम सामान्य छलफलबाट टुंग्याउने अवस्था भए त्यहि मिलाउने त्यसो नभएमा हामीले तत्काल गर्न सक्ने थप कानूनी कारवाहिका लागि प्रकृया अगाडी बढाउने गरेका छौँ ।’
सामिप्यता बचत तथा ऋण सहकारी र जगत कल्याण दुग्ध उत्पादक सहकारीको छलफलबाट मिलाएर नयाँ कार्यसमिति बनाएर अन्य काम अघि बढाएको उनले सुनाए । संचालक समितिका सदस्यहरु नै रकम हिनामिना गर्ने, बिना धितो ऋण निकाल्ने, संस्थाको रकम व्यक्तिको नाममा राख्ने तथा आम बचतकर्ताको लगानी हिनामिना गर्ने र सम्बन्धित निकायबाट अनुगमनको अभाव हुँदा यतिबेला सहकारीहरु धमाधम डुब्न थालेका हुन् । सहकारी डुब्दा व्यवसायी तथा नागरिकको रकम जोखिममा परेको एक सहकारी अभियन्ताले बताए । गलत गर्ने केही सहकारी डुबेपछि अन्य सहकारीहरुमा पनि त्यसको असर परेको उनीहरुको भनाइ छ ।

‘केही सहकारीमा समस्या आएको सत्य हो तर सवै सहकारी त्यस्ता छैनन्,’ पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले भने,‘ केही सहकारीबाट निक्षेप भुक्तानी नपाएसँगै अन्य सहकारीमा पनि रकम फिर्ता माग्न आउनेहरु बढेका छन्, सहकारीले जम्मा भएको पैसा थुपारेर राख्दैनन्, कतै लगानी भएको हुन्छ, एकैपटक माग्न आउँदा दवाब पर्नु स्वभाविक हो ।’उनले बचतकर्तालाई धैर्य नगुमाउन र आफू संलग्न सहकारीको आर्थिक अवस्थाको जानकारी लिन आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->