मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आफ्नै वचनले थिचिएका मेयर धनराज !

आफ्नै वचनले थिचिएका मेयर धनराज !

जनताले काठमाडौंका बालेन र धरानका हर्कसँग दाँज्दा उनी औषत देखिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८०, शुक्रबार

पोखरा/ २०७९ सालको १५ वैशाख । नेकपा ९एकीकृत समाजवादी० का नेता धनराज आचार्य अन्य ४ दलका नेतासहित पोखराको पार्टी प्यालेसमा झुल्किए । लामो खिचातानीपछि तत्काली पाँच दलीय पाँच दलीय गठबन्धनको तर्फबाट मेयरका साझा उम्मेदवारको रुपमा अन्य नेतासँगै उनले घोषणापत्र सार्वजनिक गरे । साझा भनिए पनि घोषणापत्रमा धनराज हाबी थिए । एमाले र एमाले नेता रवीन्द्र अधिकारीको घोषणापत्र निर्माण समूहमा रहेर काम गरिसकेका धनराजले तथ्य र तर्कसहित स्वयंलाई ‘डिजिटल युग’को प्रतिनिधिपात्रको रुपमा प्रस्तुत गरे । एमालेमा लामो संलग्नता, वाचाल र मृदुभाषी धनराजको ‘स्वप्नद्रष्टा’ छविलाई जनताले अनुमोदन गरिदिए । आफ्नै राजनीतिक गुरु तथा पोखराका पूर्वमेयर कृष्ण थापालाई ६ हजार ४५ मतले हराउँदै पोखराको १६ औं मेयर बने । आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मतमात्र पाए ।

धनराजले २०७९ जेठ १२ गते सपथ थिए । ‘समुन्नत पोखराको आधार ः सवल अर्थतन्त्र र पूर्वाधार’ नारासहितको घोषणापत्र कार्यान्वयनको उनको यात्राले आज एक वर्ष पूरा गरेको छ । व्यक्तिको हकमा एक वर्ष आफैंमा लामो हैन । तर,जनप्रतिनिधिको हकमा भने एक वर्षले ठूलै अर्थ राख्छ । र, मेयरको रुपमा धनराजको एकवर्षे यात्रा ‘औषत’ देखिएको छ ।

धनराजको घोषणापत्र नराम्रो थिएन । उनले घोषणापत्रमा समुन्नत पोखराको लागि सुरक्षित र न्यायपूर्ण समाज,स्वास्थ्य र सन्तुलित पर्यावरण,सुशासन र जवाफदेहिता,स्रोतको समुचित उपयोग,प्रविधिमैत्री सेवा प्रवाहसहित क्षेत्रगत योजना र प्रतिवद्धता व्यक्त गरेका थिए । शिक्षा, स्वास्थ्य, मानव संशाधन विकास,रोजगारी सिर्जना,पूर्वाधार निर्माण, प्राकृतिक सम्पदाको संरक्षण जस्ता मुद्दाहरु उनले छुटाएका थिएनन् । ती प्रतिवद्धता पूरा गर्न उनले नेतृत्व विकास,पूँजी निर्माण,सामाजिक परिचालनसहित भुइँमान्छेको विकासमा सहभागिता गराइने प्रतिवद्धता जनाएका थिए । पहिलो दिनमै सेवाग्राहीलाई अत्यावश्यक सेवा निःशुल्क गर्ने उनको घोषणा थियो । यो घोषणा भने उनले पूरा गरेका छन् । तीन महिनाभित्र एउटै एउटै झ्यालबाट जनताका सवै काम ९मुभलेस ० सेवा दिने घोषणा पनि पूरा भएकै छ । तर, ३ महिनाभित्र घुम्ती अस्पताल संचालन गर्नेलगायतका अन्य घोषणा अनि ६ महिनाभित्र र एकवर्षभित्र सक्ने भनिएका योजनामध्ये धेरैजसो अलपत्र जस्तै भएका छन् । व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना,पोखराको ढलको पानी प्रशोधनको लागि जापानी सहयोग नियोगसँग ९ अर्बको सम्झौता र दीर्घकालीन योजनाको खाका कोर्न मिलेको सफलतालाई सडकको दुर्दशालगायतका मुद्दाले ओझेलमा पारिदिएका छन् ।

एक वर्षभित्र सक्ने भनिएका जेष्ठ नागरिक सेवा केन्द्र, प्राकृतिक सम्पदाको संरक्षणजस्ता विषयमा उनी चुकेका छन् भने महानगरभित्र मेट्रिक ठेगाना प्रणाली,स्कूल टु बर्क,एक घर,एक बगैंचाजस्ता सामान्य कार्यक्रम पनि कार्यान्वयनमा आएका छैनन् ।

‘ल्याण्डफिल साइट सारिएन भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन । विमानस्थल सञ्चालन गर्न ल्याण्डफिल साईट अन्यत्र सार्नुपर्छ,फोहोरलाई मोहोरमा परिणत गर्ने योजना ल्याउनुपर्छ’ भनेका मेयरले वडा नम्बर ३२ मा फोहरको अस्थायी विसर्जन त गराएका छन् तर फोहरको दीगो व्यवस्थापन कसरी गर्ने भन्ने अलमल बाँकी नै छ ।

फेवाताल संरक्षणमा उनी बढी नै विवादित भएका छन् । रामसारमा सूचीकृत फेवाताल क्षेत्रको सिमसारलाई जग्गा वर्गीकरण गर्दा आवास क्षेत्रमा रुपान्तरण गरेको उनीमाथि आरोप लागेको छ । सिमसार क्षेत्र पुरेर धमाधम प्लटिङ र भौतिक संरचना बनाइँदा पनि महानगर मौन छ । ‘अहिले फेवातालमै ढल विसर्जन गरिएको छ । अब हामीले पाँच वर्षभित्रमा ढललाई अन्यत्र विसर्जन गर्ने योजना बनाएका छौँ,’भन्ने भनाइले उनी स्वयंलाई गिज्याइरहेको छ । मेयर आचार्यले पोखराको महेन्द्रपुलमा महानगरकै स्वामित्वमा रहेका घर–टहरा भत्काए । एकातिर पार्कसहितको सार्वजनिक शौचालय र अर्कोपट्टि झण्डा पार्क बनाउने योजना अगाडि बढाए । भत्काइएको भवनमै सार्वजनिक पुस्तकालय पनि थियो । पुस्तकालयको विकल्प विभिन्न देशका झण्डा पार्क हुन नसक्ने मत बलियो बन्दा मेयरमाथि ‘टिकटक’मा रमाउन खोजको आरोप लागेको छ । त्यसो त, काठमाडौंका मेयर बालेनको सिको गर्दै भूमिगत पार्किङ स्थलमा सार्वजनिक पार्किङ बनाउने उनको योजना पनि कार्यान्वनयमा नआउँदै असफल बनेको छ । यद्यपि,व्यवसायीका विरोधका कारण पोखराको व्यवस्थित पार्किङ योजना अलपत्र परेको मेयर आचार्यले बताउँदै आएका छन् ।

मेयर आचार्यलाई विश्वास गर्ने हो भने, समुन्नत पोखराको खाका तयार भएको छ । ‘कार्यभार सम्हालेदेखि मैले आफ्नो व्यक्तिगत चाहनाहरु दराजमा थन्क्याएको छु,रातदिन नगरवासीको हितको लागि खटिएको छु,’उनले भनेका छन्,‘केही देखिने काम भएका छन्, केही दीर्घकालीन योजनाहरु छिट्टै कार्यान्वयनमा आउँदैछन् । एक वर्षमा सोचजति भएन होला तर हामी चुकेका छैनौँ ।’ हो ,उनी व्यस्त नै देखिन्छन् । दैनिक गोष्ठी, उद्घाटनजस्ता कार्यक्रम भ्याएकै छन् । कार्यालयमा आउने सेवाग्राहीको गुनासो संवोधन,भ्रमण र समन्वयकारी भूमिका निभाउन सजिलो छैन । समय व्यवस्थापन कठीन बनेकै छ । तर, जनताले मोनोरेल, रोजगारी सिर्जनालगायतका घोषणा भुलेका छैनन् । कार्यकालको एक सय दिनमै उनले रणनीतिक योजना तय गरिएको, सय दिनमा सयवटै काम गरिएको बताएका थिए । अहिले विकासको रफ्तार त्योभन्दा अगाडि बढेको उनको जिकिर गरिरहँदा त्यसलाई विश्वासिलो बनाउनुपर्ने दायित्व उनीमाथि नै रहेको छ ।

अर्कोतर्फ सफलतासँग उनको व्यक्तिगत र संलग्न पार्टीको भविष्य जोडिएको छ । विद्यार्थी राजनीतिबाट उदाएका तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट देशकै ठूलो महानगरको मेयर चुनिएका उनीसँग असफल हुने छुट छैन ।

जनताले उनलाई काठमाडौंका मेयर बालेनद्र साह (बालेन),धरानका मेयर हर्क साङपाङ,चितवनकी मेयर रेणु दाहाल र धनगढीका मेयर गोपी हमालसँग अघोषित प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । बालेर र हर्कले सानो काम गर्दा ‘ हाम्रा मेयर गफ गर्ने तर काम नगर्ने’ भन्दै गरेको गुनासो सुन्नुपरेको छ । धनराजको प्रतिस्पर्धा आफैंसँग छ । एकातिर आन्तरिक राजश्व वृद्धि नहुनु,अर्कोतिर जनताका आकांक्षाहरु चुलिनु एकैचोटी भएको छ । वैकल्पिक राजनीतिक शक्तिप्रतिको जनआशक्ति निस्तेज पार्दै राजनीतिक यात्रा अगाडि बढाउने क्रममा उनी साँच्चिकै आफ्नै घोषणाको भारले थिचिएका छन् ।सपथको क्रममा फूल रोपेका मेयर धनराजको आगामी यात्रा चाहिँ काँडैकाँडाको बाटोमा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->