शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखरा २६ मा एक वर्षको समिक्षा

पोखरा २६ मा एक वर्षको समिक्षा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८०, आइतबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं. २६ का निर्वाचित जनप्रतिनिधिहरुले कार्यकालको एक वर्षमा सम्पादन गरेका कामहरुको शनिवार समिक्षा गरेका छन् । गतवर्षको स्थानीय तहको निर्वाच पछि २०७९ जेष्ठ १३ गते पदस्थापन गरेका निर्वाचित प्रतिनिधिले एक वर्षमा गरेका कामहरु वडावासीबीच प्रस्तुत गरेका हुन ।

सो अवसरमा वडाध्यक्ष नरेन्द्र थापाले एक वर्षे कार्यकालमा १८ करोड ६५ लाख रुपैया विनियोजन भएको उल्लेख गर्दै, झण्डै ८० प्रतिशत काम सम्पन्न भएको उल्लेख गरे । वैशाख मसान्तसम्म विनियोजित रकमबाट ६० प्रतिशत र जेठको दोश्रो हप्तासम्म थप २० प्रतिशत योजनामा प्रगती भएको उल्लेख गरे । असार मसान्तसम्म लक्षित बजेटबाट पुरै काम हुने अध्यक्ष थापाले बताए ।

एक वर्षे कार्यकालको समिक्षा गर्दै, थापाले वडामा सडक कालोपत्रे, ढल र नाला निर्माणका कामले तीव्रता पाएको उल्लेख गर्दै, सवै टोल र वडामा पक्की सडक पु¥याइएको उल्लेख गरे । अध्यक्ष थापाले वडा, महानगर र प्रदेश सरकारको समेत बजेटबाट विभिन्न क्षेत्रमा गरी १ सय २९ योजना सम्पन्न भएको जानकारी दिए । अघिल्लो आर्थिक बर्षमा वडाभेला गरी योजना संकलन गरिएको र ती योजना बैंक स्थापना गरी कार्यन्वयन गरिदै लगिएको पनि अध्यक्ष थापाले बताए । योजना बैंकमा ३ सय ४० योजना रहेकोमा एक सय २९ योजनाको कार्य सम्पादन भएको बताउँदै, अध्यक्ष थापाले आ.ब. २०८०/०८१ मा थप योजनालाई योजना बैंकमा समावेश गरी कार्यान्वयन गरिदै जाने बताए ।

अध्यक्ष थापाले भौतिक पूर्वाधार बाहेक प्रशासनिक सेवालाई जनताको घरदैलोमा पुर्याएको उल्लेख गर्दै, योजना छान्न वडा भेला गरिएको, जेष्ठ नागरिकको भत्ता नविकरण टोल/टोलमा पुगेर गरिएको । जेष्ठ, अपाङ्गलाई टोल टोलमा पुगेर सहायता सामग्री बितरण गरिएको र वडा कार्यालय भवनको सुधार गरी एकद्धार प्रणालीबाट जनताको सिफारिस र सेवा प्रवाह गरिएको उल्लेख गरे ।

वडाध्यक्ष थापाले आगामी आर्थिक वर्षका लागि समेत ३६ वटा योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, अतिक्रमित सडकको मापदण्ड लागू गरी अवैध संरचना हटाउने, वडा कार्यालयको प्रशासनिक भवनका लागि जग्गा प्राप्ती र भवन निर्माण, कृषि उत्पादनको पकेट क्षेत्र तोक्ने, पहाडी भागलाई शहरीकेन्द्रसँग जोड्ने गरी सडक निर्माण लगायतका योजनालाई प्राथमिकता दिईने उल्लेख गरे ।

वडाध्यक्ष थापाले सामुदायिक बनहरुलाई बाँदर मैत्री बनाउन कटुस, दमौरो, अँगेरी ऐसुलु तिजुका रुख कटान रोकी वनउपभोक्ता समितिसँगको सहकार्यमा फलफुलका विरुवा रोप्ने अभियान गरिने, वडामा रहेका पुराना चौतारा, खानेपानीका मुहानहरुको संरक्षण र सम्बद्र्धन गरिने योजना आगामी आर्थिक वर्षमा समेटिने उल्लेख गरे ।

थापाले सोतो चोक, तल्लो कडेनी, कालिकाचोक, भित्रीखेत, सिमलपोखरा, लक्ष्मी मा.वि ह‘ँ‘दै गडुवा खोलासम्म नाला निर्माण गरी डुवानको समस्या समाधान गर्ने योजना रहेको उल्लेख गर्दै, कालिका—मिजुरे सडकलाई स्तरीय बनाउनका लागि महानगर, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने बताए । जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्दै, बाँझो जग्गा राख्ने जग्गाधनीको जग्गामा कृषि व्यवसाय गर्न इच्छुक किसानका लागि जग्गा उपलब्धता गराउन वडास्तरीय कृषि सञ्जाल मार्फत सहजीकरण गरिने उल्लेख गर्दै अध्यक्ष थापाले वडावासीहरुलाई तरकारीमा आत्मनिर्भर बनाउन कौशीखेतीका लागि प्रोत्साहन गर्ने गरी योजना सुनाए ।

समीक्षा एवं आगामी आर्थिक बर्षको योजना तर्जुमा कार्यक्रममा बोल्दै पूर्वकानूनमन्त्री यज्ञबहादुर थापाले आफु मन्त्री हुँदा वडा विकासमा गर्न नसकेको उल्लेख गर्दै, वडामा ऐतिहासिक बजेट विनियोजन भएको उल्लेख गरे । उनले दिर्घकालीन र रणनीतिक हिसाबले सडक पूर्वाधारको प्रस्ताव उल्लेख गरिएको भन्दै, योजना कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा साविक लेखनाथ नगरपालिकाका पूर्व प्रमुख शालिग्राम पौडेलले युवाले नेतृत्व गरेको वडामा रोजगारी सिर्जनामा जोड दिनु पर्ने बताए । उनले युवाहरुमा केही गरौ भन्ने हुटहुटी हुने उल्लेख गर्दै, साविक लेखनाथ नगरपालिकाले निर्माण गरेका योजनाको अपनत्व लिन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->