पोखरा/ एमालेको तर्फबाट गण्डकीका सांसद प्रकाशबहादुर केसीले संघ सरकारप्रति रोष प्रकट गरे । संघ सरकारले प्रहरी समायोजन ऐन नबनाइदिँदा प्रदेश सरकारका मन्त्रीहरु समेत संघकै सुरक्षाकर्मी लिएर हिड्न बाध्य भएको उनको गुनासो थियो ।
विनियोजन विधेयक २०८०/०८१ को सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा बोल्दै केसीले प्रदेश प्रहरी परिचालनको आवश्यक व्यवस्था गर्न संघ सरकारले पहल गर्नुपर्नेमा जोड दिए । २०७७ कात्तिक २४ गते प्रदेश प्रहरी ऐन २०७७ पारित भई प्रमाणीकरण भएको थियो । संघ सरकारले प्रहरी समायोजन ऐन बनाएर खटनपटनको जिम्मा नदिँदा प्रदेशले बनाएको ऐनको पनि कुनै अर्थ नदेखिएको केसीको दाबी छन् । उनले भने, ‘हाम्रो दुर्भाग्य कतिसम्म छ भने प्रदेश भित्रका निकायमा खटिने सुरक्षाकर्मी पनि संघ सरकारकै संयन्त्रबाट परिचालन गर्नुपरेको छ ।’ उनले प्रतियोगिता हुँदै छ भनेपछि मात्र खेलाडीलाई केही दिन दिने परिपाटीले गण्डकीको खेलकुद क्षेत्र राम्रो बन्न नसकेको उनले दाबी गरे ।





