काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
तर दुईजनालाई भने धरौटीमा रिहा गरेको छ । पुर्पक्षका लागि कारागार चलान गरिएका १६ जनाले त्यहीँबाट मुद्दा लड्न पाउनेछन् ।
अभियुक्तमध्ये दुई लक्ष्मी महर्जनलाई पाँच लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
यो प्रकरणका अभियुक्त पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार सोह्रैजना अभियुक्तलाई कारागार चलान गर्ने आदेश दिएको हो । अब उनीहरुलाई सुन्धारास्थित कारागारमा राखिने भएको छ ।
‘पछि ठहरे बमोजिम हुनेगरी’ भन्दै भएको आदेशमा अभियुक्तहरुका तत्काल प्राप्त प्रमाणले उनीहरु दोषी होइनन् भन्ने अवस्था नदेखिएकाले थुनामा पठाउनु मनासिव देखिएको आदेशमा उल्लेख छ ।
“मौकाको बयान, बरामद भएको सिडीहरू, पेन ड्राइभ, सनाखत मुचुल्काहरू, बरामद भएको डायरीहरू बरामद भएका वस्तुहरुको परीक्षण प्रतिवेदन, घटना विवरणमा कागज गर्ने व्यक्तिहरुले अनुसन्धानका क्रममा लेखाएका व्यहोराहरू, मिसिलमा संलग्न बैंक स्टेटमेन्टहरुलगायत तत्काल प्राप्त प्रमाणहरुबाट यी प्रतिवादीहरु हाल कसुदार होइनन् भन्न सकिने अवस्था देखिएन,” आदेशमा भनिएको छ, “पछि थप प्रमाण बुझ्दै र अदालतले परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रस्तुत मुद्दाको रोहमा प्रतिवादीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टेकनाथ रिजाल, रामशरण के. सी., सन्दिप रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द चौधरी, नरेन्द्र के. सी., सन्देश शर्मा, शमशेर मियाँ, हरिभक्त महर्जन र आइटावा शेर्पा कसूरदार रहेको देखिदा निजहरुले नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन गरेको कसुरको गाम्भिर्यता र निजहरुलाई हुन सक्ने सजायसमेतलाई दृष्टिमत गर्दा प्रस्तुत मुद्दाको रोहमा मुलुकी फौजदारी कार्यविधि संहिता, ऐ. संहिताको दफा ८० बमोजिम थुनुवा पूर्जी दिई कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौमा कानूनबमोजिम थुनामा राख्न पठाई दिनू ।”
यस्तो छ आदेश
यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका १६ जना र फरार १४ जना गरी ३० जनाविरुद्ध अदालतमा मुदा दायर गरेको थियो ।
दुई जनाभने मुद्दा दायर भइसकेपछि पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरेको थियो । जसमा कैद, बिगो र जरिबाना माग गरिएको छ ।
पक्राउ परेका रायमाझी, खाँण, सचिव पाण्डे, इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, गिरोहका नाइके मानिएका केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, समेर मियाँ, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी, हरिभत्तः महर्जन, लक्ष्मी महर्जन, टंक गुरुङ थिए ।
उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालयले जेठ १० गते अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले त्यसको दुई दिनअघि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरेको थियो । दुवै पक्षको बहस सकिएपछि जिल्ला अदालतले आज आदेश सुनाएको हो । करिब तीन घण्टादेखि इजलासमा पुगेका अभियुक्तहरु एक अर्कासँग खुलेर गफिइरहेका थिए ।
उनीहरुमध्ये धेरैले धरौटीमा रिहा हुन सक्ने अनुमान गरिरहेका थिए । केही अभियुक्त पत्रकारहरुसँग कुरा गरेका थिए भने केही चुप लागेर बसेको देखिन्थ्यो ।
पक्राउ परेका शमशेर मियाँले आफूले बोलेका कुराभन्दा फरक तरिकाले पत्रकारले समाचार दिएको भन्दै आफ्ना धारणा पनि राखिदिन आग्रह गरिरहेका बेला सँगै रहेका सचिव टेकनारायण पाण्डेले भने– एकपल्ट पत्रकारलाई हज गराउन लैजानुपर्छ अध्यक्षज्यू ।
त्यसपछि केहीबेर हासो चलेको थियो । त्यसको केहीबेरमा बसेको इजलासले दुईजनाबाहेक सबैलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि लाइनमा राखेर सबैलाई सुन्धारा लगिएको थियो ।





