बागलुङ/ ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट औषधि सकिएर माग गर्नेदेखि व्यवस्थापकीय कामको लागि माग फारम भरेर नगरपालिकाको कार्यालय आउँदा स्वास्थ्यकर्मीलाई एक दिन लाग्छ ।
माग गरेको सामान तत्काल नभएमा ती स्वास्थ्यकर्मी फर्केर जाने र फेरी सामान आएपछि लिन आउने क्रम दोहोरिन्छ । यसरी आउने जाने गर्दा समय र आर्थिक खर्च बढी हुन्छ । यस्ता प्रकारका खर्च जोगाउन बागलुङ नगरपालिकाले सबै स्वास्थ्य संस्थालाई पेपरलेस बनाउने भएको छ ।
औषधी खरिद तथा माग गर्नेदेखि व्यवस्थापकीय क्षेत्रका सबै काममा पेपर प्रयोगबिहिन बनाउने लक्षले सबै स्वास्थ्य संस्थामा प्रविधिको प्रयोग गर्ने काम शुरु भएको हो । नगरपालिका भित्रका १० वटा स्वास्थ्यचौकी, एक नगर अस्पताल, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ र एक मातृसेवा केन्द्रमा समेत प्रविधिबाटै काम गर्ने व्यवस्था भएको हो ।
मासिक प्रगती प्रतिवेदन लगायतका सबै काम अब प्रविधिमा आधारित हुने भएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । त्यसका लागि सबै स्वास्थ्य संस्थाका प्रमुखलाई डाटा इन्ट्री गर्न अनलाइन बिधि सिकाइएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय इएलएमएस प्रविधि संयोजक सुस्मिता सुवेदीले स्वास्थ्यकर्मीका लागि तालिम दिएकी थिइन् । असार १७ देखि १९ गतेसम्म तीन दिन संचालित तालिमबाट स्वास्थ्यकर्मीले पेपरलेस अभियानको थालनी गर्ने बताए । कार्यक्रममा सहभागि स्वास्थ्यकर्मीले मंगलबारदेखि प्रविधिको प्रयोग गर्न थालिसकेको अनुभव सुनाएका थिए ।
तीन दिने तालिमको समापनको अबसरमा सहभागिलाई प्रमाणपत्र बितरण गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भौगोलिक कठिनाइलाई चिरेर छिटोछरितो र पारदर्शी काम गर्न अनलाइन विधि प्रभावकारी हुने बताए । उनले अब समयमै अनलाइन फाराम भर्ने, औषधि लगायतको माग अनलाइनबाटै गर्ने र समयमा सबै स्वास्थ्य संस्थामा औषधि पठाउने व्यवस्था हुने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले अब माग फारम भरेर गाउँका स्वास्थ्यचौकीदेखि कुनैपनि कर्मचारी बजार आउन नपर्ने पद्दती विकास भएको बताए । उनले समयसँगै सामाग्रीको पनि बचत भएको भन्दै तालिमलाई सदुपयोग गर्न पनि आग्रह गरे । ‘अब स्वास्थ्य शाखाका कोही कर्मचारी माग फारम भराउन आउन पर्दैन’ कंडेलले भने, ‘यो राम्रो शुरुवात हो, आबस्यकताको आधारमा सबै कर्मचारीलाई यस्तो तालिम दिने व्यवस्था हुनेछ ।’
पेपरलेस पद्दती नगरको स्वास्थ्य शाखाका पहिलो पटक हुन लागेको हो । स्टेशनरीको रुपमा मात्रै लाखौं रकम खर्च हुने गरेकोमा यो पद्दती बसाल्दा खर्च र समय बचत हुने उनले बताए । आर्थिक पारदर्शीताका लागि पनि पेपरलेस पद्दती सबै बिभागमा लागू गर्दै जाने लक्ष उनले सुनाए । त्यसका लागि सबै शाखा प्रविधिमैत्री र उपकरण सहितको हुनुपर्ने भएकोले केही लगानीपछि यो अबसर पुरा हुने कंडेलको भनाइ छ ।





