बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटका युवाहरु विदेशतिर, बाहिरका १ हजार जना रोजगारीमा

गलकोटका युवाहरु विदेशतिर, बाहिरका १ हजार जना रोजगारीमा


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८०, मंगलबार

बागलुङ/ गलकोट नगरका बजार क्षेत्रका ग्यारेज, विभिन्न विकास निर्माणका योजना र विद्युत जडानजस्ता काममा एक हजारभन्दा बढी बाहिरका कामदार सक्रिय रहेको वडा नं. ३ का पूर्व वडाअध्यक्ष वीरजंग भण्डारी बताउँछन् ।

अधिकांस काममा तराइ र भारतका कामदार देखेर कतिपय स्थानीय दंग पर्छन् । विदेशी र तराइका कामदार राखिएकोमा कतिपयले विरोध पनि गर्छन् । नगरपालिकाले उनीहरुलाई अनुमति दिन नहुने मागसमेत छ । बिरोध गर्नेले पनि विकल्पमा स्थानीय युवा परिचालन भने गर्न सकेका छैनन् ।

नगरपालिकाले पनि स्थानीयलाई नै काम दिने नदिने विषयमा केही बोलेको छैन । नगरप्रमुख भरत शर्मा गैरेले स्थानीय भन्दैमा तोकेको काम गर्न नसकेमा ठेकेदार र उद्योगीले नराखेको बताए । स्थानीय युवालाई सीप सिक्न उनले आग्रह गरे ।

स्थानीय नागरिकले काम नपाएर विदेश हिँडेको, तर अधिकांश विकास निर्माणमा भारतीय र तराइका कामदार परिचालन हुनु राम्रो नभएको गलकोट नगरपालिका वडा नं. १ का बमबहादुर गुरुङले बताए । गलकोटे युवाहरु वैदेशिक रोजगारीमा बढी आकर्षित छन् । ‘बाहिरका कामदार मात्र देखिने काम राम्रो भएन, स्थानीयले काम पाउनु पर्छ,’ गुरुङले भने, ‘नगरपालिकाले यो बिषयमा केही चासो राखेको छैन ।’

उता नगरप्रमुख भरत शर्मा गैरेले भने नगरपालिकाले आँफै लगाउने काममा स्थानीय युवा परिचालन गरेको तर ठेकेदारमार्फत् हुने काममा आफ्नो हात नहुने बताए । ‘बाहिरबाट आएको एउटा मजदुरले एक दिनमा एक घनमिटर माटो खन्छ भने हामीले पनि त्यही परिणाम दिन सक्नुपर्छ,’ गैरेले भने, ‘कामदार मात्र लगाएर भएन, ठेकेदारले धेरै फाइदा हुने कामदार खोज्छन् भन्ने जान्नुपर्छ ।’ त्यसो भन्दैमा ठेकेदारसँग मिलेको भन्नु गलत हुने उनले बताए ।

तरपनि नगरपालिकाले आगामी दिनमा स्थानीय युवालाई ग्याबिन जाली बुन्ने, सिमेन्टको गाह्रो लगाउनेजस्ता तालिम दिने योजना अगाडि सारेको छ । तर स्थानीय युवा सीपको तालिममा आउनै नचाहेको इन्जिनियर बलबिक्रम दाहालको भनाइ छ । ‘सामान्य सरसफाइका काममा समेत युवा पाइएको छैन,’ उनले भने, ‘बिशेष तालिम संचालन गर्न खोज्दा युवाहरुलाई जुटाउनै समस्या छ ।’ केही ग्रामीण क्षेत्रमा संभव भएपनि बजार क्षेत्रमा असंभव भएको उनले बताए ।

वडा नं. ५ का अध्यक्ष पवन हमालको सोच भने फरक छ । ‘काममा आफैं अगाडि सरेमा युवाहरु पनि लाग्ने रहेछन्’ हमालले भने, ‘वडाका धेरै काममा युवा परिचालन गरिएको छ ।’ युवाहरुको सहभागिताले धेरै काम भएको उनले बताए । सरसफाइ, वातावरणमैत्री सडक बनाउने काममा बिरुवा रोप्ने अभियान, खानेपानी तथा सिंचाइ कुलो निर्माण र मर्मत, पक्कीपुल बनाउने काम तथा तटबन्धनजस्ता काममा पनि हमालले युवालाई साथैमा राखेर काम गरेको अनुभव सुनाए । खेलमैदान निर्माणमा त अधिकांश युवा परिचालन भएको उनले दाबी गरे ।

प्राविधिक रुपमा दक्ष बनाउन सकेमा युवाहरुले काम गरुन्जेल राम्रो हुने, विदेश गएपनि आवश्यक सीपको प्रयोग हुने अबस्था रहेको सामाजिक विकास समितिका अध्यक्ष हिमबहादुर भण्डारीले बताए । उनले कमाइ हुने रोजगारीमा जोड्न सक्ने हो भने युवाहरु तालिममा आउन सक्ने बताए ।

एक तथ्यांक अनुसार गलकोट नगरभित्र १ हजार बढी बाहिरी कामदार परिचालनमा छन् । तीमध्ये आधाजसो भारतीय छन् भने बाँकी तराइ र अन्य जिल्लाबाट आएका हुन् । उनीहरुको तुलनामा स्थानीय युवालाई दक्ष बनाउन खोज्दा युवाहरुले चासो नराखेको गैरे बताउँछन् । बाढीपहिरो नियन्त्रणका लागि पर्खाल लगाउने, डकर्मी र सिकर्मी तथा विद्युतीय क्षेत्रको कामदार उत्पादनमा युवाले चासो राखेमा बजेट र कार्यक्रम संचालन गर्न सकिने उनको भनाइ छ ।

इन्जिनियर दाहालका अनुसार स्थानीय दररेट तोकेर सोही अनुसारको ढुवानी समेत राखेर नगरको दररेट कायम भएकोले युवाहरुले काम गर्दा धेरै फाइदा कमाउन सक्नेछन् । भण्डारीले भने कृषि क्षेत्रमा पनि माटो परीक्षण गरेर स्थानीयलाई काम दिंदा उत्पादन बढेर कमाइ गर्न सक्दा रोजगारीमा आकर्षित हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->