बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन् । उच्च शिक्षासम्म देशले लगानी गर्ने तर युवाहरुको उर्जावान र उत्पादनशिल समय विदेशमा बित्ने अवस्था सिर्जना भएको भन्दै उनले देशले आफुप्रति गरेको लगानी सम्झिन युवाहरुलाई आग्रह गरे ।
देशमा अवसर नै नभएको, देशको अवस्था गतिलो नभएको भन्ने हल्ला फैलाउने र युवा पलायनलाई बढावा दिनेहरुका बिरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो । मुख्यमन्त्री पाण्डेले गण्डकी सरकारले उत्पादन बृद्धि र स्वरोजगार उत्पादनमा जोड दिएको भन्दै युवापुस्तालाई देश र माटोप्रतिको मोह बढाउन आग्रह गरे ।
उनले आफ्ना छोराछोरीलाई विदेश पठाउन बल नगर्न अभिभावकलाई आग्रह गरे । उनले विदेशमा पढेर मात्रै देशको विकास नहुने भन्दै स्वदेशमै शिक्षा आर्जन गर्ने र उर्जावान समय देशमै बिताउन युवाहरुलाई आग्रह गरे ।
बागलुङको बलेवास्थित प्रसिद्ध कालभैरव मन्दिरमा मंगलबार ऐतिहाँसिक दोस्रो हरेलो मेलाको उद्घाटन गर्दै पाण्डेले देशमा सबैखाले विकासले गति लिएको बताए । उत्पादन बृद्धि, रोजगारीका अवसर सिर्जना हुँदै जाँदा युवापुस्ता नरहने अवस्था सिर्जना हुन थालेको भन्दै उनले सबै राजनीतिक शक्तिले सोच्ने बेला आएको बताए ।
देशमा भएका राजनीतिक परिर्वनले विकासमा ठुलो टेवा पुर्याएको भन्दै पाण्डेले केही नभएको भन्ने हल्लाका पछि नलाग्न अग्रह गरे । शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा बीस बर्ष पहिले र अहिलेको अवस्थामा आमुल परिवर्तन आएका उदाहरण दिँदै पाण्डेले लोकतन्त्रको सदुपायेग गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकास, आर्थिक क्षेत्रको प्रवद्र्धनको आधार भएको बताए । बागलुङको विकासका लागि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे । प्रसिद्ध बलेवा र धार्मिक पर्यटकीय क्षेत्र कालभैरव मन्दिरमा पूर्वाधार विकास र सडक सञ्जालको सहज पहुँचका लागि प्रदेश सरकारले पहल गर्ने उनले बताए ।
मेलामा ऐतिहाँसिक तथा लोपउन्मुख तरावार नाच, पञ्चेबाजा, भजन प्रस्तुती, छेलो फाल्ने खल, कलाकारहरुको प्रस्तुती र स्थानीय उत्पादनको प्रदर्शनी गरिएको थियो भने बलेवा कालभैरव मन्दिरमा बिषेश पुजाआजा गरेर हरेलो पर्व मनाईएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले पर्यटनमार्फत बलेवा क्षेत्रको विकास सम्भव रहेको बताए । कला संस्कृति र पर्यटनलाई सँगै लजानुपर्नेमा उनको जोड थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री चम्पा खड्का, पूर्व सांसदहरु डा .सूर्य पाठक, बलावती शर्मा, गण्डकी प्रदेशसभा सदस्यहरु डिल्लीराम सुवेदी, कृष्ण पाठक, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगातले बोलेका थिए ।
बलेवा कालभैरव गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षता, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको स्वागत र कलाकार कृष्ण अँखेलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





