बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय तह

स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय तह


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८०, बिहिबार

बागलुङ/ बागलुङका स्थानीय तहहरुले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणहरुको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहको लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका हुन् ।

जिल्लाको गलकोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पताल चर्चामा छ । गलकोट र आसपासका बिरामीले अस्पतालबाट चिकित्सकसहितको सेवा लिईरहेका छन् । अस्पतालका लागि आवश्यक पूर्वाधार, प्रयोगशाला र चिकित्सकको समेत व्यवस्था गरेर नगर अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएदेखि नै दैनिक बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालमका प्रमुख डा. राजेश पौडेलले बताए । यसअघि गलकोट क्षेत्रका सर्वसाधारणलाई समान्य उपचारको लागिसमेत जिल्ला सदरमुकाम वा छिमेकी जिल्ला धाउनुपर्ने बाध्यता थियो ।

जैमिनी नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनको तयारी गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा प्रयोगशाला बिस्तार र नगर अस्पताल सञ्चालनका लागि जग्गा व्यवस्थापन लगायतका काम भैरहेको नगर उप्रमुख हरिहर शर्मा बताउँछन् । कुश्मीशेरा प्राथमिक स्वास्थ्य चौकीको सुधार बिस्तार, चिकित्सकको व्यवस्थापन र पूर्वाधार बिकासले त्यहाँ बिरामीको चाप छ ।

सदरमुकाम समेत रहेको बागलुङ नगरपालिकाले वडा नं. १३ पैंयुपाटामा नगरअस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल भवन निर्माणाधीन छ । नगरका हरेक वडामा प्रयोगशालासहित स्वास्थ्यकर्मीको सेवा बिस्तार गर्ने योजना नगरले अघि सारेको छ । ‘हामी नागरिकको स्वास्थ्यप्रति गम्भीर र संवेदनशील छौं, नगर प्रमुख बसन्तकुमार श्रेष्ठले भने ‘कम्तिमा आधारभुत स्वास्थ्य सेवा सर्वसुलभ बनाउनै पर्छ ।’ जिल्लाको निसीखोला गाउँपालिकाले सर्वसाधारणको स्वास्थलाई मध्यनजर गरेर एम्बुलेन्स सेवा संचालन ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा रु २० लाख १० हजार बजेट विनियोजन गरेर एम्बुलेन्स ल्याएको हो । यसअघि नीसिखोला गाउँपालिका एम्बुलेन्सविहीन थियो । एम्बुलेन्स सञ्चालनका लागि कानुनी प्रक्रिया अनुसार अनुमति लिएर अगाडी बढ्ने र पालिकाले कार्यविधि तथा भाडादर निर्धारण गरेपछि एम्बुलेन्स सञ्चालन हुने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तिले बताए ।

जिल्लाको बरेङ गाउँपालिकाले सामुदायीक फार्मेसी मार्फत नागरीकलाई घरघरमै सबैखाले रोगकका औषधि उपलव्ध गराउँदै आएको छ । गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा आधारभुत तहको भिडियो एक्सरे सञ्चालनमा ल्याएको गाउँपालिकाले स्वस्थ्यकर्मीको व्यवस्थापन र उपचार पद्धतिलाई प्राथमिकतामा राखेको छ ।

जिल्लाको बडिगाड गाउँपालिकाले क्षयरोग, कुष्टरोग जस्ता सरुवा रोगकको खोजी र उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ । नागरिक स्वास्थ्य रहे मात्रै विकास हुने धारणा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले राख्ने गरेकी छन् । विकास भन्ने बित्तिकै सडक, भवन जस्ता संरचना सम्झिने परिपाठीलाई बिस्तारै स्थानीय तहले स्वास्थ्य क्षेत्रको बिकासलाई पनि ध्यान दिन थालेकोमा स्वास्थ्यकर्मीहरुले खुसी व्यक्त गर्छन् । जिल्लाका दश स्थानीय तहमध्ये अब केही स्थानीय तहमा मात्रै एम्बुलेन्स सेवा छैन् । बाँकी सबै स्थानीय तहमा एम्बुलेन्स सञ्चालनमा आउँदा नागरिकले आधारभुत स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुन नपर्ने एक स्वास्थ्यकर्मीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->