बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भिमगिठेका बरिष्ठ सई ‘हत्या’ आरोपी जेल चलान

भिमगिठेका बरिष्ठ सई ‘हत्या’ आरोपी जेल चलान


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८०, बिहिबार

बागलुङ/ गत साउन ८ गते बागलुङको भिमगिठेमा भएको प्रहरी हत्या घटनाका आरोपीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि जेल पठाएको छ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज बरिष्ठ सइ उज्वल पौडेलको हत्या आरोपी आशा कुँवर र बिनोद कुँवरलाई जेल पठाइएको हो ।

बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधिस दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नं. ६ स्थित आशा होटल तथा खाजा घरका संचालक ५१ बर्षिय आशा कुँवर र उनका छोरा २० बर्षिय बिनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाएको हो ।

गत साउन ८ गते राती ११ बजे आमाछोरा मिलेर पौडेलको हत्या गरेका थिए । हत्या कुटपिटपछि भएको बताइएको छ । घटनापछि प्रहरीले अनुसन्धान जारी राखेको थियो । खाजा खान गएका पौडेल रातीसम्म बसेपछि आशासंग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।

पोष्टमार्टम रिपोर्टमा पनि शरीरभर निलठाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ । पौडेलको घाँटीमा लगाएको सिक्री आशाले राखेको समेत भेटिएको थियो ।

निर्घात कुटेपछि घाँटी थिचेर मारेको आरोपीले बयान दिएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताए । अदालतमा भने आमाछोराले फरक फरक बयान दिएका थिए । ‘फरक फरक बयानले एकले अर्कोलाई बचाउन खोजेझै देखिन्छ’ मृतकका आफन्तले भने ‘एउटै कोठामा भएका तीन जनामा एकले अर्कोलाई मरणासन्न कुटपिट गर्दा अर्कोले हेरेर बसेको बयानले शंका उब्जेको छ ।’

खाजा खान बोलाएको तथा कुटपिटबाट बेहोस भएको बेला बिनोदले साथीलाई फोन गरेर जानकारी दिएको समेत अनुसन्धानमा उल्लेख छ । अदालतको आदेशपछि आमाछोरा दुवैजना बुधबारै जिल्ला कारागार चलान भएका छन् ।

तीन बर्ष भिआइपी सुरक्षामा खटिएका पौडेल गतबर्ष सरुवा भएर भिमगिठे गएका थिए । उनी जिल्लाका अन्य चौकी इन्चार्जको तुलनामा चलाख र दक्ष प्रहरीमा गनिएका थिए ।

यसैबीच, अदालतले ७५ प्रतिशत जेल सजाए छुट गरेका ८० बर्षे वृद्दलाई राख्ने हेरचाह केन्द्र अभावमा जेलमै छन् । २२ बर्ष अगाडिको लागूऔषध सम्बन्धी मुद्दामा २ बर्ष कैद सजाए तोकिएका निसीखोला गाउँपालिका–६ का ८० बर्षिय मेरसिं घर्ती जेलमा बस्न बाध्य भएका हुन् । उनका लागि हेरचाह केन्द्र खोजीदिन राज्य निकायले चासो नराखेका हुन् ।

जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा १२ ले ८० बर्षको नागरिकलाई ७५ प्रतिशत सजाए छुट दिएको छ । २२ बर्ष अघिको घटनामा फरार सूचिमा देखिएपछि घर्तीलाई प्रहरीले पक्राउ गरेर दुइ साताअघि जेल पठाएको थियो । कानून व्यवसायीमार्फत निवेदन गएपछि अदालते ७५ प्रतिशत जेल छुट गरिदिएको छ ।

ऐनले ६५ बर्षको भए २५ प्रतिशत, ७० बर्षको भए ५० प्रतिशत र ७५ बर्षको भए ७५ प्रतिशतसम्म कैद सजाए छुट दिने व्यवस्था छ । असक्त भएमा पुरै छुट दिएर हेरचाह केन्द्रमा राख्न सकिने उल्लेख छ । घर्तीलाई २०५८ चैत २३ गते जिल्ला अदालत कपिलबस्तुले २ बर्ष जेल सजाए तोकेको थियो । घर्तीबिरुद्ध गाजा ओसारपसारमा संलग्न भएको भन्दै परेको मुद्दामा अदालतले सजाए तोकेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->