बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाका पदाधिकारीबाटै वडा नं. २ अर्गल घर भएका तुलसीराम घर्ती र इन्द्रबहादुर रोकाविरुद्ध विद्युतीय अपराध गरेको भन्दै प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ । कार्यपालिकाको निर्णय र गाउँपालिकको पत्रसमेत प्रहरीमा पठाएपछि प्रहरीले उनीहरु दुई जनालाई जिल्ला प्रहरीमा बोलाएको छ ।
गत साउन १५ गतेको कार्यपालिका निर्णयमा दुई जना युवाको नामै किटेर पदाधिकारीको चरित्र हत्या गरेको आरोप लगाइएको छ । साथै पालिकाविरुद्ध काम गरेको भन्दै उनीहरुलाई कारवाही माग गरिएको हो । सामाजिक संजालमा पालिकाको कामविरुद्ध लेखेको आरोप छ । घर्ती स्थानीय व्यवसायी हुन् भने रोका शिक्षक हुन् । उनीहरुले गाउँपालिकाको काम कारवाहीबारे पटकपटक सामाजिक संजालमार्फत् ध्यानाकर्षण गर्दै आएका छन् ।
दुइ जना युवाले बिभिन्न माग राखेर धेरै पहिलादेखि गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिलाई पारदर्शी बन्न, उत्तरदायी हुन् र जनताले उठाएका मागको सम्बोधन गर्न माग गरेका थिए । उनीहरुले बेला बेलामा यी बिषयमा सामाजिक संजालमा पनि लेख्ने गरेको बताए । उनीहरुले बिहिबार पत्रकार सम्मेलन गरेर गाउँपालिका अध्यक्षले चढ्ने निजी सवारी साधनमा गाउँपालिकाको इन्धन भरिएको बताए ।
सेतो प्लेटमा के भयो हामीलाई थाहा छैन, रातो प्लेटमा अध्यक्षले इन्धन भर्ने र मर्मत खर्च पनि पालिकाबाट कसरी लिए भन्ने जिज्ञाशा राखेका थिए । अध्यक्ष धनबहादुर बिकले भने अध्यक्ष भएकोले इन्धन भर्ने अधिकार भएको दाबी गरेका छन् । उनीहरुले ताराखोला बहुउद्देश्यीय सहकारीलाई लाखौं अनुदान दिइएको पनि बताए ।
अध्यक्षले संचालन गरेको ढुंगा उद्योगले गाउँपालिकामा कर नतिरेको तथा निर्माणधिन जलविद्युत आयोजनाबाट गाउँपालिकालाई कर नतिरेको लगायतका मुद्दामा समेत उनीहरुले पटक पटक पालिकामा पुगेर सोधपुछ गरेको बताएका छन् । लिखित सूचना माग गरेपछि कतिपय तथ्य भेटाएको उनीहरुले बताए । सूचनाको हक प्रयोग गर्दा घर्ती र रोकाले अध्यक्ष धनबहादुर बिक चढ्ने निजी गाडीमा एक बर्षभित्र मर्मतका लागि ५५ हजार ५ सय ५९ रुपैयाँ र इन्धनका लागि २ लाख २३ हजार ८ सय ८० रुपैयाँ गरी २ लाख ७९ हजार ४ सय ३९ रुपैयाँ भुक्तानी भएको देखिएको छ ।
सहकारीमा ३८ लाख रुपैयाँ शेयर लगानी गरेको र ९० लाख रुपैयाँ अनुदान दिएको समेत खुलेको छ । घर्ती र रोकाले सामाजिक संजालमा टिप्पणी गर्दा नेपालको कानून बिपरित भएको भए कारवाही भोग्न तयार भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले पनि उनीहरुलाई हाजिर हुन पत्राचार गरेकोबारे प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिए । उनीहरुको छानविन भैरहेकोले अध्ययनपछि मात्र के भएको स्पष्ट जानकारी हुने केसीले बताए ।
सामाजिक संजालमा बिकबिरुद्ध उनीहरुले नक्कली सहिद खडा गरेको, विकास निर्माणका काममा नभएको टिप्पणी गरेको तथा कार्यालयको काममा अबरोध पु¥याइरहेको आरोप गाउँपालिकाले लगाएको छ । पत्रकार सम्मेलनमा उनीहरुले संचारमाध्यमले तथ्यमा आधारिक समाचार लेखिदिन आग्रह गरेका थिए ।





