बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

करारमा कर्मचारी राखेर काम गर्छौं : मन्त्री जिसी

करारमा कर्मचारी राखेर काम गर्छौं : मन्त्री जिसी


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८०, शनिबार

बागलुङ/ गण्डकी प्रदेश सरकारले कृषि तथा पशुसेवाको क्षेत्रमा रहेको जनशक्ति अभाव तत्कालका लागि समाधान गर्न करारमा जनशक्ति भर्ना गर्ने भएको छ । स्थानीय तह र प्रदेश मातहतका कार्यालयमा रहेको जनशक्ति अभावको समस्या समाधानका लागि करारमा कृषि प्राबिधिकहरु नियुक्त गर्न लागेको हो ।

जनशक्ति अभावका कारण कृषि तथा पशुपंक्षी पालनको क्षेत्रमा विनियोजन भएका कार्यक्रम कार्यान्वयनमा समस्या भैरहेकाले करारमा कर्मचारी नियुक्त गर्न लागिएको कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले बताए । उनले जनशक्तिको व्यवस्थापनले कृषि तथा पशुपंक्षीका कार्यक्रम सञ्चालन गर्न सहज हुने बताए । तत्कालका लागि लोकसेवा आयोगमार्फत जनशक्तिको व्यवस्थापनमा लाग्दा समय लाग्ने भएकाले दरबन्दी भएका ठाउँमा करारमा कर्मचारी नियुक्त गरिने मन्त्री जिसीले बताए ।

कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङले आयोजना गरेको चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री जिसीले किसानका समस्या पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रदेश सरकार तयार रहेको बताए । उत्पादन बृद्धि र रोजगारी सिर्जना हुनेगरी सरकारले कार्यक्रम ल्याएकाले त्यसको कार्यान्वयन र किसानलाई लाभ दिन मन्त्री जिसीले कर्मचारीहरुलाई निर्देशन दिए । मन्त्री जिसीले गण्डकी सरकारले चालु आर्थिक वर्षका लागि ल्याएका कार्यक्रम किसानकै हितका लागि भएकाले किसानको चाहना अनुसार कार्यक्रम परिमार्जन हुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले कृषि र वन पैदावारको उपयोगले देशलाई समृद्ध बनाउन सकिने धारणा राखे । उनले उद्योग पर्यटनको क्षेत्रलाई पनि कृषिसँग जोडेर लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यहरु डिल्लीराम सुवेदी, जीत शेरचन, कुशुम बुढा मगरले बोलेका थिए । संविधानसभा सदस्य नरबहादुर पुन, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले कार्यक्रममा धारणा राखेका थिए ।

सार्वजनिकीकरण कार्यक्रममा किसानहरुको समेत उल्लेख्य उपस्थिति थियो । उनीहरु कृषि उपजको भण्डारण, बजारीकरण र उत्पादनमा अनुदानका कार्यक्रम हुनुपर्ने लगायतका सुझाव दिए । ‘आज कृषकको नाम बेचेर, पेशा बाहिरका मान्छेहरुले अनुदानको लाभ लिएका छन्’ ढोरपाटनका किसान झोकेन्द्र भण्डारीले भने, ‘किसानलाई अनुदान होइन, ऋण मात्रै सहज हिसाबले पाउने वातावरण भएपनि किसानले धेरै गर्न सक्छन् ।’ किसानले व्यवसायीक उत्पादनमा लाग्न ऋण नपाएको, वास्तविक किसान सरकारी अनुदानबाट टाढा रहेको र सरकारका कार्यक्रम एउटै व्यक्ति वा समुहमा पुग्ने गरेको गुनासो राखेका थिए ।

कृषि ज्ञान केन्द्रका कार्यक्रमको बिषयमा कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कुमार पुन र भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका कार्यक्रमको बिषयमा केन्द्र प्रमुख डा. ऋषिराम सापकोटाले प्रस्तुतीकरण गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->