बागलुङ/ बागलुङ नगरपालिकाले ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम सुरु गरेको छ । सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि नगरले बेञ्च वितरण थालेको हो ।
एउटा बेञ्चमा दुई जना मात्रै विद्यार्थी बस्न मिल्नेगरी तयार गरिएका बेञ्चहरु नगरपालिकाले १४ वटा विद्यालयका लागि उपलव्ध गराएको हो । हरेक वडाको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीका लागि पुग्नेगरी यो बर्ष बेञ्च वितरण गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
‘यो अभियानलाई सबै विद्यालयका सबै कक्षामा पु¥याउँछौं’ पोखरेलले भने ‘गत आर्थिक बर्षको २० लाख रुपैयाँ बजेटले १ सय ६७ बेञ्च खरिद गरिएको थियो, यो बर्ष पनि २० लाख रुपैयाँ बजेट बिनियोजित छ ।’ नगरपालिकाले पहिलो चरणमा माध्यमिक तहका विद्यार्थीका लागि बेञ्च उपलव्ध गराउने छ ।
यो बर्ष रामरेखा आधाभुत विद्यालयले ८, रुद्रेपिपल माविले ३३, धवलागिरी बिरेन्द्र माविले १६, कुँडुले माविले १२, कृष्ण आधारभुतले ६, लहरेपिपल माविले ७, तितौरे माविले १५, बौंडेचौर माविले १०, तित्याङ माविले ११, भैरव माविले ११, जनता आविले ९, लक्ष्मीनारायण आमाविले ९, त्रिभुवन माविले १४ र जनताधनले ८ बेञ्च पाएका छन् ।
नगरपालिकाका २४ माध्यमिक, ९ आधारभुत र ४९ वटा प्राथमिक तहका गरी ८२ विद्यालयमा यो कार्यक्रम लागु गरिने छ । ‘एकै बर्ष बजेटले पुगेन, कार्यान्वयन पनि कठिन हुन्छ’ पोखरेलले भने ‘क्रमशः सबै विद्यालयमा पुग्ने भएकाले कोही छुट्दैनन् ।’
नगरले तयार गरेका बेञ्चमा दुई जना विद्यार्थी आरामले बस्न सक्छन् भने उनीहरुको झोला तथा खाजा राख्नका लागि बेञ्चमा नै व्यवस्था मिलाईएको छ । बेञ्च हस्तान्तरण गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले शिक्षामा पूर्वाधार र जनशक्तिको व्यवस्थापनले मात्रै गुणस्तर बृद्धि हुने बताए । उनले विद्यार्थीले सर्वसुलभ पूर्वाधार पाउँदा राम्रोसँग सिकाउने गुरु नपाउने अवस्था आउन नदिन शिक्षकहरु जिम्मेबार हुन आग्रह गरे ।
‘हामीले बालमैत्री शासनको परिकल्पना गरेर आउँदो बर्ष बालमैत्री नगर घोषणा गर्ने योजनामा छौं’ श्रेष्ठले भने ‘बालबालिकाका लागि विद्यालयमा सर्वसुलभ पूर्वाधार तयार गर्नु हाम्रो दायित्व हो ।’ नगरपालिकाले विद्यालयहरुमा सेनेटरी प्याडसमेत वितरण गरेको छ । नगरभित्रका आधारभुत र माध्यमिक तहका सबै विद्यालयलाई सेनेटरी प्याड उपलव्ध गराईएको नगरशिक्षा अधिकारी पोखरेलले बताए ।
‘यो बर्ष गुणस्तरीय प्याड खोजी खोजी उपलव्ध गराएका छौं, महिनावारी हुने छात्राहरुका लागि यसले निकै सहयोग गर्छ’ पोखरेलले भने ‘बर्षभरी पुग्नेगरी नै विद्यालयहरुले प्याड पाएका छन् ।’ संघीय सरकारको ससर्त कार्यक्रम भएकाले नगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामार्फत प्याड खरिद गरेर वितरण गरेको हो ।





