बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नियत र नियम राम्रो भए सहकारी बिग्रिँदैनन् : उपसभामुख थापा

नियत र नियम राम्रो भए सहकारी बिग्रिँदैनन् : उपसभामुख थापा


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८०, शनिबार

बागलुङ/ गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले नियत र नियम राम्रो भएका सहकारी संस्थाले मात्रै सदस्यहरुको हितमा काम गर्न सक्ने बताएकी छन् । नियत गलत भएका सहकारीका सञ्चालक र नियम पालना नगर्ने केही सहकारीका कारण सहकारी क्षेत्रकै बदनाम भैरहेको उनको भनाई थियो ।

स–सानो पुँजी संकलन गरेर बेरोजगारहरुलाई स्वरोजगार बन्न सहयोग गरिरहेका सहकारीमाथी साना–ठुला शहरका केही सहकारीमा आएको समस्या देखाएर प्रहार गर्ने काम भैरहेको थापाले बताईन् । ‘साहुको चर्को व्याजबाट सर्वसाधारणलाई बचाउन सहकार्य गर्न सहकारीको उदय भएको हो’ थापाले भनिन् ‘नेपालमा राणा कालदेखिनै गुठी लगायतका बिभिन्न नाममा सहकारी अनौपचारिक सुरुवात भएको हो, अहिले बिधि र बिधानमा चल्ने गरी सहकारीलाई व्यवस्थापन गरिएको छ ।’

गुहेली युनिक सञ्चार सहकारी संस्थाको शनिबार १७ औं साधारण सभा उद्घाटन गर्दै उपसभामुख थापाले सहकारीको सञ्चालन, नियमन र कारवाहीको अधिकार तीन तहकै सरकारमा बाँडिएको बताईन् । उनले देशभर रहेका २९ हजार बढी सहकारीमध्ये केही कारोवार बिग्रिएका सहकारीको मात्रै चर्चा हुने गरेको तर राम्रा सहकारीको कसैले अनुसरण नगरेको गुनासो गरिन् ।

‘ऋणीहरुले समयमा ऋण तिर्ने, सञ्चालकहरुले नियत र नियम बसमा राखेर काम गर्नुपर्छ’ थापाले भनिन् ‘अन्धभक्त भएर सञ्चालकहरुलाई सदस्यले विश्वास गरेका कारणले पनि सहकारी बिग्रएका हुन्, खबरदारी गरौं ।’

काठेखोला गाउँपालिका–२ भिमापोखरामा भएको साधारणसभामा बोल्दै काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर थापाले सहकारीका शेयर सदस्यहरु उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए । परम्परागत शैलीको उत्पादनलाई आधुनिक प्रणालीमा लैजाने र स्वरोजगार बन्नका लागि सहकारीको सहायता लिन थापाले आग्रह गरे ।

सहकारीका सल्लाहकार तथा काठेखोला–२ का अध्यक्ष बिद्यापति शर्माले स्थानीय सरकारले सहकारीहरुलाई जिम्मेबार बनाउने र सहयोग गर्ने काम गरिरहेको बताए । सल्लाहकार तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले सहकारीको मर्म बुझेर कारोवार गर्न शेयर सदस्यहरुलाई सुझाए ।

कार्यक्रममा सहकारीका सल्लाहकार चन्द्रमणी उपाध्याय, ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा, शेयर सदस्य बिष्णु सापकोटा, प्रगति सहकारीका अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार) लगायतले बोलेका थिए ।

सहकारीका सचिव सूर्य थापा र कोषाध्यक्ष टिकाराम शर्माले प्रस्तुत गरेका प्रतिवेदन साधारणसभाले पारित गरेको छ । सहकारीमा ९ सय १५ जना शेयर सदस्य एक करोडर बढी शेयर पुँजी छ । सहकारीले गत आर्थिक बर्षमा ९ लाख ५९ भन्दा धेरै खुद नाफा गरेको सहकारीका प्रबन्धक प्रसाद थापाले बताए । सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष गिता हमालको स्वागत र सचिव सूर्य थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साधारणसभाले गुहेली सञ्चार सहकारी संस्था र युनिक सञ्चार सहकारी संस्था गाभिएर बनेको तदर्थ समितिलाई नै बाँकी कार्यकालका लागि जिम्मेबारी दिएको छ । अध्यक्षमा खिमबहादुर कार्की, उपाध्यक्षमा गीता हमाल साही, सचिवमा सूर्यबहादुर थापा र कोषाध्यक्षमा टिकाराम शर्मा चयन भएका छन् । सदस्यहरुमा तारानाथ आचार्य, सीता शर्मा, तारा केसी कार्की र सिता किसान रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->