सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मुख्यमन्त्रीसँग ४२ तोला सुन, अर्थमन्त्रीसँग निजी वन र एकनाले बन्दुक, वनमन्त्रीसँग दुईवटा भैंसी

मुख्यमन्त्रीसँग ४२ तोला सुन, अर्थमन्त्रीसँग निजी वन र एकनाले बन्दुक, वनमन्त्रीसँग दुईवटा भैंसी


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८०, शनिबार

पोखरा/ ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गण्डकीका मन्त्रिपरिषद् सदस्यको आचारसंहिता विपरित झन्डै तीन महिना पछि गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेवसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

गण्डकीका मन्त्रिपरिषद सदस्यहरुको आचारसंहिता अनुरुप नियुक्तिको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका मन्त्रीहरुले आचारसंहिता अनुसार असार दोश्रो साताभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने थियो । तर,सो समयभन्दा पछि भएतापनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

सार्वजनिक विवरणा अनुसार मुख्यमन्त्री पाण्डेसँग ४२ तोला सुन छ । चाँदी पाँच सय तोला र २ सेट हीरा छ । जग्गा बेचेर हिरा किनेको उनले उल्लेख गरका छन । पाण्डेसँग १ सेट मोति पनि रहेको छ । गोरखाको पालुङटारमा जन्मेका पाण्डेसँग काठमाडांै महानगरपालिका ३ मा ९ आना २ दाम क्षेत्रफलमा बनेको घर छ । गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर छ । यी दुवै सम्पत्ति पैतृक रहेको उनले खुलाएका छन ।

एभरेस्ट बैंकमा मुख्यमन्त्री पाण्डेको २४ लाख ९६ हजार नगद मौज्दात छ । श्रीमती बिना पाण्डेसँग प्रभु बैंकमा मुद्धति खातामा ६० लाख नगद छ भने छोरा सुयोग्यराज पाण्डेको नाममा ग्लोबल आइएमइमा एक लाख ५६ हजार मौज्दात छ । श्रीमतीको नामको ६० लाख रुपैयाँको स्रोत तलब तथा उपदान रहेको छ ।

पाण्डले २३ लाख ऋण लिएको उल्लेख गरेका छन । उक्त ऋण राष्ट्रिय वाणिज्य बैंकबाट लिइएको हो । उनकी श्रीमतीको नाममा ३२ लाखको कार छ । आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आले तनहुँका हुन । सम्पत्ति विवरणमा उनले छ रोपनी १० आनामा फैलिएको निजी वन रहेको खुलाएका छन । पैतृक रुपमा २०५४ सालमा आफूले यो वन पाएको सम्पत्ति विवरणमा उल्लेख छ ।आलेसँग एकनाले १२ बोरको बन्दुक पनि छ । २०५४ भदौ ८ गते स्वआर्जनबाट ३३ हजारमा बन्दुक खरिद गरेको उनले खुलाएका छन । भिमाद ६ का मन्त्री आलेको वडा नं. ५ मा २५ कित्तामा जग्गा छ । वडा नं. ६ मा उनको पुख्र्यौली घर छ ।सगोलमा वडा नं. ५ मा नै पाँच कित्तामा जग्गा छ । कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय शेयर रहेको अर्थमन्त्री आलेले बताएका छन । पैतृक सम्पतिकै रुपमा २१ तोला सुन र २७ तोला चाँदी रहेको अर्थमन्त्री आलेले सम्पत्ति विवरणमा उल्लेख गरेका छन ।

मन्त्री आलेले ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको देखाएका छन ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापासँग एक लाख ६० हजारमा किनेका दुइवटा भैँसी छन ।

थापाको बागलुङ नगरपालिका ३ मा घरजग्गा छ । अंशबण्डा नभएको पैतृक सम्पतिका रुपमा बागलुङ– ११ मा ५ कित्तामा करिब ११ लाखमा व्यवसायबाट आएको रकमबाट खरिद गरेको थापाले उल्लेख गरेका छन ।थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेका छन् । थापासँग १७ तोला सुन, २ केजी चाँदी छ । २ लाख २५ हजार नगद मौज्दात देखाएका थापाले विभिन्न कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर रहेको खुलाएका छन । थापाले ३७ लाख रुपैयाँ ऋण लिएको देखाएका छन ।पिकअप गाडी ११ लाख ५० हजार र ४ लाख ५० हजार रुपैयाँमा रसियन बेलारुसी ट्याक्टर खरिद गरेको खुलाएका छन ।

गण्डकीकी सामाजिक विकासमन्त्री सुशिला सिंखडासँग पतिको नाममा जुम्लामा सम्पत्ति छ । सुनचाँदी लगायत गरगहना केही नभएकी मन्त्री सिंखडाको ललितपुरको गोदावरीमा ६०४ वर्ग मिटर जग्गा छ । गोरखाकी सिंखडाले दाइ विष्णु सिंखडाको नाममा पुख्र्याैली जग्गा रहेको खुलाएकी छन । नवलपुरको गैंडाकोटमा १५ लाख रुपैयाँमा खरिद गरेको ६ हजार ३ सय ९५ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेकी छन ।
श्रीमान जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका २ मा पुख्र्याैली सम्पत्ति छ ।

व्यापार व्यवसायबाट विभिन्न बैंकमा १ लाख ७० हजार मौज्दात रहेको सिंखडाले खुलाएकी छन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ६ लाख ७५ हजार रुपैयाँ ऋण दिएको विवरणमा उल्लेख छ । उनले १० लाख बराबरको विभिन्न कम्पनीको सेयर रहेको खुलाएकी छन् । सुनचाँदी आफूसँग नरहेको उल्लेख गरेकी सिंखडाले २६ हजारको मोबाइल र ७ हजारको घडी किनेको खुलाएकी छन् ।

कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीसँग ट्याक्टर छ । उक्त ट््याक्टर स्वार्जनबाट खरिद गरेको उनले खुलाएका छन । नवलपुरमा १ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर छ । नवलपुरमा नै १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जिसीले उल्लेख गरेका छन् ।उनीसँग ४० तोला सुन र २० तोला चाँदी छ । त्यो पनि उनले पैतृक नै भएको बताएका छन् । जिसीको एउटा सहकारी र ५ वटा बैंकमा नगद मौज्दात छ । तर, कति भन्ने उनले खुलाएका छैनन ।गण्डकी सरकारकी प्रवक्ता तथा उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले स्याङ्जा वालिङ नगरपालिका–८ मा पुख्र्यौली घरजग्गा देखाएकी छन् । वालिङ–८ मा परिवारका सदस्यहरुको नाममा २७ वटा कित्तामा जग्गा रहेको अर्यालले बताएकी छन ।

अर्यालले २३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन । तलबभत्ता सापटी गरेर परिवारका नाममा ३ लाख ५७ हजार मौज्दात रहेको अर्यालले खुलाएकी छन ।

अर्यालको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा मोटरसाइकल छ । अर्यालले ९५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेकी छन । २ लाख ८५ हजार बराबरको विभिन्न सहकारी, रेडियो, जलविद्युत आयोजनामा शेयर रहेको अर्यालले बताएकी छन ।भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आफूसँग ट्याक्टर र स्काभेटर रहेको सम्पत्ति विवरणमा खुलाएका छन । जुग्जालीको म्याग्दी मालिका गाउँपालिकामा २ वटा घर छ । एउटा आफ्नै नाममा ११ आनामा बनेको एकतले ५ कोठाको पक्की पैतृक घर भएको बताएका छन ।

मालिकामै आफ्नो नाममा १५ रोपनी जग्गा र बाबु खड्गबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा रहेकोे देखाएका छन । मन्त्री जुग्जालीले आफूसँग ७ तोला सुन रहेको देखाएका छन् । जसमध्ये ०७० सालमा ४ लाख ५० हजार रुपैयाँमा ५ तोल र ०७३ सालमा २ तोल सुन जोडेको बताएका छन । गरिमा विकास बैंकमा व्यवसाय र तलबबाट ६ लाख ४० हजार र प्रभु बंैंकमा ५० हजार व्यवसायबाट प्राप्त रकम जम्मा गरेको उल्लेख गरेका छन ।

जुग्जालीले हाइड्रो एम्पाएर प्रालिमा २५ लाखको सेयर ऋणमा खरिद गरेका छन । परिचय नेपाल सहकारीमा व्यवसायबाट प्राप्त ४ लाख रुपैयाँ र मितेरी बचत तथा ऋण सहकारी संस्थामा १ लाख शेयर छ । उनको ६० लाख ऋण छ ।

मन्त्री जुग्जालीले आफूसँग एउटा ट्याक्टर र मोटरसाइकल भएको उल्लेख गरेका छन । २०७५ सालमा २३ लाख रुपैयाँमा ट्याक्टर र ०७४ मा ३ लाख ७० हजार रुपैयाँमा मोटरसाइकल खरिद गरेका छन । १ सय ५० वटा सुन्तलाको बोट र बाबु खड्ग जुग्जालीको नाममा रहेको उक्त सुन्तलाबारीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी भइरहेको हुने उनले खुलाएका छन ।

९५ लाखको स्काभेटरमा मन्त्री जुग्जालीले २० लाख लगानी गरेका छन । उनी ०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीको मालिका गाउँपालिका ६ को वडाध्यक्षमा निर्वााचित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->