पोखरा/ पोखराको मध्यभागबाट बग्ने फिर्के खोलाको खोलाघर नापजाँच सम्पन्न भएको छ । अतिक्रमणको चरम चपेटामा परेको फिर्केखोलाको खोलाघर नापजाँच सम्पन्न पश्चात प्रतिवेदन समेत सार्वजानिक भएको छ ।
फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन–२०८० ले फिर्के अतिक्रमणमा पर्नुको कारण भोटबैंकको रुपमा प्रयोग गर्नुरहेको बताएको छ । विभिन्न राजनैतिक पार्टीका नेताले आफ्ना स्वार्थ पूरा गर्न खोला किनारमा बस्ने नागरिकलाई प्रलोभन देखाइ भोटबैंकको रुपमा प्रयोग गरेको भेटिएको हो । पटक–पटक फिर्के अतिक्रमणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो । फिर्के अतिक्रमण रोक्ने अख्तियारले प्रयास गर्दैआएपनि विफल हुनु परेको थियो । प्रतिवेदनमा भनिएको छ,‘ ‘खोला किनारमा बस्ने नागरिकहरूलाई विभिन्न पक्षहरूबाट जमिन उपलब्ध गराइदिने प्रलोभन देखाइ भोटबैंकको रूपमा प्रयोग गर्ने गरेकोसमेत पाइयो ।’
फिर्के अतिक्रमण व्यक्तिदेखि सरकारी कार्यालयसम्मले गरेका छन् । प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेका छन् । त्यसमध्ये ३५ वटा स्थायी, ९७ संरचना अस्थायी र २८ वटा विभिन्न सरकारी तथा संघसंस्थाका संरचना छन् । खोलाघरनै मिचेर ९७ अस्थायी बनेका संरचनामध्ये दायाँतर्फ ५० र बायाँतर्फ ४७ संरचना बनको पाइएको प्रतिवेदनमा उल्लेख छ । ‘कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।
फिर्केखोला मिचेर ३५ वटा व्यक्तिगत स्थायी संरचना बनेका छन् । जसमध्ये दायाँतर्फ १८ वटा र बायाँतर्फ १७ वटा छन् । संस्थागत रुपमा फिर्के मिच्नेमा सशस्त्र प्रहरी बल, बराल समाज, पुन समाज, सोंपाल तमू समाज, व्यर्थन महिला समूह, राधाकृष्ण मन्दिर, सामुदायिक भवन छन् ।
स्थायी संरचना नै बनाएर फिर्के मिच्नेमा लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, बराल समाज मन्दिर, सोंपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, फोटोग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन, पुनमगर समाज घर, बराल कल्याण मन्दिर, लायन्स क्लब, इलेक्ट्रिक एसोसियसन, फिर्के तमु समाज छन् । नापजाँचका क्रममा फिर्केखोला कम्तिमा ३.३० मिटरदेखि ४० मिटरसम्म फराकिलो रहेको पाइएको बताइएको छ । तर, फिर्केखोलाको पुछार फेवाताल गाईघाटमा माटोले पुरिएर ११ रोपनी ४ आना क्षेत्रफल माटो र फोहोरले पुरिएर चौर बनिसकेको अध्ययनले देखाएको छ । ८ किलोमिटर लामो दुरीमा बग्ने फिर्केखोला फेवातालमा समाहित हुन्छ । खोलाघर नापजाँचका लागि २०३२ सालको नक्सालाई आधार मानिएको हो । उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन ।
फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ । एसियाली विकास बैंकको पोखरामा दीगो पर्यटनका लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरको भनाइ छ ।
प्रतिवेदन बुझ्दै मेयर धनराज आचार्यले अब कार्यपालिकाले निर्णय गर्ने र सोहीअनुसार अगाडि बढ्ने सुनाए । उनलेले फिर्केलाई पर्यटकीय क्षेत्र बनाउने योजना रहेको बताए । ‘यो प्रतिवेदन कार्यपालिकामा पेस हुन्छ । कार्यपालिकाले के निर्णय गर्छ त्यहीअनुसार नै अगाडि बढ्दै जानेछौं । फिर्के मिचेर बनेका संरचना हट्नेछन् त्यसमा कुनै शंकै छैन,’ उनले भने ।
पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वमा ०७५ पुस ६ गते बसेको कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमै नआई हालको कार्यपालिकाले मापदण्ड ५ मिटर बनाउने तयारी गरेको छ ।
पोखरा महानगरपालिकाका सर्भेक्षक बासुदेव पौडेलको संयोजकत्वमा इन्जिनियर महेन्द्र बहादुर गोदार, न.स. ई. ईश्वर काफ्ले र सन्जित प्रधान, सर्भेक्षक बद्रि प्रसाद तिवारी तथा अमिनहरु दिवाकर सुवेदी, प्रकाश सिग्देल, गणेश गिरी, सन्दिप सुवेदी, शुशिला सुनुवार, सन्देस सापकोटा, सदिक्षा खड्का, राजेश लुड्गाली मगर, गोविन्द खड्का, कृष्ण कठायत, लाल किशोर मण्डल, झक्क बहादुर थापा, हरिबहादुर राना, जिवन कठायत, जितेन्द्र कुमार शाहकानु र रन्जन बैठाको टोलीले फिर्केखोलाको नापजाँच गरेका हुन् ।





