पोखरा/ कास्कीमा मापसे गरी सवारी हाक्दा दुई दर्घटनामा एकको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ग १ च ७०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुँदा ट्याक्टरका सह–चालक सुजन नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।
सडकबाट अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका तनहुँ घर भइ पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय सुजनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकले जानकारी दिए ।
यस्तै आइतबार विहान फेवातालमा कार खसेको छ । मापसे गरी तीब्र गतिमा कार चलाउँदा अनियन्त्रित भइ तालमा खसेको हो । ग ३ च २३९२ नम्बरको कार पोखरर १८ रातोमाटे डाडाँको सडकबाट फेवातालमा खसेको पाठकले जानकारी दिए । कार सेदीबाट खपौदी जाँदै गरेको थियो । कार सडकबाट करिब ३० मिटर तल फेवातालमा खसेको हो । कार चालक शम्भु थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘दुवै मापसे गरेका घटना हुन् । ट्याक्टर चालक अझै निद्रामा छन् सहचालकको मृत्यु भएको छ । फेवाताल क्षेत्रमा पनि मापसे गरी सवारी चलाउँदा दुर्घटना भएको हो त्यहाँ मानवीय क्षति भएको छैन सवारीमा मात्रै क्षति पुगेको छ,’ पाठकले भने ।





