सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

डाक्टर कुट्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐनको मुद्दा, सात दिन म्याद थप

डाक्टर कुट्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐनको मुद्दा, सात दिन म्याद थप

दुवैपक्षका दुइथरि माग, वार्ता असफल ।


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८०, बुधबार

पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल सोमबारदेखि तनावग्रस्त छ । उपचारको क्रममा एक महिलाको निधनपछि आफन्तजनले होहल्ला सुरु गरे । चिकित्सकमाथि आरोप लगाउँदै मृतकका आफन्तहरु आक्रोशित हुँदै अस्पतालमा तोडफोड गरे ।अस्पतालको सिसा फुटाउनेदेखि डाक्टरमाथि नै कुटपीट पनि हुन पुग्यो ।

डाक्टरमाथि नै कुटपीट भएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुले प्रतिवाद गर्न खोजेका थिए ।परिस्थिति तनावग्रस्त बन्ने देखिएपछि अस्पताल परिसरमा ठुलो मात्रामा सुरक्षाकर्मी खटिएका थिए । मृतकका आफन्त पक्षधरहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाइरहेका छन । उनीहरुले अस्पतालले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन ।

यता, डाक्टर कुटिएको विरोधमा मंगलबार देशभर प्रदर्शन भयो । पोखराका सबै अस्पतालमा कार्यरत चिकित्सकहरुले प्रदर्शन गरे । ओपिडी बाहेकका अन्य सेवा बन्द भए । डाक्टरमाथि कुटपीट गर्नेलाई कानूनी कारवाही हुनुपर्ने माग उनीहरुको छ ।

दुवै पक्षको अडानका बीच मणिपाल अस्पताल प्रशासनले हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन । अस्पतालमा कार्यरत एक कर्मचारीका अनुसार हालसम्म २३/२४ पटक वार्ता बसेको छ । तर, मंगलबार नै निष्कर्षमा पुग्ने सम्भावना छैन ।

घटना हो, सोमबार दिउँसो १ बजेको । आइतबार लमजुङको सुन्दरबजार नगरपालिका ५ की ५७ वर्षीय सुकमाया दुरालाई आफन्तहरुले उपचारको लागि मणिपाल ल्याउँछन । दुरामा स्वाश्शप्रश्वास तथा ढाड दुख्ने समस्या थियो ।त्यसकै उपचारको लागि आइतबार अस्पताल ल्याइएकी दुराको सोमबार दिनको १ बजे मृत्यु हुन्छ । उपचार गर्न भनेर ल्याइएकी दुराको मृत्यु भएपछि आफन्तहरु आक्रोशित हुन्छन । उपचारमा डाक्टरले लापरवाही गरेको आरोप लगाउँछन र तोडफोड सुरु गर्छन । उनीहरुले मृत्यु हुनाको कारण खुलाउनुपर्ने माग राख्दै नाराबाजी गर्न थाल्छन ।त्यही भीडको निसानामा पर्छन, डाक्टर अनिल शाह ।

डाक्टर कुटिएपछि अस्पतालमै इन्टर्न गर्ने स्वास्थ्यकर्मीहरुले पनि प्रतिवाद गर्न खोज्छन । त्यसपछि अस्पताल परिसरमा ठुलै भीडभाड हुन्छ । मृतकका आफन्तहरुले पनि पोखरामा रहेको थप साथीहरुलाई बोलाउँछन् । बाहिरबाट आएका युवाहरुको साथ लिएर होहल्ला बढेपछि सुरक्षाकर्मीको संख्या बढाइएको थियो ।

प्रहरीले डा. शाहमाथि कुटपिट गर्ने पोखरा ५ मालेपाटनका ३४ विनय गुरुङलाई नियन्त्रणमा लिएको थियो । सोमबार प्रहरी नियन्त्रणमा रहेको गुरुङमाथि अनुसन्धानको लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।पक्राउ परेका गुरुङमाथि प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

तर, सोमबार गुरुङमात्रै होइन, चिकित्सकलाई पनि कास्की प्रहरीले नियन्त्रणममा लिएको थियो । प्रहरीले सुरक्षा संवेदनशिलतालाई मनन गरि फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेश कुमार विकलाई नियन्त्रणमा लिएको र मंगलबार बिहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मिन बहादुर गुरुङको रोहरमा डा. गिरधारी शर्माको जिम्मा लगाएर छाडिएको जनाएको छ ।

तर, डा. दिनेश कुमार विकमाथि भने प्रहरीले नै आक्रमण गरेको खुलेको छ । मणिपालमा चिकित्सकमाथि हातपात भएको खबर पाएपछि त्यहाँ पुगेका विकलाई प्रहरी निरीक्षक मदन श्रेष्ठले नै हातपात गरेका थिए । मणिपाल अस्पताल भित्र पुगेर मृतकका आफन्तका अगाडि आफूले डाक्टर कुटेर आएको सगर्व घोषणा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।भीडमा पुगेर अपशब्द बोल्दै उनले भनेका छन, ‘मैले साफ चुटेर आएको छु ।

अनुहार फुटेर रगत नै रगत बनाएर आएको छु ।’भीडलाई उत्तेजित पार्नेगरि भाषण गरेका श्रेष्ठको बोलीको चर्को आलोचना भइरहेको छ । प्रहरीले यसबारेमा कुनै आधिकारिक जानकारी भने दिएको छैन ।यता, अस्पतालमा कार्यरत आवासीय चिकित्सक तथा इन्टर्नहरुले हातपात गर्नेलाई बिना धरौटी समेतको जेल चलान गर्नुपर्ने माग राखेका छन । एक विज्ञप्ती जारी गरि उनीहरुले सोमबार साँझा ६ बजेदेखि नै ओपिडी, वार्ड, आइसियु, इमरजेन्सीलगायत सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->