पोखरा/ नेकपा एमाले गण्डकीको पहिलो अधिवेशनको लागि ११ वटै जिल्लाबाट प्रतिनिधि छनोट भएका छन् । एमालेले सवै जिल्लाका पालिकास्तरीय भूगोलबाट प्रतिनिधि छनोट गरेको हो । जम्माजम्मी ९०५ देखि ९१० को हाराहारीमा प्रतिनिधि आएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले बताए । उनका अनुसार समावेशीताको आधारमा चुनिएका यी प्रतिनिधिले नै आगामी नेतृत्व चुन्नेछन् ।
एमाले गण्डकीको पहिलो अधिवेशनको असोज १५ गते अध्यक्ष ओलीले पोखराको अमरसिंहचोकमा उद्घाटन गर्ने कार्यंक्रम तय भएको छ । उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र र चुनावी कार्यक्रम सुरु हुने सचिव दवाडीले बताए । दवाडीसहित हालका अध्यक्ष नवराज शर्मा र सवै पदाधिकारी प्रतिनिधि चुनिएका छन् । दवाडीसहित वर्तमान अध्यक्ष शर्मा र उपसचिव रश्मी आचार्य पनि अध्यक्षको दौडमा छन् ।
यद्यपि, गण्डकीका प्रतिनिधि छनोटमै भागबण्डा भएपछि उनीहरुले उम्मेदवारी भने घोषणा गरेका छैनन् । एमालेको विधानले प्रदेश अध्यक्षलाई पोलिटब्यूरो सदस्य बराबरको हैसियत दिएको छ । त्यसैले यो पदमा आउनको लागि केन्द्रीय सदस्य भइसकेका नेताहरुले पनि चाहना राखेका छन् । त्यसरी चाहना राख्नेमा कास्कीका कृष्ण थापा र राजीव पहारी,लमजुङका मायानाथ अधिकारी तथा गोरखाका रामशरण बस्नेत रहेका छन् ।
उनीहरु अध्यक्ष बन्ने मनशायले नै प्रतिनिधि बनेर आएको एमाले स्रोतले जानकारी दिएको छ । उता, हालका गण्डकी प्रदेश सचिवालय सदस्य बागलुङका अध्यक्ष हीराबहादुर केसीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केसीले एमालेले संचालन गरेको मिसन ग्रासरुट अभियानको मर्म अनुसार पार्टीबाट विमुख बनेका युवाहरुलाई पार्टीमा ल्याउन, नयाँ पुस्ताले सोध्ने प्रश्नको उत्तर दिनको लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् । वर्तमान सभापति नवराज शर्मा पनि केन्द्रीय नेतृत्वको आशीर्वादसहित अध्यक्ष दोहो¥याउने मनस्थितिमा देखिन्छन् ।
सर्वसम्मतिको नाममा ‘गुटतन्त्र’
एमाले गण्डकीमा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच अघोषित गुटबन्दी रहँदै आएको छ । वर्तमान अध्यक्ष केपी ओली शक्तिमा नहुँदा पनि ओलीकै पक्षमा रहेका यी दुई नेता गण्डकीको हकमा भने ‘विपरीत ध्रुव’मा रहँदै आएका छन् । यी दुई नेता नमिल्दाको फाइदा वर्तमान उपाध्यक्षहरु विष्णु पौडेल र महासचिव शंकर पोखरेलले उठाउँदै आएका छन् । त्यसमा अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि बेलाबेला हात हाल्छन् । तर, गण्डकीमा लडाईं खगराज र पृथ्वीसुब्बाबीच नै हुन्छ । गण्डकी प्रदेशको आगामी अध्यक्ष र पदाधिकारी कसलाई बनाउने भन्नेमा पनि यी दुई नेताको चासो रहेकै छ । अहिले नेतृत्वको चाहना गरेका नेताहरु पनि उनीहरुको मुख ताकेर बसेको एमाले स्रोतले बतायो । त्यसो त, प्रतिनिधि छनोटमै अघोषित रुपले दुई समूहबीच प्रतिस्पर्धा भयो ।
‘यो पटक पालिका तहमा धेरै युवा र अवसर नपाएका नेताहरुले प्रतिनिधि बन्ने चाहना राख्नुभएको थियो तर ती सवैलाई निषेध गरियो’,एमाले गण्डकीका एक सचिवालय सदस्यले भने,‘ सहमतिको नाममा आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँदै, प्रतिस्पर्धीको बाटो छेक्दै सर्वसम्मतिको नाममा प्रतिनिधि भागबण्डा गरियो ।’ उनले त्यसको पुष्टि गर्ने आधार पोखरा महानगर नै भएको पनि बताए । उनका अनुसार पोखरा महानगरमा ८७ जना प्रतिनिधिका लागि २८८ जनाको उम्मेदवारी परेको थियो । प्रतिस्पर्ध धेरै हुादा निर्वाचनमै जानेसम्मको स्थिति बनेको थियो । तर, सहमतिको नाममा त्यहाँ धेरै युवा आकांक्षीहरुको मन कुँड्याइयो । सहजीकरणको लागि भन्दै पोखरा महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपाने, कास्की जिल्ला कमिटीका अध्यक्ष मनबहादुर गुरुङ, केन्द्रीय सदस्यद्वय कृष्ण थापा र भीम कार्की सम्मिलित समिति बनाइयो ।
सो समितिमा रहेका दीलिप र कृष्ण थापा खगराज अधिकारीपक्षीय हुन् भने जिल्ला अध्यक्ष मनबहादुर र भीम कार्की पृथ्वीसुब्बा निकट रहेका छन् । उनीहरुको निर्णय अनुमोदन गर्न जिल्ला इन्जार्ज थममाया थापासहित नेताहरु खगराज अधिकारी र जगत विकलाई जिम्मेवारी दिइयो । चुनाव नहुँदा केन्द्रीय सदस्य कृष्ण थापा र राजीव पहारीसहितका नेताहरु प्रतिनिधिमा अटाए । नेताको नजिक नहुनेलाई पाखा लगाइयो ।
स्रोतका अनुसार नेता खगराज अधिकारी आफ्ना प्रिय पात्र कृष्ण थापालाई गण्डकी अध्यक्ष बनाउन चाहन्छन् । गोरखाका रामशरण बस्नेत पनि हाल खगराजकै समूहमा छन् । खगराज चाहिँ सर्वसम्मत हुँदा थापा र नहुँदा मायानाथ अधिकारीको पक्षमा जाने स्रोतले दाबी ग¥यो । मायानाथ भने खगराज र पृथ्वीसुब्बा दुवैको उम्मेदवार बन्ने र निर्विरोध हुने दाउमा छन् । यता, पृथ्वीसुब्बाले भन्नासाथ अध्यक्षमा उम्मेदवारी दिन वर्तमान सचिव धनञ्जय तम्तयार छन् । तर, पृथ्वीसुब्बाले मुख खोलेका छैनन् ।
‘यो चुनावमा उहाँ बोल्ने मुडमा हुनुहुन्न, मिलाएर जाऔं भन्ने कुरा हो, निहुँ खोजे भने (खगराज समूहले) हराइदिने भन्ने छ,’ उनी निकट एक नेताले भने । त्यसो त, नेतृत्वको चाहना राख्ने वर्तमान उपसचिव रश्मी र राजीव पहारी पनि पहिले पृथ्वीसुब्बा निकट नै थिए, तर अहिले गुट फेर्ने मनिस्थितिमा रहेका छन् ।
कास्कीका सवै पालिकामा सर्वसम्मत हुँदा खगराजको क्षेत्र रुपामा चाहिँ चुनाव भयो । सो चुनावमा खुलातर्फ कालीदाश सुवेदी, सवावक्स मियाँ, राधाकृष्ण लामिछाने र शिव खनाल विजयी हुँदा यसअघि मेयरका आकांक्षी रहेका रुपाकोट रिसोर्टका मालिक पुष्प अधिकारी पराजित बने ।
केन्द्रीय सदस्यहरुलाई गण्डकी अध्यक्ष सुम्पन नहुने मत भारी बन्दै गएको स्रोतले बताएको छ । तल्लो कमिटीमा उम्मेदवार बने केन्द्रीय सदस्य पद गुम्ने भएकाले पनि केन्द्रीय सदस्यहरु जित्ने र नेताको आशिर्वाद बिना चुनावमा होमिने सम्भावना भने कम छ । अध्यक्ष केपी ओली स्वयंले गुटलाई निषेध गर्ने भनेकाले पनि नेताहरु खुलेर गुट नबनाउने तर मैदान छाड्न तयार नभएको स्रोतले बताएको छ ।





