सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

७२ करोडको कार्यक्रम रोकेपछि मुख्यमन्त्रीको आक्रोश, अधिकारमाथि हस्तक्षेप गरेको आरोप

७२ करोडको कार्यक्रम रोकेपछि मुख्यमन्त्रीको आक्रोश, अधिकारमाथि हस्तक्षेप गरेको आरोप


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८०, शनिबार

पोखरा/ सर्वोच्च अदालतले गत भदौ ६ गते अन्तरिम आदेशमार्फत सांसदहरुले योजना छान्न पाउने, रकम खर्च गर्न पाउने निर्वाचन पूर्वाधार सम्बन्धि कार्यक्रम कार्यान्वयनमा रोक लगायो । संघीय संसददेखि सातै प्रदेश सरकारलाई समेत लागु हुनेगरि जारी भएको उक्त आदेशको संघीय सांसदहरुले पनि विरोध गरे । प्रदेशमा पनि विरोध भयो ।

प्रतिनिर्वाचन क्षेत्रमा २÷२ करोडका दरले सांसदहरुले छान्ने योजनाका लागि भनेर गण्डकीले चालु आर्थिक वर्ष २०८०/०८१ मा ७२ करोड बजेट एकमुष्ट विनियोजन गरेको छ । अर्थ विविध शिर्षकमा विनियोजित ७२ करोड रकम पूर्वाधार विकास कार्यक्रमका लागि भनेर छुट्याइएको छ ।

तर, सर्वोच्चको आदेशपछि उक्त कार्यक्रम के हुन्छ भन्ने अन्योलताका बिचमा नै बिहिबारको प्रदेशसभामा एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रश्न गरे, “ आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा अर्थ विविध शिर्षकअन्तर्गत बजेट विनियोजन गरिएको पूर्वाधार विकास कार्यक्रमको प्रक्रिया कहाँ पुगेको छ ?”

गण्डकी प्रदेशसभामा पहिलोपटक प्रदेशसभामा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भयो । सोही कार्यक्रममा नेपालीले ७२ करोडको कार्यक्रमबारे मुख्यमन्त्रीलाई प्रश्न गरेका हुन ।
जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तरिम आदेशको पूर्णपाठ नआउँदासम्म कार्यक्रम कार्यान्वयनमा कठिनाई हुने जवाफ दिए ।

“अन्तरिम आदेशबाट कार्यान्वयन नगर्नु भनेको छ । यसको अन्तिम टुंगो, मुद्धाको किनारा नलागेसम्म कार्यक्रम अगाडि बढाउन अलिकति कठिनाई भएको छ ।” उनले भने ।
प्रदेशसभा सदस्य नेपालीलाई उनले दिएको जवाफ यत्ति हो ।

तर, उनी रोकिएनन । सर्वोच्च अदालतले कार्यपालिका र व्यवस्थापिकामाथि ठाडो हस्तक्षेप गरेको भन्दै आक्रोश पोखे ।
“हाम्रो संविधानले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकारलाई निर्दिष्ट गरेको छ । न्यायपालिकाको अधिकारप्रति कार्यपालिकाले हस्तक्षेप गर्न सक्दैन । व्यवस्थापिकाको अधिकारमा पनि न्यायपालिकाले हस्तक्षेप गर्न पाउँदैन ।” मुख्यमन्त्री पाण्डेले भने, “हामीले महसुस गरेका छौँ कि, सर्वोच्च अदालतबाट अन्तरिम आदेश भएको छ, मेरो विचारमा यो सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका माथिको ठाडो हस्तक्षेप हो ।”

सर्वोच्चको निर्णयलाई आफूले स्विकार गरेतापनि न्यायसम्पादन गर्दा सर्वोच्चले संविधान नहेरेको आरोप उनको छ । संविधानलाई सिरानीमा राखेर सर्वोच्चले निर्णय गरेको उनले बताए ।
मुख्यमन्त्री पाण्डेले भने, “निर्णय गर्दा सर्वोच्चले तर, हामी जुनजुन ठाउँमा आफूले नेतृत्व लिएर बसेका छौँ, हामीले आफ्ना निर्णयहरु गर्ने बेलामा एकपटक सबैले चाहे न्यायपालिकामा हामी बसौँ, चाहे कार्यपालिका वा व्यवस्थापिकामा बसौँ । संविधानलाई सिरानी राख्नैपर्छ, हेर्नैपर्छ, पल्टाउनुपर्छ, त्यसलाई सिरानीमा राख्ने होइन । त्यसलाई पल्टाएर निर्णय गर्नुपर्छ भन्ने कुरापनि म राख्न चाहान्छु ।”
सर्वोच्च अदालतले उक्त आदेश गर्दा संविधान र ऐनको कुनै दफा र धारा उल्लेख गर्न नसकेको उनको भनाई छ ।

“मलाई विश्वास छ, यो अन्तरिम आदेशप्रति न नेपालको संविधानको कुनै धाराको बर्खिलाप भनेर कोट गरिएको छ, न नेपालको वर्तमान ऐनको बर्खिलाप भनेर कोट गरिएको छ । कुनै पनि न्यायसम्पादन गर्दाखेरि या त, संविधानको धारा बर्खिलाप हुनुप¥यो वा ऐनको बर्खिलाप हुनुप¥यो त्यो उल्टाउनको लागि ।” उनले भने ।
लोकतान्त्रिक व्यवस्थामा सर्वोच्चले संविधान र ऐन मिचेर कार्य गरेको उनले आरोप लगाए ।

पूर्वाधार विकास कार्यक्रम आर्थिक ऐनसँग सम्बन्धित विषय भएको र राष्ट्रपतिले समेत फिर्ता गर्न नपाउने अवस्थामा सर्वोच्चले हस्तक्षेप गरेको उनको भनाई छ ।
“हाम्रो संविधानमा के कल्पना गरेर लेखिएको छ भने, आर्थिक ऐन सम्बन्धि विधेयक राष्ट्रपतिले पनि फिर्ता गर्न पाउँदैनन । अन्य विधेयकको सन्दर्भमा एकपटक पुनर्विचारको लागि संसदमा पठाउन सक्छन । तर, अर्थ सम्बन्धि विधेयक राष्ट्रपतिले पनि फर्काउन सक्दैनन भनेपछि यसको महत्व बुझ्नुभएको होला ।” उनले भने ।

गण्डकीमा ३६ वटा निर्वाचन क्षेत्र छन । हरेक क्षेत्रमा २÷२ करोडका दरले बजेट विनियोजन हुन्छ । उक्त बजेटको सीमाभित्र रहेर उक्त क्षेत्रका प्रत्यक्ष र समानुपातिक सांसदले योजना छान्छन । गतवर्षको पूर्वाधार विकास कार्यक्रम कार्यविधी अनुसार प्रत्यक्ष सांसदले ६० प्रतिशत अर्थात एक करोड २० लाख बराबरका योजना छान्न पाउँछन । सोही निर्वाचन क्षेत्रका समानुपातिक सांसदले भने बाँकी रहेको ८० लाख अर्थात ४० प्रतिशत बजेट बराबरका योजना छान्न पाउँछन ।

यही कार्यक्रमलाई अघिल्लो महिना सर्वोच्च अदालतले कार्यान्वयन नगर्नु भनि अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

“संविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को रूपमा पारित आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ४४५ सँग सम्बन्धित व्यवस्था र सातवटै प्रदेशका व्यवस्थापिकाहरूको आर्थिक वर्ष २०८०/८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाकार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू तथा ती व्यवस्थाहरूको लागि विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू÷नगराउनू,“ आदेशमा भनिएको छ ।

सर्वोच्चको उक्त आदेशको विरुद्धमा प्रदेशसभाका सदस्यहरु एकैठाउँमा छन । बिहिबार नै प्रदेशसभामा रोष्टममा उभिएर मुख्यमन्त्रीले जवाफ दिइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीले समर्थन जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->