मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जेष्ठ नागरिकका तीन बाहु

जेष्ठ नागरिकका तीन बाहु


  • शिवप्रसाद पाण्डेय
  • असोज १३ २०८०, शनिबार

भोली अक्टोबर १, अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवस हो । यस दिवसले प्रत्येक वर्ष जेष्ठ नागरिकको क्षेत्रमा केही सकारात्मक संदेशहरु प्रवाह गर्दै पनि आएको छ । हाम्रो परिवेशमा यो दिवस मनाउने शैली कर्मकाण्डियभन्दा धेरै माथि उठेको पाइदैन । हामीकाहाँ कोहि साठी वर्षमा र कोहि अठसठ्ठी वर्षमा वृद्ध हुन्छ भनिएको छ । जेहोस एकदिन जो कोहि पनि जेष्ठ नागरिक हुनै पर्छ । बूढो हुनु सम्बन्धित व्यक्तिको दोष होइन । यो प्राकृतिक नियम हो । मानिसलाई  दोहोरो प्राणी  मानिन्छ । मानिसले मात्र अघिल्लो पुस्तालाई हेरचाह गर्दछ । वृद्ध भएपछि खोजने भनेको सामिप्य र आत्मियता हो । सबै मानवले स्वतन्त्रता, सहभागिता,रेखदेख, आत्मसंतुष्टि र मर्यादा खोज्ने हुदा विश्वव्यापि मानव अधिकार घोषणा पत्रमा यीनै कुरा समेटिएको छ । हाम्रो समाज आफ्नो लागि भन्दा पनि सन्तानको लागि वढी सोच्ने समाज हो ।

त्यसैले वृद्ध उमेरमा सन्तानबाट धेरै अपेक्षा राख्नु स्वभाविकै मान्नु पर्दछ । जेष्ठ नागरिकको सम्मान गरौं ! सहभागिता बढाऔं ! संगसंगै रमाऔ ! जस्ता नाराहरु आजको समयमा विभिन्न कारणहरुले गर्दा नारैमा मात्र सीमित हुन पुगेका छन् । हाम्रो पूर्विय दर्शनले आमा सबै तीर्थ र बाबू सबै देवता भनेर सम्मान गरेको छ । एउटी आमा उपाध्यय, आचार्य र बाबुभन्दा शिक्षा संष्कार दिने पक्षमा धेरै माथि रहेको चित्रण गरेको छ । एउटी आमाले दस जना आफ्ना सन्तानको राम्रेरी हेरचाह गरेकी हुन्छिन् । तर दस जना छोराछोरीहरुले तीनै बृद्ध एउटी आमाको व्यवस्थापन गर्न सकि रहेका हुदैनन् । हिजो घरको मेरुदण्ड भएका बाबुआमा आज साउनको हलो जस्तै फालिएको अवस्थामा पुगेका छन् । अधिकांश जेष्ठ नागरिकहरुको कथा व्यथा रुपमा फरकफरक देखिए पनि सारमा त्यति भिन्नता रहेको पाइदैन । लेख्न पर्ने तर पढन नपर्ने चिन्हहरु जस्तै बृद्धाका मनोबैज्ञानिक समस्याहरु मनभित्र गुम्सिएर रहेका छन् । शिक्षा क्षेत्रमा बिद्यार्थी, अभिभावक र शिक्षकको त्रिकोणात्मक सम्बन्धलाई जसरी अर्थाइन्छ त्यसरी नै जेष्ठ नागरिकको व्यवस्थापनमा सरकार,परिवार र स्वयं जेष्ट नागरिकलाई तीन बाहुको रुपमा अर्थाउन सकिन्छ ।

सरकार : आजको लोकतान्त्रिक सरकार समतामूलक समाज निर्माणतर्फ उन्मुख हुनु पर्छ । जात र क्षेत्रको आधरले पाउने आरक्षण सुविधा सबैको लागि र सधैको लागि हुन सक्दैन । औसत विकासमा पुगेपछि यस्ता आरक्षण हटनु पर्छ ; हटाइनु पर्दछ । तर वृद्ध, महिला, वालक र असक्तलाई सधै सुविधा प्रदान गरिरहनु पर्ने हुन्छ । नेपालमा २०५२ सालबाट  रु.५०० मासिक भत्ता जेष्ठ नागरिकलाई दिन सुरु गरिएको थियो। जेष्ठ नागरिक ऐन , नियमावली, राष्ट्रिय कार्ययोजना निर्माण हुँदै २०७२ को संविधानको भाग ३ को नागरिकको मौलिक हक अन्तरगत धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख भएको पाइन्छ । त्यसपश्चात   धेरै ऐन, नीति, कार्यविधि, संहिता, निर्देशिका बन्दै आएको देखिन्छ । जेष्ठ नागरिकलाई असाहाय र अशक्त वर्ग छुट्टाएर अझै विशिष्टिकरण गर्न खोजेको जस्तो लाग्छ । पछिल्लो समय ०७९ सालमा भएको व्यवस्थामा दिवा सेवा केन्द्र स्थापना, बाबुआमालाई अलपत्र पारेमा सन्तानले सम्पति दाबी गर्न नपाउने, स्थानिय सरकारले जेष्ट नागरिकको व्यवस्थापन गर्ने, निश्चित रकम सन्तानले जम्मा गरि दिनु पर्नेजस्ता पक्षहरु समावेश गरिएको पाइन्छ । बिश्व अल्जाइमर चेतना दिवस,जेष्ठ नागरिक दुर्ववहार  बिरुद्ध दिवस जस्ता दिवसहरु नेपालमा मनाइदै आएको पाइन्छ । सापेक्ष रुपले हेर्ने हो भने जेष्ठ नागरिकको लागि भत्ता,यातायातमा सुबिधा,औषधि उपचारमा सहुलियत जस्ता कुराको प्रबन्ध हुनुलाई राम्रै मान्नुपर्छ ।

करोडौंको गाडि चडेर वृद्ध भत्ता बुझन जाने गरिब र  बिहान बेलुका हातमुख जोर्न नसक्ने धनी मानिने गरि सरकारले व्यवहार गरेको पनि यत्रतत्र देख्न सकिन्छ । वर्गिय रुपले मूल्यांकन गरि भत्ता बाँड्ने परिपाटी हुनु पर्दछ । बनेका नियम कानुनको कार्यान्वयन हुनु पर्दछ । लामो दुरीको यातयातमा वास्तविक रुपमा सहुलियत लागू भएको पाइदैन । हवाइ यातयातमा पनि पचास प्रतिशत भाडामा छुट हुनु पर्ने देखिन्छ । अहिले भएका बृद्ध आश्रमहरु पनि भौतिक र मनोबैज्ञानिक रुपले बृद्ध मैत्री छैनन् । यस्ता आश्रमहरु दानको भरमा संचालन भएका छन् । आश्रममा बस्ने केहिले अहिलेसम्म नागरिकता पाएका छैनन् । जेष्ठ नागरिकको नाममा स्थानिय तहमा आएको बजेट भेडाको मासु बनेको पनि पाइन्छ । जेष्ठ नागरिकलाई तीर्थाटन गराउने निहुँमा एकजना बृद्धका चारजना युवा सहयोगीका दरले र व्यवस्थापन गर्ने जनप्रतिनिधि  दर्जनौको संख्याले प्लेन भरी लुटको धनमा रमाए झै रमाउदै बजेट स्वाहा पारेको पनि देखिन्छ। प्रत्येक वार्डमा जेष्ठ नागरिक स्रोत केन्द्र स्थापना गरि जेष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गर्नु पर्छ ; उनीहरूको क्षमतालाई राष्ट्र निर्माणमा लगाउनु पर्दछ । सुबिधा सम्पन्न दिवा सेवा संचालन गर्नु पर्छ । राजनैतिक वा अन्य कारणले सन्तान गुमाएका बृद्धहरुको उचित व्यवस्थापन गर्नु पर्छ । अहिले राजनीतिमा रहेको विकृति विसंगतिको कुप्रभाव स्वभाविक रुपले सामाजिक, आर्थिक,धार्मिक, नैतिक, मूल्य मान्यता  र संष्कर जस्ता उपप्रणालीहरुमा परिरहेको छ। स्थानीय तहको नयाँ सरकारमा पनि पात्र,प्रवृत्ति र शैली पुरानै देखिने गरेको छ ।

परिवार: बैज्ञानिक तिब्र विकासले बृद्धबृद्धाको जीवनमा धेरै उथलपुथल ल्याएको छ । घरमा भएका उपकरणहरुसंग समायोजनको समस्या एकातिर छ भने अर्कोतिर एकल परिवार बिखण्डित हुँदै जानू, बसाइँ सराइ तथा बढदो बैदेशिक रोजगारीबाट श्रृजित समस्याहरु प्रत्यक्ष रुपले  अर्कोतिर जेष्ठ नागरिकहरुले झेल्नु परिरहेको छ । बृद्धबृद्धाप्रति नकारात्मक धारणा गाउँमाभन्दा शहरमा र अशिक्षित परिवारमाभन्दा शिक्षित परिवारमा अझ वढी भएको विभिन्न सर्वेक्षणले देखाएको छ । आजको नयाँ पिडिलाई आफ्ना बिलासि बस्तु किन्न सक्ने सामर्थ्य हुन्छ तर बृद्धाका आत्मसंतुष्टिका कार्यहरु गर्न असमर्थ हुन्छन् । बृद्धबृद्धा घरको गार्ड र सरसफाइ गर्ने नोकर जस्ता ठानिन्छन् । घरमा कुकुर पालेर सान देखाउने तर बृद्ध आमाबुबालाई  बृद्धआश्रममा छोडेर आउने कुसन्तानहरुको पनि हामीकहाँ कमी छैन । आजका छोरा भोलीका बाबू र पर्सीका हजुर बुबा पनि हुन् । हिजो बाल्यकालमा आफुलाई हुर्काउन बाबुआमाको आवश्यकता पर्यो आज बाबुआमालाई हाम्रो सहायता आवश्यक हुन्छ भन्ने भावना मर्दै गएको छ । अधिकारमा आधारित नभै दयामा आधारित हुदा छोराछोरीले दया लागे राम्रो गर्ने नभए नगर्ने मान्यता स्थापित भएको छ । बुढाबुढीहरुको स्वाभिमानको रक्षा हुन सकेको छैन । बचनमा मिठास हराउँदै गएको छ । सुखदुःखमा सहभागी हुने परिपाटी हराउँदै गएको छ । बिदेशबाट सन्चो बिसन्चो सोधने फुर्सद साच्चिकै सन्ततिलाई पुगेको छैन । नातिनातिना हुर्काउने जिम्मा पनि हजुरबुबा हजुरआमाको काँधमा बाध्यतावस थपिदै गएको छ । पेन्सनवाला बृद्धलाई जसरी भएपनि बचाउनु पर्ने हुदा तुलनात्मक रुपमा केही सुबिधा पाएका देखिन्छन् । सीमित रुपमा पाएको बृद्धभत्ता पनि परिवारका सदस्यहरुबाट खोसिएको अवस्था पनि छ । नैतिकताको ह्रास र पाश्चात्य शैली भित्रिदा जेष्ठ नागरिकलाई गरिने व्यवहार क्रितिमतातिर धकलिएको छ ।

स्वयं जेष्ठ नागरिक : जेष्ठ नागरिकले विगतका कुरा गर्दछन् भने नयाँ पिडिले भविष्यको कुरा गर्दछन् । बुढाबुढीले बुढ्यौलीको व्यवस्थापन बुढेसकालमा पुगेपछि गर्ने होइन । बुढ्यौलीको व्यवस्थापनको लागि पूर्व तयारी हुनु पर्दछ । घरमा कुरैको लेना कुरैको देनाले धेरै पक्ष बिग्रने गर्दछ । धनको नाश, मनको ताप, घर परिवारको किचलो, ठगिएको कुरा र मानहानी भएको कुरा बुध्दिमानीले अनेत्र प्रकास गर्नु हुदैन भन्ने नीतिशास्त्रमा सुझाइएको छ । यी मध्ये पनि घरको नराम्रो कुरा बाहिरका अनावश्यक व्याक्तिसंग गुनासो गर्नु नै हुदैन भनिन्छ । बुढेसकालमा आफ्ना कुलतहरुले गर्दा पनि अपहेलित हुनु पर्ने हुन्छ । सिक्ने र सिकाउने कार्य जीवन पर्यन्त चलिरहन्छ । त्यसैले मृत्युको मुखमा पुगेको व्यक्तिलाई कसैले हरि बोल भनेर सिकाउँछ र सिकाए अनुसार त्यो व्यक्ति बोल्दछ । बुढेसकालमा सकेसम्म मानसिक र शारीरिक क्रियाशीलतालाई सुस्ताउन दिनु हुदैन । जेष्ठ नागरिकले गर्नु पर्ने केही कुराहरु विज्ञहरूले विभिन्न माध्यमहरु मार्फत सुझाएका पनि छन् ।

आफुले कमाएको पैसा खर्च गर्न जान्नु पनि पर्दछ ; खर्च गर्न सक्नु पनि पर्दछ । यो उमेर कुनै लगानी गर्ने उमेर होइन । सन्ततिको आर्थिक अवस्थाप्रति चिन्ता लिनुहुदैन। आफुले गर्नु पर्ने काम पूरा भएको मान्नु पर्दछ । बुढेसकालमा चाहिने भनेका दुई कुरा हुन् – भोक र निद्रा । यसको लागि प्रयत्न गर्नु पर्दछ । आफ्नो जीवन साथीलाई ख्याल राख्नु पर्दछ । एकल जीवनमा पैसाले काम गर्ने छैन ।सानोतिनो कुरामा चिन्ता लिनु हुदैन । विगतका कुराबाट थिचिनु हुदैन । भविष्यबाट डराउनु पनि हुदैन । वर्तमानमा रमाउन सिक्नु पर्दछ । मानिसमा बुद्धि विवेक माया स्नेह र सद्भाव रहुन्जेल बूढो हुदैन । आफ्नो व्यक्तित्व राम्रो बनाई राख्नु  पर्दछ। आफुलाई वर्तमानसंग अद्यावधिक बनाई राख्नु पर्दछ । युवा पुस्ताको विचारलाई सम्मान गर्न जान्नु पर्दछ । सकारात्मक सोचले जीवनमा सहजता ल्याउँछ । सोखहरु परित्याग गर्नु हुदैन । भेटघाट यात्रा सकेसम्म गर्नु पर्दछ । कसैले चित्त दुखायो भने उसलाई माफ दिन जान्नु पर्दछ । घरमा भएका आधुनिक वस्तुहरु चलाउदा होसियार हुनु पर्दछ ; चलाउन सिक्दै जानू पर्दछ । कल डाइर्भस गरेर,कल रेकर्ड गरेर वा ग्रुपमा सामेल भएर कसैकोबारे फोनमा बोलिरहेको कुरा सम्बन्धित ब्यक्तिले सुनिरहेको पनि हुन सक्छ । क्षणभरमा नै वर्षौ लगाएर बनाएको सुमधुर सम्बन्ध बिग्रन सक्दछ । यो एउटा उदातण मात्र हो । खानमा र बोल्नमा जिब्रोलाई बिभ्रमीत हुनबाट जोगाउन सक्नु पर्दछ ।
उपसंहार:  एउटा बृद्धले आफ्नोे सिंगो जीवन पद पैसा र शक्तिको लागि खर्चेको हुन्छ । हाम्रो समाज बुढेसकालमा सन्तानको आशा गरेर बस्ने प्रवृत्ति भएको समाज हो । तर धेरै चरहरुमा आएको परिवर्तनले गर्दा हाम्रो परंपरामा बाधा उत्पन्न  भएको छ । अहिले सम्पत्ति नहुनेलाई सरकारले बृद्ध मैत्री बृद्ध आश्रमको व्यवस्था गर्नु पर्ने अवस्था छ । धनी बृद्धबृद्धाको लागि सुविधा सम्पन्न सशुल्क बृद्धआश्रम संचालन गर्नु नै व्यवहारिक  र यथार्थपरक हुन जाने देखिन्छ । बृद्धबृद्धाका समस्याहरु बृद्धबृद्धाका मात्र हुँदै होइनन् । यो मानवीय समस्या  हो । दुई पुस्ताबीचको खाडल सधै रहि रहन्छ । एउटा बृद्ध बित्दा दुई सय वर्षको इतिहास मर्दछ भनिन्छ । खेल खेलिसकेर बट्टामा बन्ध गरिएका चेसका गोटी जस्ता बृद्धबृद्धाको चाल,मान र ताल सबैको उस्ताउस्तै जस्तो हुन्छ । जेष्ठ नगरिकलाई जिउँदा देवता भनिने गरिन्छ । धार दिन  एक मुठी दुधको लागि हाडछाला बनाएर पालिएको गाई र शिक्षा सुविधाबाट बन्चित पारिएकी छोरीलाई ढोग गरेर सम्मान गर्नुको कुनै अर्थ रहदैन । जेष्ठ नागरिकलाई गरिने सम्मान पनि कतै यस्तै त छैन ? नियम कानुन जड हुन्छन् । दुई हात लामो बाच्छाले तीन हात लामो पराल कसरी खान्छ ? यस प्रश्नको उत्तर दिदा ” गुटमुटाएर खान्छ ” भन्नेचाहिँ गुटमुटिन सक्छ भने “पुच्छर समेत नाप्दा बाच्छो पनि तीन हात लामो हुने हुदा खान सक्छ” भन्नेचाहिँ लम्बिन सक्छ । सबै समस्याहरुको तर्किक निष्कर्ष खोज्नु पर्छ ; खोज्न सकिन्छ । सरकार, घर परिवार र स्वयं जेष्ठ नागरिक आफै यी तीन बाहु आपसमा जोडिदा नै जेष्ठ नागरिकहरुका समस्याहरुको व्यवस्थापन दिगो र तार्किक हुन जानेछ । यस अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसले यी त्रिबाहु आपसमा बलोयोसंग जोडन सफल होस ! शुभकामना !
 (पाण्डेय पूर्व प्रधानाचार्य,व्यवहार कुशल सीपका प्रशिक्षक तथा जेष्ठ नागरिक समाज नेपालको केन्द्रीय कार्य समितिका सदस्य हुन)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->