सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एमाले गण्डकीमा फेरियो समीकरण, उपमहासचिव एकातिर सचिव र स्थायी कमिटी सदस्य अर्कोतिर !

एमाले गण्डकीमा फेरियो समीकरण, उपमहासचिव एकातिर सचिव र स्थायी कमिटी सदस्य अर्कोतिर !


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८०, सोमबार

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको लागि सहरका मुख्य भागमा ‘स्वागतद्धार’ ठडिएका छन् । पार्टी अध्यक्ष केपी ओलीको मन्द मुस्कानसहितको स्वागतद्धारमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ का नारा अंकित गरिएको छ । गएको मंसिरमा चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट सर्वशक्तिमान बनेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको पोखरासँग पुरानो साइनो पनि जोडिएको छ । पार्टी नेतृत्वमा नहुँदा पनि उनी पोखरा र गण्डकी क्षेत्रबाट सधैं माया पाइरहने एमाले नेता हुन्–ओली । २०३० साल जेठ ३० गते रौतहटबाट पक्राउ परेका हालका एमाले अध्यक्ष केपी ओली जेलसार हुँदै २०३९ साल माघ ३ गते पोखरा कारागार ल्याइए । उनी २०४२ माघसम्म पोखरा कारागारमा राजबन्दीको रुपमा रहे । त्यहाँ रहँदा बेलाबेला पक्राउ पर्ने तत्कालीन नेताहरुसँग उनको राम्रै संगत भयो । २०४४ साल असार ११ गते ओली रिहा भए । रिहा भएलगत्तै उनलाई तत्कालीन नेकपा (माले)ले लुम्बिनीको जिम्मेवारी दियो ।

उनै ओली २०४६ सालको जनआन्दोलन सुरु हुनुअघि यहाँको कास्कीकोटमा आयोजित भूमिगत कार्यक्रममा अतिथि बनेर झुल्किए । जेलबाट छुटेकाले उनलाई धेरैले चिन्थे । गफ गर्न सिपालु ओलीको वरपर नेता÷कार्यकर्ता झुम्मिए । सँगै जेल जीवन बिताएका मात्र नभएर यस क्षेत्रका नेता÷कार्यकर्ता ओलीसँग नजिकिनुको कारण थियो, ‘गण्डकीमा परेको नक्सलवादी आन्दोलनको प्रभाव ।’ ओली झापा विद्रोहमा होमिनु अगावै २०२५ साल जेठ ३० गते यहाँका युवाहरुले नेकपा माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दल (गण्डकी–धौलागिरी) गठन गरिसकेका थिए । नक्सलवादी ओली यो क्षेत्रका माले कार्यकर्ताका प्रिय थिए । तीक्ष्ण स्मरण शक्ति भएका ओलीले जेल र बाहिर बनेको सम्बन्धलाई बिगारेनन् । जेल र बाहिरको चिनजानलाई शक्ति आर्जनको माध्यम बनाइरहे । त्यसैको परिणाम, वीरगञ्जमा सम्पन्न एमालेको सातौं र बुटवलमा सम्पन्न आठौं र अध्यक्ष चुनिने नवौं महाधिवेशनमा गण्डकी–धौलागिरीबाट ओलीले दह्रो समर्थन पाए । पोखरामा ‘ओली क्रेज’ अहिले पनि उस्तै छ ।

यो क्षेत्रमा मै हुँ भन्ने सवैजसो एमाले नेताहरुको सर्वोच्च नेता ओली नै हुन् । कतिसम्म भने अक्सर दुई ध्रुवमा विभाजित हुने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र हालका स्थायी कमिटी सदस्य खगराज आचार्य दुवै लामो समयदेखि अध्यक्ष ओलीका विश्वास पात्र नै हुन् । अध्यक्ष ओलीले केन्द्रीय राजनीतिमा यी दुवैलाई सन्तुलनमा राख्दै आएका पनि छन् । तर,तल्लो तहमा आइपुग्दा भने सन्तुलत बिग्रन्छ । पूर्वमुख्यमन्त्री गुरुङ अहिले संघीय सांसद हुन् । पूर्वगृहमन्त्री अधिकारी अहिले गण्डकीको एमाले संसदीय दलका नेता हुन् । कास्कीका अधिकारी र लमजुङका गुरुङबीचको शक्ति संघर्ष पालिकासम्मै पुगेको एमालेको दुई वर्ष अगाडि सम्पन्न पोखरा महानगर कमिटीको अधिवेशनबाट पनि प्रस्ट हुन्छ । मुख्यमन्त्रीको रूपमा कास्कीमा रहँदा गुरुङले आफ्नो प्रभाव सबै जिल्लामा फैलाउन खोजे । गण्डकीका अन्य जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्दा कास्कीमा भने अधिकारी र गुरुङले प्यानल नै बनाएर उमेदवारलाई चुनावमा खडा गरे । गुरुङ निकट मनबहादुर गुरुङ विजयी पनि बने । एमालेमा सर्वसम्मतिको चर्को नारा लागिरहेको त्यो समयमा पनि कास्कीमा मतदान हुँदा आसन्न प्रदेश अधिवेशनमा पनि यी दुई समूह सक्रियरूपमा लाग्ने प्रस्टै देखिएको छ ।

सोमबारबाट सुरु हुने एमाले गण्डकीको पहिलो अधिवेशनमा पनि यी दुई नेताहरुबीच अघोषित प्रतिस्पर्धा देखिने भएको हो । भला, दुवै नेताले सार्वजनिक रुपमा यो तथ्य अस्वीकार गरेकै किन नहुन् ! बरु, यो पटकको प्रदेश निर्वाचनमा पार्टी महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल अनि सचिव पद्मा अर्याल पनि जोडिन आइपुगेका छन् ।

आइतबार प्रदेश अधिवेशन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज तथा सचिव गोकर्ण विष्टले पटक–पटक सहमतिमै नेतृत्व चयन हुने र प्रतिस्पर्धा नै भए पनि कमरेडी प्रतिस्पर्धा हुने धारणा दोहो¥याए । उनले दायाँ र बायाँ बसेका खगराज र पृथ्वीसुब्बाबीच गुट बनाउने होड नरहेको र निर्वाचन सम्पन्न भएका अरु प्रदेशमा पनि प्यानल नै चुनावमा नहोमिएको जिकिर गरे । विष्टले भने,‘चस्मा कस्तो लगाइएको छ, त्यसमा भर पर्छ । दोषी चस्मा मैले उहाँहरूसँग घण्टौँ छलफल गरेको छु । मिलेर जान सकिन्छ भन्ने नै उहाँहरूको कुरा छ ।’ उनको कुरामा दुवै नेताले मौनता साँधे । तर, हलमा उपस्थित कार्यकर्ताहरु त्यो कुरा स्वीकार्न तयार थिएनन् । किनकि, पोखरामा चुनावी माहौल तातिसकेको छ भने वर्तमान अध्यक्ष नवराज शर्मा र हालका केन्द्रीय सदस्य मायानाथ अधिकारी प्रतिस्पर्धाको लागि मैदानमा उत्रन तयार छन् । नवराजलाई उपमहासचिव पृथ्वीसुब्बा र मायानाथलाई स्थायी कमिटी सदस्य खगराजको समर्थन रहेको छ ।

मैदानमा उत्रन तम्तयार दुवैंले फरक–फरक समयमा केन्द्रीय अध्यक्ष केपी ओलीलाई भेटेको तस्वीर सामाजिक सञ्जालमा राखेर त्यसको जनाउ पनि दिइसकेका छन् । केन्द्रीय अध्यक्ष ओलीले कसलाई ‘ग्रीन सिग्नल’ दिएका छन् भन्ने प्रष्ट छैन तर दुई पक्षीय प्रतिस्पर्धामा हाल बागलुङ अध्यक्ष रहेका हीराबहादुर केसी पनि थपिएका छन् । यसअघि अध्यक्षमा चर्चा गरिएका केन्द्रीय सदस्य कृष्ण थापा,राजीव पहारी,रामशरण बस्नेत भने मौन रहँदै मायानाथकै पक्षमा जाने तयारीमा छन् ।

रोचक त के छ भने पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा मायानाथ संसदीय दलको प्रमुख सचेतक थिए । त्यतिबेला गुरुङ निकट रहेका एउटै जिल्लाका अधिकारी अहिले अर्को कित्ताबाट चुनाव लड्ने तयारीमा छन् । पृथ्वीसुब्बा र मायानाथ दुवै लमजुङका हुन् । गृहजिल्लाबाटै अर्को समूहबाट उम्मेदवार बनाएर गुरुङ समूहलाई विभाजित गर्ने रणनीति अधिकारी समूहको देखिन्छ ।

सचिवमा पनि पृथ्वीसुब्बाको रोजाइमा गृहजिल्ला लमजुङका धनञ्जय दवाडी र खगराजपक्षीय रश्मि आचार्यबीच प्रतिस्पर्धा निश्चितजस्तै भएको छ । दुवै पक्ष यतिबेला प्रतिनिधिको लेखाजोखामा व्यस्त छ । गृहजिल्लामा आफ्नो हैकम कायमै राख्ने सिलसिलामा खगराज योपटक सफल देखिएका छन् । उनले पृथ्वीसुब्बाकै जिल्लाका मायानाथलाई अगाडि सारेकामात्र छैनन्,पार्टी सचिव पद्मा अर्याल,यसअघि पृथ्वीसुब्बा क्याम्पमा गएका केन्द्रीय सदस्य राजीव पहारीलाई पनि आफू निकट बनाएका छन् । स्रोतका अनुसार उनलाई पोखरामै मुकाम जमाएर बसेका महासचिव शंकर पोखरेलको पनि साथ छ ।

अहिले सचिवमा उम्मेदवारी दिन खोजेका रश्मिलाई पनि उनले अर्को क्याम्पबाट तानेर आफूतिर ल्याएका स्रोतले जानकारी दियो । ‘रश्मिले अन्तिम समयमा सचिव पद्मा अर्यालको क्याम्प रोजे,पद्मा कमरेड पनि अहिले आफ्नै प्रदेशमा शक्ति आर्जनकै होडबाजीमा हुनुहुन्छ, त्यसैले उहाँहरु बीच कुरा मिलेको छ,’स्रोतले भन्यो,‘यद्यपि, प्रतिनिधिहरु भने पृथ्वीसुब्बा पक्षधर नै बढी भएको आँकलन छ । तर, हेर्दा लाग्छ, शंकर कमरेडसहित रहेकाले यी नेताहरुबीचको समीकरण आउँदो महाधिवेशन केन्द्रीतजस्तो पो देखिन्छ ।’

के गर्लान् अध्यक्ष ओलीले ?
पार्टी केन्द्रीय अध्यक्ष ओली यो पटकको प्रदेश अधिवेशनले सर्वसम्मत र आफू निकट नेतृत्व चुनोस् भन्ने चाहन्थे । उनले चुनाव हैन, सहमतिमै जोड दिएका थिए । तर,सर्वशक्तिमान अध्यक्ष ओलीको निर्देशन पालना भएन । बागमतीसहित, लुम्बिनी,कोशी र कर्णालीमा नेतृत्व चयनको लागि चुनावकै बाटो रोजियो । सहमति नहुँदा अध्यक्ष ओली इच्छाविपरीत ‘स्वच्छ प्रतिस्पर्धा’ स्वीकार्न बाध्य बने ।

‘चितवनमा सम्पन्न दशौं महाधिवेशनमै प्रतिस्पर्धालाई निषेध गरिएको धेरैले मन पराएका थिएनन्,अहिले कार्यकर्ता पंक्तिले नै केन्द्रको निर्देशनको अवज्ञा गरे भनेर बुझ्दा पनि हुन्छ,’एमालेका एक केन्द्रीय सदस्यले भने,‘यो भनेको नेतृत्वलाई चुतौतीमात्र हैन, पार्टी बिग्रन लाग्यो भन्ने चिन्ता पनि हो ।’

उनी त्यत्तिमै रोकिएनन् । एमालेमा अहिले अध्यक्ष ओलीलाई चुनौती दिने नेता छैनन् तर आफूलाई नेतृत्वमा स्थापित गर्नको लागि नेताहरुले आन्तरिक तयारी गरिरहेका छन् । त्यसको प्रतिबिम्ब प्रदेशको चुनावमा देखिएको र उत्तराधिकारी बन्ने होडमा लागेका पदाधिकारीकै कारण पनि प्रतिस्पर्धाको विकल्प नभएको उनले अथ्र्याए ।
मिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->