सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरामा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान अनुमति माग्दा सरकारले दिएन : एमाले महासचिव पोखरेल

पोखरामा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान अनुमति माग्दा सरकारले दिएन : एमाले महासचिव पोखरेल


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८०, सोमबार

पोखरा / नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उदघाटन गर्दै महासचिव पोखरेलले अन्तर्राष्ट्रिय उडान भर्न अन्तर्राष्ट्रिय कम्पनीले पत्राचार गर्दा सरकारले कुनै ‘रेस्पोन्स’ नगरेको बताए ।
महासचिव पोखरेलले भने, ‘चिनियाँ लगानी भएका कारणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपाललाई आर्थिक संकटमा पार्‍यो भन्ने देखाउनका लागि विमानस्थल चल्न नदिएर आफ्नो अभिष्ट पूर्ति गर्न खोज्दै छन् ।’ विमानस्थल चलाउन नदिएर सरकार जनता र राष्ट्रविरुद्धमा उभिएको आरोप उनको छ ।

‘जुनजुन अन्तर्राष्ट्रिय विमान कम्पनीले सञ्चालन अनुमति मागेका छन् त्यसका बारेमा अबिलम्ब प्रक्रिया अगाडि बढाउनुपर्दछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने खालको कामको नेतृत्व गर्नुपर्छ ।’

उनले सरकार एकातिर भ्रष्टाचारको विरुद्धमा भएको भ्रम सिर्जना गर्ने कोसिसमा रहेको र अर्कोतिर सरकारकै संयन्त्रको योजनामा विमानस्थलबाट सुन तस्करीमा संलग्न रहेको समाचार आउने गरेको उल्लेख गरे । ‘कहिलेकाहीँ उनीहरू अमुक घटनामा छानबिन गर्छौं भनेर प्रतिपक्षतर्फ इशारा गर्छन् । हामी भन्न चाहन्छौं, जुनसुकै घटनामा छानबिन गर, हामी तयार छौं,’ उनले भने, ‘हामी एउटै कुरा भन्छौं, हरेक घटना छानबिन गर, अन्त्यमा सत्ताको नेतृत्व गरेका गठबन्धनका नेता नै जेल जानेछन्, एमाले होइन । किनकि उनीहरू भ्रष्टाचारका हिमायती हुन् । भ्रष्टाचार उनीहरूको शासकीय चरित्र हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने बताए पनि उनी उपस्थित हुन सकेनन् । महासचिव पोखरेलले मौसमको खराबीको कारणले अध्यक्ष ओलीले यात्रालाई स्थगित गर्नुपरेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->