सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एमाले गण्डकी अधिवेशनमा देखिएको एउटा फरक परिदृष्य !

एमाले गण्डकी अधिवेशनमा देखिएको एउटा फरक परिदृष्य !


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८०, मंगलबार

अध्यक्ष ओलीलाई आगामी अध्यक्ष र प्रधानमन्त्रीमा अनुमोदित गर्दै पृथ्वीसुब्बाले नेतृत्वको लागि ‘हतारको यात्रा’ तय नगर्न सुझाव दिए ।
पोखरा / गएको मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रो कार्यकाल नेतृत्वमात्र सुम्पेन, सम्पूर्ण शक्तिको उपयोग गर्ने अख्तियारी प्रदान ग¥यो । अध्यक्षमा डाक्टर भीम रावलले दिएको चुनौतीलाई बिर्सने हो भने एमाले सामूहिक नेतृत्वबाट एकल नेतृत्वमा गएको सन्देश प्रवाहित भयो । त्यसको एउटै कारण थियो–अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्य चयनको लागि प्राप्त गरेको तजबिजी अधिकार ।

अध्यक्षमा चुनिएपछिका दिनहरु भने ओलीका लागि सुखद रहेनन् । कांग्रेस–माओवादी केन्द्र र आफैंबाट छुट्टिएर गएका माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनसँग तीनवटै तहको चुनावले एमालेलाई दोस्रो पार्टी बनाइदियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपासँगको साँठगाठमा गठबन्धनमा ल्याएको विभाजन लामो समय टिकेन । राष्ट्रपति निर्वाचनको क्रममा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससँगै लहसिँदा एमाले सत्ता विमुख बन्यो÷बनिरहेको छ ।

धेरैलाई लागेको थियो– ओलीले अब तेस्रो कार्यकाल अध्यक्ष दाबी गर्दैनन् र सरकारको नेतृत्वको चाहना पनि राख्ने छैनन् । त्यही आँकलनमा एमालेका दोस्रो तहका नेताहरु पार्टी नेतृत्व लिने बाटोमा अग्रसर भए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेल लगायतका नेताहरुले पार्टीको ‘सुम्रिमो’ को चाहना अभिव्यक्त गरे । उनीहरुले पार्टीमा विस्तारै आफू अनुकूलको गुट बनाए । माधवकुमार नेपालको बहिर्गमनपछि एकल नेतृत्वमा रमाएका अध्यक्ष ओलीको उत्तराधिकारी बन्ने होडबाजीमा लागेका नेताहरु त्यतिबेला जिल्लिए, जतिबेला अध्यक्ष ओलीले पार्टीमा रहेको ‘७० वर्षीय उमेर हद’ निलम्बन गरिदिए । यही जेठ २३ गते बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्तावमा ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’ निर्णय भएको थियो । २०७० मा सम्पन्न नवौँ महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्यका लागि लगाइएको ७० वर्ष उमेर हदबन्दी हटेपछि ७० कटेका अध्यक्ष ओली पुनः तेस्रो कार्यकालको लागि उम्मेदवार बन्ने बाटो खुल्यो ।

ओली स्वयंले ‘अझै केही वर्ष सक्रिय राजनीतिमा रहने र उपयुक्त पात्रलाई नेतृत्व सुम्पेर अभिभावकीय भूमिकामा रहने’ उद्घोष गरिसकेका छन् । प्रष्ट छ– एमालेमा ओलीको नेतृत्वलाई चुनौती दिने दोस्रो तहका नेता छैनन् । अध्यक्षको रुपमा प्रक्षेपित उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि उनलाई अध्यक्षमा देख्न चाहनेहरु ‘शोक’ मै छन् । तर, आफू अनुकूलको समूह बनाउने मामिलामा उनीहरु पछि छैनन् । समग्रमा नेतृत्वका सवै आकांक्षीहरु अध्यक्ष ओलीलाई नचिढ्याउने, विश्वास अनि आर्शीवाद लिने र आफूलाई नेतृत्वमा स्थापित गर्न उद्यत देखिन्छन् । र, त्यो होडमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सवैभन्दा अगाडि छन् । अनि यी दुईको होडबाजी चाहिँ एमालेको प्रदेश अधिवेशनहरुमा प्रतिविम्बित भइरहेको छ । उनीहरुलाई हालका पदाधिकारी, स्थायी समितिका सदस्य एवं अन्य नेताहरुले साथ दिइरहेका छन् । यो तथ्य पुष्टि गर्न टाढा जानै पर्दैन । सोमबारबाट सुरु भएको गण्डकी प्रदेश अधिवेशनको परिदृष्य नै हेरे पुग्छ ।

एमाले गण्डकी प्रदेशको अधिवेशनको अध्यक्ष ओलीले नै उद्घाटन गर्ने कार्यक्रम थियो । तर, मौषम प्रतिकूल हुँदा उनी आउन सकेनन् । प्रमु्ख अतिथि हुने शौभाग्य महासचिव शंकर पोखरेलले पाए । उनी प्रमुख अतिथि बनेर मञ्चमा पुग्नुअघि नै गण्डकीका सर्वकालीन ‘दुई ध्रुव’ स्थायी समिति सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शुभकामना मन्तव्य दिइसकेका थिए । खगराजले सोमबार खासै केही बोलेनन् । छोटो मन्तव्यमा सरकारको सामान्य आलोचनामात्र गरे । समग्रमा उद्घाटन सत्रमा बोल्ने नेताहरुले एमाले एकतावद्ध र बलियो रहेको सन्देश प्रवाहित गरे । बरु, अहिले खगराज समूहमै देखिएकी सचिव पद्मा अर्यालले चाहिँ अधिवेशनको क्रममा पार्टी पंक्ति कुनै अमूक कमरेडको नाममा विभाजित हुने हैन भन्दै सहमतिमै नेतृत्व चयन गर्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘एमालेको समस्या भनेको सांगठनिक अनुशासनहीनता र दक्षिणपन्थी अवसरवाद नै हो, यसलाई परास्त गर्नुपरेको छ । धेरै साथीहरु आकांक्षी हुनुहुन्छ । हामी कुनै व्यक्तिलाई दह्रो बनाउने हैन, पार्टीलाई दह्रो बनाउने हो, व्यक्तिको पछि लाग्ने हैन, पार्टीको पछि लाग्ने हो ।’
तर, पृथ्वीसुब्बा भने मुखरित बने । उनले कम्तिमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प नभएको, केपी ओली एमाले नेतृत्वमा नभए राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिनले तथा एमाले भन्दै आएको ‘मिसन ८४’ भनेकै ओली नेतृत्वको सरकार भएको उद्घोष गरिदिए । पार्टी नेतृत्वको लागि ‘हतारको यात्रा तय नगर्न’ सुभाव पनि मिसाइदिए ।

पार्टी पंक्तिमा नेतृत्व अर्थात् केपी ओलीको आलोचना गर्नसमेत पछि नपर्ने उपमहासचिव पृथ्वीसुब्बाले ओलीलाई आगामी नेतृत्वमा अगाडि सारेर आवश्यक परेको बेला काँध थाप्ने नेताको रुपमामात्र चिनाएनन्, आफू ‘अमूक गुट वा कमरेड’ नरहेको बरु ओलीलाई आवश्यक परेको बेला ‘काँध थाप्ने’ व्यक्ति रहेको जवाफ फर्काए । २०८४ मा एमालेलाई बहुमत वा ५१ प्रतिशत दिलाउन सक्ने नेतृत्व चाहिएको भन्दै उनले गण्डकीमा आफू अनुकूलको व्यक्तिलाई अगाडि सार्ने संकेत पनि दिएरै छाडे ।

पार्टी सचिव तथा इन्चार्ज गोकर्ण विष्टले मध्यमागी धार समाउँदा महासचिव शंकरले चाहिँ मन्तव्यको सुरुवात नै पृथ्वीसुब्बालाई हिजोका दिन सम्झाउने घटनाक्रमबाट सुरु गरे । उनले सुरुमै भने, ‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने अभियानको नेतृत्व ओलीले गर्नुभयो । दोस्रो संविधान सभा असफल हुन्छ कि भन्ने समयमा नेपाली समाजलाई जातजातको आधारमा विभाजन गर्ने षड्यन्त्रलाई असफल बनायौं र ‘हिमाल पहाड, तराई कोही छैन पराइ’ भन्ने अभियान थाल्यौं । जातजातिको नाममा राष्ट्रलाई विखण्डन गर्ने प्रयासविरुद्ध एमालेलाई उभ्यायौं ।’


उनको यो भनाइसँग पृथ्वीसुब्बाका गतिविधिहरु पनि जोडिएका छन् । पहिलो संविधानसभा सदस्य बनेका बेला हालका एमाले उपमहासचिव पृथ्वीसुब्बा आदिवासी जनजाति सभासद समूह (ककस) मा थिए । पहिचानसहितको संघीयता उनको एजेण्डा थियो । तर, एमाले नेतृत्वले उनको माग स्वीकारेन । अशोक राईहरुले चित्त दुखाएर एमाले छाडे । पृथ्वीसुब्बा चाहिँ निरन्तर पार्टी र केपी ओलीसँगै रहे । नेतृत्वलाई आवश्यक परेको बेला काँध थाप्नु उनको विशेषता हो । त्यही विशेषताले उनले सोमबार पोखरामा प्रदर्शन गरे ।

यता, वाकपटुताका धनी शंकर पोखरेल उपमहासचिव पृथ्वीसुब्बालाई भन्दा स्थायी कमिटी सदस्य खगराज अधिकारी, सचिव पद्मा अर्याललाई रुचाउँछन् । स्वभाविक छ, उनी गण्डकी नेतृत्वको लागि पृथ्वीसुब्बाले अगाडि सारेका नवराज शर्मा र सचिव धनञ्जयको पक्षमा छैनन् । वर्तमान सरकारको आलोचना र पार्टी नेतृत्वको प्रशंसा गरिरहँदा उनी आफूलाई बलियो बनाउने अभियानमै छन् । यो अभियानलाई साथ दिएकाहरुले अगाडि सारेका अध्यक्ष मायानाथ अधिकारी र सचिव रश्मि आचार्यको पक्षमा देखिनु उनको पनि बाध्यता हो । एमाले गण्डकीको उद्घाटन सत्र हेर्दा लाग्थ्यो– पार्टी एकजुट र शान्त छ । तर, पार्टीका महासचिव शंकर र उपमहासचिव पृथ्वीसुब्बाको अभिव्यक्तिले त्यस्तो देखाएन । बाँकी त, सोमबारबाटै सुरु भएको बन्द सत्र र त्यसपछि मंगलबार सुरु हुने चुनावी कार्यक्रमले प्रष्ट पार्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->