सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकी एमाले अधिवेशनः शर्मा र अधिकारीको प्यानल नै दर्ता

गण्डकी एमाले अधिवेशनः शर्मा र अधिकारीको प्यानल नै दर्ता

लेखा आयोगको अध्यक्षमा बागलुङका राम वहादुर जिसी र नवलपुरका अमृत ज्ञवाली भिड्दै


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०८०, बुधबार

पोखरा / पोखरामा जारी नेकपा (एमाले) को प्रथम गण्डकी अधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रिय सदस्य मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । नयाँ नेतृत्वमा सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व छनोटका लागि उम्मेदवारी दर्ता भएको हो ।

म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङजाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्काेको उपसचिवमा कास्कीका दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।

लमजुङका अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा कास्कीका मिना गुरुङ र अर्काेका उपसचिवमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दर्ता गरेका छन् ।

लेखा आयोगको अध्यक्षमा शर्माको प्यालनबाट नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्षमा गोर्खाका गिरधारी सापकोटा र सचिवमा बागलुङका वीर बहादुर बिकले उम्मेदवारी दिएका छन् । अधिकारीको प्यानलबाट अध्यक्षमा बागलुङका राम वहादुर जिसी, उपाध्यक्षमा शिवजी पौडेल र सचिवमा वैकुण्ठनाथ आचार्यले उम्मेदवारी दिएका छन् ।

शर्मालाई एमाले उपमहासचिव पृथ्वी सुब्बा (पीएस) गुरुङको साथसमर्थन रहेको छ भने अधिकारीलाई स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतका नेताहरूको साथ छ ।

शर्माले अब मतदानमार्फत नै नेतृत्वको टुङ्गो लाग्ने बताए । यद्यपि उनले सहमतिका लागि प्रयासहरू भइरहेको भन्दै सहमति नजुटे प्रतिस्पर्धामा जानुको विकल्प नभएको बताए । ‘उम्मेदवारी दर्ता गरिएको छ । सँगसँगै सर्वसम्मतको प्रयास पनि भइरहेको छ । त्यसो हुन नसके मर्यादित हार्दिकताको वातावरणमा निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । ’

अधिकारीले मतदानमार्फत हुने नेतृत्व चयनलाई लोकतान्त्रिक र स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताए । ‘यो लोकतान्त्रिक र स्वाभाविक प्रक्रिया हो’, अधिकारीले भने, ‘निर्वाचनमा जानुलाई अन्यथा लिन मिल्दैन ।’

सवै कलष्टरमा प्यानलगत रुपमा नै उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->