बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: कोषाध्यक्ष कुमार रम्तेल कारागार चलान

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: कोषाध्यक्ष कुमार रम्तेल कारागार चलान


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०८०, आइतबार
कुमार रम्तेल

पोखरा / पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेका कुमार रम्तेललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्नआदेश दिएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आइतबार आदेश दिएको हो ।

जिल्ला अदालतमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । यो सहकारी गितेन्द्र (जीबी) राईको समूहले खोलेको थियो ।

बचतकर्ताको रकम हिनामिना गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको भोलिपल्टै सूर्यदर्शनका कोषाध्यक्ष रम्तेल पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएका जिबी राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सहित १८ जना अझै फरार छन् ।

प्रहरी लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले विहिवार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालतले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको स्वीकार गरेको, जाहेरी, घटना विवरण र नियामक निकायको विश्लेषणात्मक प्रतिवेदलाई समेत आधार मानी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । कुन सञ्चालकले कति पैसा अपचलन गरेको भन्ने नै यकिन तथ्यांक नखुलेकाले सबैलाई समान दायित्व पर्ने गरी बचतकर्ताको उजुरीको आधारमा बिगो र जेल सजायको माग दाबी गरिएको हो ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले गत साउन ३२ गते सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो । १ हजार ३६ जना बचतकर्ताले दिएको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो । रम्तेल पुर्पक्षका लागि थुनामा गएको भए पनि १९ प्रतिवादीमध्ये १८ जना अझै फरार भएकाले तत्काल पक्राउ गर्न उनीहरुले प्रहरीलाई समेत दबाव दिएका छन् ।

फरार प्रतिवादीलाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सादा पोशाकमा विशेष टास्कफोर्स नै खटाइएको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले जानकारी दिए । काठमाडौं जिल्ला प्रहरी परिसर, उपत्यका अपराध महशाखा र नेपालभरका प्रहरी युनिटलाई पक्राउ गर्नका लागि सर्कुलर भएको पनि थापाले बताए ।

सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, कोषाध्यक्ष कुमार रम्तेल, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, सञ्चालक शिवबहादुर (महेन्द्र भोटे), कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वेर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् ।

लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङ विरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले फरार भएको जनाएको छ । यीमध्ये महेन्द्र भोटे र आइस्मा तामाङ मादी-६ भाचोककै हुन् भने ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ, बुद्धि गुरूङ मादी-९ मिजुरेडाँडाका हुन् भने बाँकी सबै कास्की बाहिरका रहेको प्रहरीले जनाएको छ ।

सुरुमा सहकारीको व्यवस्थापक भएका थानबहादुर पछिल्लो कार्यकालमा अध्यक्ष बनेका थिए । सहकारीको संकट बाहिर नजाओस् भन्नका लागि पनि थानबहादुरले नै अध्यक्ष र व्यवस्थापकको काम गर्दै आएका थिए ।

जीबी समूहले २०६५ सालमा पोखरामा खाेलेको सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको पाइएको छ । सहकारीबाट सबैभन्दा धेरै जीबी राईको दाजुभाइकै कार्यकालमा अपचलन भएको निष्कर्ष छ ।

जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख र जीबीलगत्तै दाइ भूपेन्द्रको अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब देखिएको छैन । संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख हिनामिना भएको पाइएको छ भने थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ अपचलन भएको देखिएको छ ।

राजनीतिक संरक्षणमा गुण्डागर्दी पृष्ठभूमिबाट व्यवसाय हुँदै सक्रिय राजनीतिमा छिरेका महेन्द्र भोटेले पनि ८ करोड रुपैयाँ लगेको देखिएको छ । पोखरामा सहकारी खोल्ने ताकाबाटै जीबी र महेन्द्र भोटेले विभिन्न व्यावसायिक सहकार्य समेत गर्दै आएका थिए । उनीहरुले पोखरामा रेस्टुरेन्ट, होटल, डिस्को लगायतमा लगानी गरेका छन् भने जीबी–महेन्द्र सहकार्यमै फेरि अर्को डिस्को खोल्ने तयारीमा थिए ।

सहकारीबाट रकम हिनामिना भएको घटना बाहिरिएसँगै हिसाब मिलाउने प्रयत्न गर्दागर्दै असफल भएपछि उनीहरु अहिले फरार छन् । देशभर नेटवर्क बनाएर विभिन्न क्षेत्रमा लगानी गरेको जीबी राई समूहले पोखरामा पनि कागजात विनै विभिन्न सहायक कम्पनीका नाममा पैसा अपचलन गरेको देखिएको छ ।

जीबी राई समूहले पोखराको सूर्यदर्शन सहकारीबाट पनि नेकवर्किङ कम्पनीदेखि मिडियासम्ममा लगानी गरेको पाइएको छ । नेचर हर्ब्स इन्टरनेशनल, नेचर नेष्ट, स्प्रिङ उड, ग्रिजी स्पोन, गोर्खा ग्रुप अफ कम्पनी, गोरखा मिडिया नेटवर्क जस्ता सहायक कम्पनी मार्फत यो समूहले सहकारीको रकम चलाएको पाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->