सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कास्कीमा खसीबोका मेला : ७७ केजीसम्मका बोका प्रदर्शनीमा

कास्कीमा खसीबोका मेला : ७७ केजीसम्मका बोका प्रदर्शनीमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८०, शुक्रबार

पोखरा/ क्षेत्रफलले मात्र हैन,भौगोलिक विविधताका कारण पनि पोखरा देशका अन्य महानगरभन्दा फरक छ । वडा नम्बर २३ मा पर्ने २ हजार ५१७ मिटर उचाइमा रहेको पञ्चासेमा हिउँ पर्छ भने मुख्य पोखरा क्षेत्रले गर्मीमा मधेशकै झल्को दिन्छ । साविकका गाउँ विकास समिति र लेखनाथ नगरपालिका मिसिएर महानगर बनेको तथा ४६४.२४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको भूगोल अनुसार यहाँ गरिने पेशा–व्यवसायको प्रकृति पनि फरक छ । मुख्य सहरी क्षेत्रमा खेतीयोग्य जमिन मासिँदै गए पनि पहाडी क्षेत्रका बासिन्दा भने अहिले पनि कृषिमै आश्रित छन् ।

यही तथ्यमा टेकेर पोखरा महानगरपालिकाले यहाँका १९,२०,२१,२४,२५ र र २८ नम्बर वडालाई ‘बाख्रा पकेट क्षेत्र’ घोषण ग¥यो । १९ र २० नम्बर वडा साविकका पुरन्चौर र मौजा गाविस हुन् । यीसहित २५ नम्बर वडा पोखराको उत्तरी भागमा पर्छन् । २१ नम्बर दक्षिणमा पर्छ भने २४ नम्बर वडा साविकको कास्कीकोट हो । यो पश्चिमी भागमा पर्छ । २८ नम्बर वडामा चाहिँ साविकका माझथाना र लेखनाथ नगरपालिकाका भूभाग समेटिएको छ ।

‘मेयरमैत्री बाख्रा पकेट कार्यक्रममार्फत् महानगरले आर्थिक वर्ष २०७९÷०८० मा मात्रै १९१ जना किसानलाई ४४ लाख रुपैयाँभन्दा बढी अनुदान वितरण गरेको छ ।
महानगरका पशु सेवा शाखा प्रमुख नवराज अधिकारीका अनुसार वडा नं. १९ का २४ कृषकलाई छ लाख २० हजार, वडा नं. २० का ३२ कृषकलाई सात लाख २० हजार र वडा नं.२१ का ४३ कृषकलाई १० लाख रुपैयाँ प्रदान गरिएको थियो । वडा नं. २४ का ३७ जनाले आठ लाख २० हजार, वडा नं. २५ का २३ जनाले चार लाख ८० हजार र वडा नं.२८ का ३२ जनालाई सात लाख ६० हजार नगद अनुदान प्राप्त गरेका थिए । वडास्तरमा गठित कृषि सञ्जाल र वडाकै सिफारिसमा बाख्राको संख्या हेरी अनुदान दिइएको किसानका खोरमा रहेका ७२ हजार बाख्रा रहेको उनले जानकारी दिए । पोखरालाई मासुमा आत्मनिर्भर बनाउन तथा कृषियोग्य भूमिहरूको पूर्ण उपयोगसँग पनि यो परियोजना जोडिएको उनको जिकिर छ ।
अनुदान त दिइयो तर उत्पादन ? प्रश्न त उठ्ने नै भयो । महानगरले ७ लाख ८० हजार अनुदान दिएको वडा नम्बर २८ मा ‘खसीबोका मेला तथा प्रदर्शनी’ आयोजना गर्दै यसको उत्तर दिएको छ । पोखरा २८ सौर्य बजारमा आयोजित ‘तेस्रो खसीबोका मेला प्रदर्शनी’मा किसानहरुले ७७ किलोग्रामसम्मका बोकाहरु प्रदर्शन गरेका छन् ।
प्रदर्शनीमा राखिएकामध्ये सवैभन्दा बढी तौलको बोका पाल्ने किसानलाई महानगरले पुरस्कार पनि वितरण गरेको छ ।

७७ किलोग्राम तौलको बोका पालक पोखरा २८ का कृषक दिलु खनाल उत्कृष्ट कृषक घोषित भइन् । उनलाई महागनरले प्रोत्साहनस्वरूप १० हजार प्रदान ग¥यो । प्रकाशरमण अधिकारीले दोस्रो हुँदै ८ हजार, बुद्धिबहादुर तिमिल्सिनाले तेस्रो हुँदै ६ हजार प्राप्त गरे । चौथो हुने नारायणप्रसाद तिमिल्सिनाले नगद ४ हजार प्रोत्साहन पुरस्कार प्राप्त गरे । प्रदर्शनीमा ५ वटाभन्दा बढी खसीबोका ल्याउने १२ जना कृषकहरूलाई प्रोत्साहन स्वरुप नगद २÷२ हजार प्रदान गरियो ।

दशैंको छेकोमा सुरु भएको मेलामा मेयर धनराज आचार्य नै पुगे । उनले बाख्रापालनको लागि दिइएको अनुदानबाट सकारात्मक परिणाम निस्केको जिकिर पनि गरे । ‘खसीबोकाहरु ७५÷८० केजीसम्म भएको देख्दा मलाई विगतमा वितरण गरिएको अनुदानको सम्झना आइरहेको छ, यो बाख्रा पालनमा देखिएको सकारात्मक नतिजा हो,’उनले भने ।

मेलामा २० केजीभन्दामाथि तौल भएको ज्यूँदो खसीबोकाको मूल्य प्रतिकेजी ६४० र २० केजीभन्दा कम तौल भएको खसीबोकाको मूल्य प्रतिकेजी ६२० रुपैयाँ तोकिएको पशु सेवा शाखाले जनाएको छ । पोखरामा अधिकांश खरी, बोयर, जमुनापारि र स्थानीय जातको बाख्रा पालन गर्ने गरिएको छ । वडा नम्बर २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले ग्रामीण वातावरणमा हुर्किएका स्वस्थ भएकाले यसको बजारीकरणमा आवश्यक व्यवस्थाका लागि पहल गरिरहेको उद्घोष गरे । महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले महानगरका ८ सय बढी व्यावसायिक कृषकहरूलाई कृषक परिचय पत्र प्रदान गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->