पोखरा/ ‘चञ्चले कान्छीको जोवन, हावासँगै उडीसकेछ’ आजभन्दा २८ वर्षअघि निस्किएको यो गीत आज पनि ताजै छ । ‘सांग्रिलाको लेकभरी फूलैफूलको वास्ना, आउन माया दिलमा बसन… भेडी गोठैमा हो भेडी गोठैमा’ संगीतप्रेमीहरुले यी दुई गीत नसुनेका पक्कै छैनन् । आजभन्दा सात वर्षअघि यो गीत निस्किएको थियो ।
दुवै गीत कन्दरा ब्यान्डका हुन् । निकै उतार चढावका कारण बीचमा यो ब्यान्ड निस्क्रिय रह्यो । ‘विदेसिनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा’ यो गीत पनि कन्दराकै हो । यो गीतमा भनेझै कन्दरा व्यान्डका टिम पनि तितरबितर भयो । मुख्य गायक विवेक श्रेष्ठलाई पनि यो नियतिले छाडेन । उनीहरु विदेशीएसँगै कन्दाराको नयाँ गीत आउन छाड्यो । सन् १९९५ मा पहिलो एल्वम चन्चले कान्छीमार्फत् गीत/संगीतको दुनियाँमा पोखराबाट उदाएको कन्दराले पछि फर्किनै परेन । यो एल्बमको टाइटल गीत चन्चले कान्छी को सफलता नै कन्दराका लागि कोशेढुङ्गा सावित बन्न पुग्यो । १९९६ मा डाँडापारि एल्वमको लेककी हे माया, तिमी पारि र विदेसिएर गइन उनी गीतले माया, प्रेम र वियोगको विम्ब स्रोताको दिलमा सजाइ दियो ।
१९९८ मा हङकङ पोखरा एल्वमको टाइटल गीत हङकङ पोखरा ले भौगोलिक रूपमा कन्दरा पोखरामा मात्रै नभएर प्रवासी नेपालीहरू समक्ष आफ्नो व्याण्ड भएर दरियो । सन् २००६ मा वषौंपछि एल्वमको तगारोमा रुमाल राखी गीतले लोकपपको स्वादलाई साँदेको गुन्द्रुकको अचारजस्तै ट्वाक्क जनजिब्रोमा झुण्डिने बनायो । कन्दारालाई १९९८ मा हङकङ पोखरा गीतले देशमा मात्रै नभई विदेशमै समेत चिनायो । त्यसपछि २०१६ मा ‘भेडी गोठैमा’ आयो बेला बेला हराउने गरेको यो ब्यान्ड तीन दशकपछि पुनः पोखराबाट बिउँतने भएको छ । केही समय परदेशिएका कन्दराका गायक विवेश श्रेष्ठ अब घर फर्किएका छन् ।
१६/१७ वर्ष अगाडि सरुभक्तको शब्द र सुनील थापाको संगीतमा गाएको गीतको भाव जस्तै विदेशिन बाध्य बनाएको र आज घर फर्केर आएको श्रेष्ठले बताए ।
‘कन्दरा ब्यान्ड आफ्नो यो ३० वर्षको यात्रामा धेरै ठाउँमा कार्यक्रम गर्दै विभिन्न आरोह अवरोहरु पार गर्दै आज जुन ठाउँमा आइपुगेका छौं । हामीले संयुक्त रुपमा एउटा निर्णय पनि गरेका छौं अब पुनरागमन गर्नुपर्छ त्यो चाहिँ घरबाटै गर्नुपर्छ,’ उनले भने, ‘त्यही भएर हामीले घर आउँदै कन्दरा भन्ने नारा लिएर यहाँहरु समक्ष आएका छौं । पहिले घरदेश अनि परदेश।’ घरबाट सुरु गरेर नेपालका विभिन्न सहरहरुमा पुग्ने उनले बताए ।
कन्दराको पुनर्संरचनामा संगीतकर्मीसमेत फेरिएका छन् । नेपालका चर्चित संगीतकर्मीहरुको आगमन कन्दरामा भएको छ । लामो समय देखि नेपाली संगीतमा क्रियाशील हरि महर्जन कन्दरामा समावेश भएका छन् । उनको जादूमय गितारको ट्युनिङसँगै कन्दराको लय मिल्नेछ । युवा माझ चर्चित गितार वादक देव लामा, बेस गितारवादक पंकज झा र ड्रमसेट र मादलमा विज्ञ ठहरिएका सुन्दर महर्जन कन्दरामा समावेश भएका छन् । नेपथ्यको नेपालय जस्तो अब कन्दराको व्यवस्थापकीय जिम्मेवारी ‘आदि’ ग्रुरुपले लिएको छ । जसका परिकल्पनाकार हुन् आशिष पराजुली । २० वर्षदेखि इभेण्ट म्यानेजमेन्टको क्षेत्रमा क्रियाशिल उनी कन्दरासँग ७ वर्ष अगाडि नै जोडिएका हुन् । ‘७ वर्ष अगाडिदेखि नै म कन्दरासँगै छु । कन्दराको सम्भावना अझै रहेकाले सम्पूर्ण व्यवस्थापकिय पाटोलाई आदि गु्रपले सम्हाल्नेछ । नेपथ्यको नेपालयजस्तो भूमिका कन्दराका लागि हामीले प्रवाह गर्नेछौं । कन्दरा भनेकै आदि गु्रप र आदि गु्रप भनेकै कन्दरा हो,’ उनले भने ।
कन्दराकै अर्का सदस्य सुनील थापाले काठमाडौंभन्दा बाहिर केहि गरौ भन्ने हिसाबले कन्दराको जन्म भएपनि आफ्नो जिवनमा धेरेकुरा डुप्लिकेट भेटेको सुनाए ।
‘नेपाली संगीतको क्षेत्रमा केही गर्न सकौं भन्ने थियो । सबैलाई थाहै भएको कुरा हो काठमाडौं छुट्टै थियो र छ । हामीले पोखरामा केही गरौं भन्ने थियो । निकै बाधा अवरोध आए,’ उनले भने, ‘योबीचमा मैले एउटै कुरा देखेँ त्यो हो डुप्लिेकेट । यहाँ सबै डुप्लिकेट रहेछ । सुरुमा विवेक पनि डुप्लिगेट नै लाग्यो तर, पछि चिन्दै जाँदा यी मान्छे चाँहि असली रहेछन् ।’
कन्दराले रेडियो नेपालबाट वानटेक रेकर्डिङ र सुटिङसमेत गरेको छ । नेपाली संगीतको क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको सुनाउँदै नेपाली संगीतमा लागेका व्यक्तिको कुनै समय रेडियो नेपालमा लाइभ गाउने चाहनालाई नै मध्यनजर गर्दै पुनः त्यहि गर्न लागेको स्पष्ट पारे । विवेक श्रेष्ठले अहिलेका पुस्ताका लागि यो नयापन हुने उनको विश्वास छ ।
७३ वर्षको इतिहास बोकेको रेडियो नेपालमा कन्दराले ५ वटा गीतहरूको ‘वान टेक रेकर्डिङ र सुटिङ’ सम्पन्न गरेको छ । गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको ‘विचरा म’ यसको ज्वलन्त उदाहरण हो । जुन गीत आगामी शुक्रबार सार्वजनिक हुनेछ । कन्दराले आगामी मंसिर १६ गतेको पोखरामा सांस्कृतिक कार्यक्रम गर्दैछ ।





