पोखरा/ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको विकिरणको मात्रा मापन गर्ने भएको छ ।
प्राधिकरणले रेडियो फ्रिक्वेन्सीबाट हुने ईएमआर अर्थात् इलेक्ट्रोम्याग्नेटिक रेडियसन (विद्युतीय विकिरण) मापन गर्ने तयारी गरेको हो । ‘मोबाइल टावरका रेडियो फ्रिक्वेन्सीबाट सिर्जना हुने विकिरणबाट जनसाधारण तथा पेशागत सुरक्षा सम्बन्धी विनियमावली’ अनुसार प्राधिकरणले विकिरणको मात्रा मापन गर्न लागेको प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताए ।
विनियमावली कार्यान्वयनको अवस्थामाथि अध्ययन तथा विश्लेषण गर्न यस्तो मापन गरिने उनको भनाई छ । कम्पनीका टावरहरूलाई मापदण्डभित्र राख्ने र नागरिकको स्वास्थ्यलाई असर पर्न नदिन विकिरण मापन गर्ने तयारी भएको बताए ।





