
जोमसोम / माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरी आज (सोमबार) देखि सञ्चालनमा आउन लागेको कोरला नाकामा दुवैतर्फ तयारी पूरा भएको छ ।
आज विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाका सञ्चालनका लागि उद्घाटन गर्ने कार्यक्रम छ । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गर्न लागेको हो । चिनियाँ पक्षले कोरला नाकामा निर्यातका लागि सामग्रीहरु ल्याएका छन् ।
चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले पाँचवटा कन्टेनर उपलब्ध गराएको छ ।
नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए । शनिबार पालिका अध्यक्ष गुरुङको नेतृत्वमा वडाध्यक्ष र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट (विओपी) नेचुङका इन्चार्ज भीम क्षेत्रीको सक्रियतामा चीनले उपलब्ध गराएको कन्टेनरबाट अस्थायी संरचना निर्माण गरिएको छ ।
लोमान्थाङका साथै लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधरणहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन् ।
कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुनेगरेको थियो ।
नाका संचालन हुनेभएपछि स्थानीयहरु उत्साहित भएको लोमान्थाङ गाउँपालिका वडा नम्बर २ भार्चाका वडाध्यक्ष कर्म नामगेल गुरुङले बताए । उनका अनुसार २७ गते औपचारिक कार्यक्रमको आयोजना गरेर नाका उद्घाटन गरिदैछ ।
उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९ सय ८० जनालाई ‘नेपाल चीन सीमाक्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
प्रजिअ पन्तका अनुसार ‘‘प्रवेश अनुमतिपत्रका आधारमा कोरला नाकादेखि ३० किलोमिटर चीनको भू–भाग सम्म पुगेर जुनसुकै समयमा व्यावसायिक कारोबार गर्न पाउँछन् ।’’ नाका सञ्चालनमा आउने भएपछि नेचुुङ भन्सार कार्यालयलाई नियमित सञ्चालन गर्न लागिएको छ ।
जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधा सम्पन्न भवन बनाएको छ । नाका सञ्चालनमा आएपछि माथिल्लो मुुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलोक्ट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ ।





